शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘हाइप्रोफाइल’ केसमा प्राविधिक पाटोका सबुत प्रमाण नै भेटिएनन्’

नेपाल प्रहरीका प्रवक्ता भन्छन्, ‘निर्मला पन्तको मुद्दामा भीड बढ्यो, राजनीति घुस्यो’
आइतबार, १५ वैशाख २०७६, १२ : २९
आइतबार, १५ वैशाख २०७६

२९ माघ २०४६ मा प्रहरी निरीक्षकबाट प्रहरी सङ्गठनमा प्रवेश गरेका आईजीपी सर्वेन्द्र खनाल पछिल्लो एक दशक कुनै न कुनै रूपमा चर्चामा रहिरहे । खनालले गरेका अधिकांश कामकारवाहीलाई लिएर धेरैले स्यावासी पनि दिए । तिनै तत्कालीन एसएसपी खनाल ०७२ असार २ गते महानगरीय प्रहरी अपराध महाशाखाको प्रमुख भए । महाशाखाको प्रमुख भएर आएसँगै खनालले फुटबलको म्याच फिक्सिङमा संलग्न खेलाडीहरुको गिरफ्तारी, गुण्डा नाइकेमाथिको इन्काउन्टर, काठमाडौँको बढ्दो ट्राफिक व्यवस्थापन, व्यवसायीमाथि धम्क्याउने गिरोहलाई कारबाहीलगायतका एक्सनमा राम्रो परफर्मेन्स देखाए । तर उनै खनाल प्रहरी सङ्गठनको प्रमुख भएर आएपछि यतिबेला विभिन्न प्रश्नहरु उठेका छन् । पछिल्लो समय ३३ किलो सुनकाण्ड, निर्मला हत्या–बलात्कार प्रकरण र पूर्वराजदूत केशव झा हत्याजस्ता हाइप्रोफाइल घटनामा प्रहरी चुकेको त होइन भन्ने प्रश्न उठेको छ । यिनै महत्त्वपूर्ण विषयमा केन्द्रित रहेर नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीलाई रातोपाटीका संवाददता सुजन पन्तले के प्रहरी सङ्गठन कमजोर भएको हो भनेर प्रश्न गरेका छन् । प्रस्तुत छ प्रवक्ता सुवेदीसँग गरिएको कुराकानीको सम्पादित अंश :

प्रहरी सङ्गठन कमजोर बन्दै गएको हो ?

मलाई त्यस्तो लाग्दैन । प्रहरी सङ्गठन कमजोर हुने आधार २ वटा हुन्छन् । जसमध्ये एउटा अपराधको तथ्याङ्क अर्को शान्ति सुरक्षाको अवस्था ।

अपराधको कुरा गर्दा केही वर्षअघिसम्म सङ्गठित गुण्डागर्दी थियो  । त्यसमा व्यवसायमाथि कब्जा, हप्तावारी, महिनावारी, ग्याङफाइट, धम्की, अपहरण, जबरजस्ती कागज गराउने काम हुँदै हत्यासम्म हुने गरेका थिए । त्यस्ता सङ्गठित किसिमका गुण्डागर्दी अहिले न्यूनीकरण भएका छन् ।  यस्तै, तराई र पूर्वी पहाडी क्षेत्रमा भूमिगत सशस्त्र समूहको नाममा ठूलो आतङ्क थियो । अस्ति भर्खर सञ्जय टक्ला पूर्वपक्षका लागि थुनामा थिए र अहिले जन्मकैदको सजाय फैसला भइसकेको छ । तत्कालीन भूमिगत सशस्त्र समूहका संयोजक भन्ने सैन्य कमान्डर कोही प्रहरीसँगको मुठभेडमा मारिए भने कोही थुनामा गए । बाँकीले आफ्नो पेसा परिवर्तन गरेका छन् । तथ्याङ्कले नै यस्तो बताइरहँदा प्रहरी सङ्गठन कमजोर भयो भन्ने कुरा स्वीकार्न सकिन्न ।

केही हाइप्रोफाइल केसमा त प्रहरीको सफलता देखिएन नि ?

म दुई नम्बर प्रदेश धनुषा र सर्लाहीमा जिल्ला इन्चार्ज भएर बसेँ । त्यसैले म त्यहाँको नै उदाहरण दिन चाहन्छु । धनुषा जिल्लामा यस्तो थियो कि त्यहाँ दिनमा १, २ वटा बम पड्किनु, मानवीय क्षति वा भौतिक क्षति हुनु सामान्य थियो ।

त्यस्तै दिनमा एक वा दुईवटा सुटिङ केस हुनु र मान्छे अपहरणमा पर्दा पनि समाचार बन्दैन थियो । त्यो अवस्था तराईको थियो । तर अहिले त्यस्तो छैन । 

भूमिगत सशस्त्र समूहको जुन दबदबा थियो अस्तिको सप्तरी काण्ड (सामूहिक बलत्कार) पनि त्यसैको अवशेष हो । त्योपछि अब लगभग निमिट्यान्न भएर गएको छ । ज्वाला सिंह र जयकृष्ण गोइत जस्ता गुण्डा अहिले व्यापार गरेर बसेका छन् । मैले चाहेको भए उनीहरूलाई जेल हाल्न सक्थेँ ।

तर सेटल भएर बसेकाहरूलाई छुनुहुँदैन भनेर मैले छोडिदिएको हो । गोइत आफू हिँड्न पनि सक्दैन । उसलाई हिँड्नका लागि अरूको साहराको आवश्यकता पर्छ । ऊ भूमिगत सशस्त्र समूहमा पनि छैन र सङ्गठित समूहमा पनि छैन ।

निर्मला पन्तको सुरुमा अनुसन्धान गर्ने टोलीले लापरबाही गरे । प्रमाण नष्ट भयो । प्रमाण नष्ट भएपछि अनुसन्धानको जग कमजोर भयो र समुदायसँग डिट्याच भयो पुलिस । तर केशव झाको घटनामा समुदायसँग कुनै पनि प्रकारको सूचना नै छैन । संसारको जुनकुनै ठाउँमा अनुसन्धान भनेको २ वटाको कुराको आधारमा गरिन्छ– एउटा टेक्निकल इन्भेस्टिगेसन र ह्युमन इन्टेलिजेन्सका आधारमा ।

शान्तिसुरक्षा भनेको तुलनात्मक शब्द हो । तुलना गर्नुपर्दा विगतसँग गर्नुपर्छ । यसैगरी हामीजस्तै अन्य देशसँग तुलना गरौँ । छिमेकी देश बङ्गलादेशको कुरा गर्दा त्यहाँ अस्ति भर्खरै आमनिर्वाचन भयो । त्यसलाई न विपक्षीले स्वीकार गर्यो न अन्तर्राष्ट्रिय जगतले मान्यता दिएको छ ।

राजनीतिक रूपमा मान्यता पाए पनि चुनाव पर्यवेक्षकहरूले चुनाव स्वतन्त्र नभएको जिकिर गरेका थिए । ठीक त्यसैगरी नेपालमा पनि करिब डेढ वर्षअघि चुनाव भइरहेको थियो । त्यो चुनावलाई अन्तर्राष्ट्रिय पर्यवेक्षकले पनि तुलनात्मक रूपमा नेपालको चुनाव राम्रो हुँदै गएको भनियो र प्रतिपक्षी दलहरू पनि सबैले सहर्ष स्वीकार गरे ।

पुलिस र चुनावबीचको सम्बन्ध कस्तो हुन्छ भने चुनावमा फ्रन्ट लाइनमा खटिने र चुनावलाई स्वतन्त्रपूर्वक भयो, भएन भन्ने कुराको सूचक (इन्डिकेटर) नै हो । त्यस्तै हामीले अपराध तथ्याङ्क बङ्गलादेशसँग तुलना गर्यौँ । जसको आर्थिक रूपले वृद्धिदर हामीभन्दा निकै माथि बनाएर अगाडि बढिरहेको छ ।

अर्को छिमेकी देश श्रीलङ्काको कुरा गरौँ अथवा छिमेकी राष्ट्र भारतको । मलेसियाको अपराध तथ्याङ्क हेर्ने हो भने माथि उल्लेख गरिएका देशको भन्दा हाम्रो अपराध तथ्याङ्क अहिले पनि कम छ ।

हामीजस्तै देशहरूको परिवेशमा भन्दा पहिले हाम्रो देशमा विगतको शान्ति सुरक्षा पनि हाम्रै देशको राम्रो भनिसकेपछि अहिलेको नेपालको अवस्था खराब भयो । पुलिस प्रशासन बदनाम भयो भन्ने कुरा सामाजिक सञ्जालमा प्रचार भएजस्तो त्यो कुरा होइन ।

अहिले अपराधको ट्रेन्ड के छ ?

अपराधको ट्रेन्डमा हेर्नुहुन्छ भने अहिले सबैभन्दा ठूलो अपराध भनेको हत्या हो । मान्छेको हत्या भन्दा ठूलो अपराध केही हुँदैन । यस्तो अपराधमा ४० प्रतिशत अपराध हत्यामा आफन्तले आफन्तलाई मारेको अपराध धेरै छन् ।

छोराले बाउलाई, बाउले छोरालाई, श्रीमानले श्रीमतीलाई, श्रीमतीले श्रीमानलाई, दाजुले भाइ आदि । ८० प्रतिशत अपराध चिनजानका मान्छेबाट भएको छ भने बलात्कारको घटनामा जम्मा पीडितमध्ये ६४ प्रतिशत १८ वर्षमुनिका बालिका छन् ।

तिनीहरू घरपरिवार, सहपाठी, शिक्षक र आफन्तबाट बलात्कारको सिकार भएका छन् । विगतमा जस्तो आपराधिक सङ्गठनले अपहरण गरेर बलात्कार गरेको घटना न्यून छन् । 

यति हुँदाहुँदै पनि अहिलेको चर्चाको विषय निर्मला पन्त बलात्कार घटना, पूर्वराजदूत केशव झा हत्या प्रकरण, ३३ किलो सुन काण्ड हुने गरेका छन् ।

निर्माला पन्तको जस्तो केस नेपालमा त्यसपछि पनि नघटेका हैनन् । त्योभन्दा अगाडि पनि नघटेका हैनन् । ती सबै सफल अनुसन्धान भएका छन् तर गर्न खोज्दा खोज्दै केही अपवाद हुन्छन् । त्यो किन भएन त्यसको छुट्टै कथा छ ।

केशव झाको अनुसन्धान र निर्मला घटनाको अनुसन्धान फरक छ । निर्मला पन्तको सुरुमा अनुसन्धान गर्ने टोलीले लापरबाही गरे । प्रमाण नष्ट भयो । प्रमाण नष्ट भएपछि अनुसन्धानको जग कमजोर भयो र समुदायसँग डिट्याच भयो पुलिस ।

तर केशव झाको घटनामा समुदायसँग कुनै पनि प्रकारको सूचना नै छैन ।

संसारको जुनकुनै ठाउँमा अनुसन्धान भनेको २ वटाको कुराको आधारमा गरिन्छ– एउटा टेक्निकल इन्भेस्टिगेसन र ह्युमन इन्टेलिजेन्सका आधारमा ।

निर्मला पन्तको घटनामा टेक्निकल इन्भेस्टिगेसनको पाटोमा सुरुमा घटनास्थलको जाँच राम्ररी नभएकाले अनुसन्धान कमजोर भयो । अर्को ह्युमन इन्टेलिजेन्सको पाटोमा जुन समुदायबाट सूचना लिएर अनुसन्धान गर्नुपर्ने हो उक्त समुदायसँग प्रहरीको दूरी बढ्यो । दूरी बढेको कारणले ढिलाइ भयो ।

अपराध समाजमा नै हुन्छ र अपराधी पनि समाजमा नै हुन्छन् । अपराध र अपराधीको सूचना पनि समाजसँग नै हुन्छ । कञ्चनपुरको घटनामा सूचनाको भण्डारसँग प्रहरीको दूरी बढ्यो । यसमा विभिन्न फ्याक्टरले काम गर्यो ।

विभिन्न सङ्घसंस्थाले आफ्नो स्वार्थका लागि पन्तको घटनालाई प्रयोग गरे । सञ्चार माध्यमले पनि नचाहिने तरिकाले उचाल्यो । निर्मलाकै बाबुलाई १० वर्षसम्म त्यागेको परिवारप्रति एक्कासि माया जागेर आयो ।

भीड बढ्यो । राजनीति घुस्यो । त्यहाँ भीड नियन्त्रण गर्नुपर्ने भयो । भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गर्दा मान्छे मर्ने सम्भावना पनि भयो । त्यसैले समुदायसँग सम्बन्ध बिग्रियो ।

निर्मला पन्तको घटना हुनु दुःखद् हो । यस्तो घटना हुनुहुँदैन थियो । अहिले पनि नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ । यति भन्दै गर्दा यस्ता घटनालाई विभिन्न किसिमले आफ्नो इच्छामा आफूखुसी प्रयोग गरी जुन प्रवृत्ति यहाँ देखा पर्यो त्यसले गर्दा पनि अनुसन्धानलाई पक्कै प्रभावित पारेको अवस्था छ ।

पूर्वराजदूत घरमै मृत अवस्थामा भेटिए, यो केसमा प्रहरी चुकेको हो ?

केशव झाको केसमा उनको खबर छिमेकीलाई नै थाहा थिएन । उनी अलोप भएर बसेकाले उनको कोसँग दुस्मनी थियो ? उनी कोसँग भेटघाट गर्थे ? के गर्थे ? कतिबेला घर आउँथे ? कसैलाई केही नै थाहा छैन । परिवार पनि बाहिर बस्ने भएकाले उनका बारेमा थाहा भएन । त्यसैले अनुसन्धानको लागि कुनै पनि स्रोत नै भेटिएन ।

टेक्निकल पाटोमा सबुत प्रमाणहरू नै भेटिएन । ह्युमन इन्टेलिजेन्स र कम्युनिटी बेस इन्टेलिजेन्समा ग्याप छ । लास फेला परेपछि त्यसको सनाखत भएन भने त्यसको अनुसन्धान हुने चान्स ५ प्रतिशत मात्रै हुन्छ ।

विभिन्न सङ्घसंस्थाले आफ्नो स्वार्थका लागि पन्तको घटनालाई प्रयोग गरे । सञ्चार माध्यमले पनि नचाहिने तरिकाले उचाल्यो । निर्मलाकै बाबुलाई १० वर्षसम्म त्यागेको परिवारप्रति एक्कासि माया जागेर आयो । भीड बढ्यो । राजनीति घुस्यो । त्यहाँ भीड नियन्त्रण गर्नुपर्ने भयो । भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गर्दा मान्छे मर्ने सम्भावना पनि भयो । त्यसैले समुदायसँग सम्बन्ध बिग्रियो ।

लास सनाखत हुनु भनेको घटनाको ५० प्रतिशत अनुसन्धान पूरा हुनु हो । सनाखत भइसकेपछि त्यसको अनुसन्धान हुनु भनेको जादुको छडी होइन ।

जस्तो कि एउटा मान्छे मारियो त्यो मार्नुको त एउटा कारण हुन्छ । कारण के–के हुनसक्छन् भने एउटा आर्थिक कारण, बदलाको भावना, अवैध सम्बन्ध, अंश विवाद, वा केज्री म्यान । त्योबाहेक संसारमा अन्य कुनै कारण हुँदैन ।

प्रहरीले गर्ने के हो भने हरेक घटनासँग सम्बन्धित व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याइन्छ । यसैगरी सम्बन्धित मानिस खोज्नका लागि केशव झासँग कुनै पनि लिङ्क भेटिएन ।

यति भन्दै गर्दा नेपाल पुलिसका विभिन्न इतिहासहरू छन् । चाहे फादर ग्याफ्लेको घटनाको कुरा होस्, चाहे रानीबारी हत्याकान्ड । चाहे न्यायाधीश बमको जस्ता घटनाहरूलाई समय लगाएर पनि नेपाल पुलिसले त्यसलाई सफल अवतरण गरेको छ ।

३३ किलो सुन प्रकरण कहाँ पुग्यो ?

३३ किलो सुन प्रकरणको मुद्दा अदालतमा विचाराधीन भएकाले नेपाल प्रहरीले केही बोल्न मिल्दैन । यता भारतमा भेटिएको ३३ किलो सुन आधिकारिक रूपमा प्रहरीलाई प्रमाणित भएको छैन । कसैले समान चोरे पनि प्रमाण नभेटेसम्म दोषी भन्न मिल्दैन ।

हालसम्म पक्राउ परेकाहरू धरौटीमा छुटे पनि फेरि उनीहरू पक्राउ पर्न सक्छन् । अदालतमा मुद्दा परिसकेपछि प्रहरीले त्यति चासो गर्ने ठाउँ रहँदैन ।

अरू देशमा पनि करेक्सन पुलिसको नाममा अथवा जुडिसियल पुलिसको नाममा अथवा जेल गार्डको नाममा त्यो जेलको छुट्टै प्रहरी खडा गरिएको हुन्छ ।

यहाँ अहिलेसम्म सरकारले जेलको सुरक्षाको जिम्मा पनि नेपाल पुलिसलाई नै दिएको छ । त्यसैले यसो हेर्दा नेपाल प्रहरीको चासोको विषयजस्तो देखिन्छ । तर यसमा नेपाल प्रहरीको जिम्मा सुरक्षा मात्रै हो । प्रशासनको इन्चार्ज प्रहरी होइन ।

गोरे मात्र नभई महालेखाको ठूलो माछा समातिने सम्भावना टरेको हो ?

भाषण र अनुसन्धान फरक कुरा हो । तथ्यले प्रमाणित नगर्दासम्म माछा ठूलो, साना, झिना मसिना भन्ने केही हुँदैन । जहाँसम्म तथ्यले भेट्यो त्यो नै सबैभन्दा ठूलो माछा हो ।

यो पर्टिकुलर केसमा मेरो भर्सन सुन्नुहुन्छ भने यो केसको मेन फोकल पर्सन भनेको गोरे नै हो । लगानीकर्ता विभिन्न मान्छे हुनसक्छन् । लगानी विभिन्न बहानामा हुन्छ । कतिलाई त के हुन्छ भने सुन तस्करीमा लगानी छ भन्ने नै थाहा हुँदैन ।

जस्तो; कसैसँग प्रशस्तै पैसा छ र उसले कसैले ब्याज दिन्छ भनेर लगानी गरेको रकम कुनै तस्करीमा प्रयोग भइरहेको छ भन्ने उसलाई थाहा नहुन सक्छ । तस्करीले बदमासी गरे पनि लगानीकर्ता तस्कर नहुन सक्छ ।

३३ किलो सुनकाण्डमा कति छुटे कति फरार छन् ?

सुनकाण्डमा हालसम्म ७९ जनाको संलग्नता रहेको पाइएको छ । जसमा हालसम्म ४३ जना पक्राउ परे । ४ जना अदालतमा उपस्थित भएका छन् । अझै पनि ३० जना फरार छन् ।

२० जनालाई उच्च अदालत पाटनले धरौटीमा छाडेको छ । २१ जना हालसम्म पनि झुम्का कारागारमा जेलजीवन बिताइरहेका छन् । २ जना मोरङ कारागारमा छन् भने २ जना सम्पत्ति शुद्धीकरण विभागमा छन् ।

प्रहरी सङ्गठनमा राजनीतिक हस्तक्षेप हुन्छ भन्ने आरोप छ नि ?

राजनीतिज्ञले नै राज्यसत्ता चलाउने हो । जननिर्वाचित जनप्रतिनिधिले नै सरकार बनाउने हो ।  देशमा कानुन बनाउने तथा शान्ति सुरक्षा कायम गर्ने काम राज्यको हुन्छ ।

सरकारले गर्ने काममा सरकार पूरै अलोप हुने जुनसुकै देशमा पनि असम्भव छ । सरकारले आफ्नो निर्णय गरिहाल्छ । कुनै मुद्दा वा केसमा मान्छे थुन्ने, छेक्ने, हस्तक्षेप विगतमा भन्दा एकदमै कम भएको छ ।

व्यक्तिगत रूपमा भन्दा यो पाटोमा कुनै प्रकारको राजनीतिक हस्तक्षेप छैन । अब कसैले भनेको मानेर गलत काम गर्छ भने त्यो सम्बन्धित अफिसको कमजोरी हो । प्रहरीका काम कारबाही  राजनीतिक हस्तक्षेपले कोही दोषी उम्कने र निर्दोष मान्छे फस्ने सम्भावना छैन । छिटपुट कोही छन् भने तिनीहरूलाई कारबाही भइरहेको छ ।

भर्ना सरुवा बढुवामा चाहिँ हुन्छ भन्छन् नि ?

भर्ना सरुवा बढुवामा राजनीतिक हस्तक्षेप जिरो छ । कुनै पनि अफिसरले चाहेर एउटा प्रहरी जवान पनि भर्ना गर्न पाउँदैन ।

सातवटै प्रदेशमा सङ्घको प्रतिनिधित्व हुने गरेर सङ्घीय प्रहरी इकाई कार्यालय सातैवटा प्रदेशमा स्थापना गरिसकेका छौँ । यसैगरी हाम्रा सातैवटै प्रदेशमा अन्य निकायहरू; जस्तो डेस्क सेक्सन, विधि विज्ञान प्रयोगशाला, सङ्गीत विद्यालय, स्कुल, कर्मचारीका लागि विद्यालय स्थापना गर्ने काम हामीले सातैवटा प्रदेशमा खोलिसकेको अवस्था छ ।

एसएसपीभन्दा माथिको सरुवा बढुवा त नेपाल सरकारले नै गर्ने हो । प्रहरी ऐन नै करेक्सनको आवश्यकता छ । कुनै पनि एसएसपीभन्दा माथिको बढुवाका लागि एक नम्बरमा भएको अफिसर दोस्रो नम्बरमा पनि जान सक्छ । त्यो कामको आधारमा मूल्याङ्कन हुने कुरा हो ।

त्योभन्दा तलको सरुवा बढुवामा एसपीसम्म आईजीको हात हुन्छ । 

सङ्घीयताले प्रहरी सङ्गठनलाई के–के असर पारेको छ ?

अहिलेसम्म निजामती सेवाको समायोजनको पाटोमा समस्या देखिएको छ । उहाँहरूलाई स्थानीय तहमा खटाउन पनि समस्या देखिएको छ । हामी समायोजनमा गइसकेका छैनौँ तर अहिले जुन सङ्घीयताको संरचना छ त्यसमा आफूलाई ढालेका छौँ ।

जस्तो, हामीले सातवटै प्रदेशमा प्रदेश कार्यालयहरू खोलेका छौँ । हामीले सबै स्थानीय तहमा हाम्रो प्रहरी इकाई पुर्याइसक्यौँ । हाम्रो जनशक्ति कम छ र आवश्यक जनशक्तिको आवेदन गरेर सबै ठाउँमा आवश्यक मात्रामा जनशक्ति पुर्याउँछौँ ।

सातवटै प्रदेशमा सङ्घको प्रतिनिधित्व हुने गरेर सङ्घीय प्रहरी इकाई कार्यालय सातैवटा प्रदेशमा स्थापना गरिसकेका छौँ । यसैगरी हाम्रा सातैवटै प्रदेशमा अन्य निकायहरू; जस्तो डेस्क सेक्सन, विधि विज्ञान प्रयोगशाला, सङ्गीत विद्यालय, स्कुल, कर्मचारीका लागि विद्यालय स्थापना गर्ने काम हामीले सातैवटा प्रदेशमा खोलिसकेको अवस्था छ ।

अहिले हामीले पुरानै प्रहरी परिचालन नियमावली अनुसार नै चलाइरहेका छौँ । नयाँ ऐन नआएको अवस्था छ । त्यसैले अहिले हामीलाई कुनै पनि समस्या छैन । हामी समायोजनमा जाँदा पनि हामीलाई कुनै समस्या छैन । त्यसपछि आउने प्रहरी ऐनका लागि नेपाल प्रहरीले दिने फिडब्याक सबै सरकारलाई दिएको छ ।

राय, सुझाव सङ्कलन गर्ने काम, कानुनको, अर्थको संसदमा छलफल हुन्छ । अनि प्रहरी ऐन आइसकेपछि हामी संवैधानिक व्यवस्थाअनुसार कार्यान्वयनमा जान हामीलाई कुनै समस्या आउँछ जस्तो लाग्दैन । केही प्रदेशमा स्थानीय प्रहरीमा दरबन्दी कम र प्रहरीको सङ्ख्या बढी छ । प्रदेश ७ मा बढी र ६ मा प्रहरीको सङ्ख्या कम छ ।

प्रहरी सङ्गठनलाई अझै चुस्त दुरुस्त बनाउन के गर्नुपर्ने आवश्यकता छ ?

उच्च मनोबलयुक्त र स्रोतसाधन सम्पन्न प्रहरी बनाउन आवश्यक छ । प्रहरीको मनोबल उच्च बनाउन प्रहरीलाई आवश्यक बस्ने आवास, खाना (मेस), उसले लगाउने लुगा, उसले प्रयोग गर्ने हतियार, उसले प्रयोग गर्ने सवारी साधन, आईटीका सामान चुस्तदुरुस्त हुन आवश्यक छ ।

भौतिक संरचना र सवारी साधन जस्ता कुरामा कुरा गरौँ । एक चौकी, एक मोटरसाइकल । भूकम्पमा ध्वस्त भएका प्रहरी त्यही भवन निर्माण गर्दै बस्नुपर्ने अवस्था छ ।

त्यसैगरी २१औँ शताब्दीमा देखापरेका साइबर क्राइममा नयाँ टेक्नोलोजीको प्रयोग हुन थालेपछि हामीले त्योसँग जुध्नका लागि टेक्निकल इन्भेस्टिगेसन र टेक्निकल इक्विपमेन्टलाई पनि बढाउनुपर्ने भएकाले संस्थागत रूपमा साइबर ब्युरो, ह्युमन ट्राफिकिङ ब्युरो यसै वर्षमा स्थापना गरेका छौँ ।

यी ब्युरोमा थप इक्विप बनाउने । साइबर क्राइमका लागि चाहिने डिजिटल फर्निसिङ ल्याबको स्थापना गरिसकेका छौँ । तर यसलाई चाहिने हार्डवेयर सफ्टवेयर र आवश्यक जनशक्तिको व्यवस्था गर्दैछौँ ।

यसैगरी ह्युमन ट्राफिकिङ ब्युरोलाई थप प्रभावकारी बनाउन यसको कार्यालय व्यवस्थापनदेखि लिएर त्यसलाई आवश्यक जनशक्ति र तालिम गरिरहेका छौँ । यसरी प्रविधिले पनि साइबर क्राइम र अपराधमा टेक्नोलोजीको प्रयोग गर्दै आएका छौँ ।

अहिले अपराधको टे«न्ड पेसेवर अपराधीले घटाउने अपराधभन्दा सामाजिक विकृतिले सिर्जित अपराधहरू बढ्यो । सामाजिक सञ्जालबाट सुरु भएको माया अपरिचित मान्छेसँग सम्बन्ध गास्न पुगेर बनेको सम्बन्ध अन्त्यमा हत्या र आत्महत्यामा पुगेर समाप्त हुने गरेको छ ।

श्रीमान–श्रीमतीको सम्बन्ध सम्बन्धविच्छेद, हत्या र आत्महत्यामा पुगको अवस्था छ । यसैगरी मादक पदार्थको दुरूपयोगले परिवारभित्रकै सदस्यले परिवारकै सदस्य मार्ने, बलात्कार जस्ता घटनाहरूलाई न्यूनीकरण गर्नका लागि कानुन कार्यान्वयनले मात्र पुगेन ।

त्यसेले सामाजिक विकृति न्यूनीकरण गर्नका लागि प्रहरी–साझेदारी कार्यक्रम ल्याएका छौँ । यो कार्यक्रमले पाँच महिनामा निकै प्रभावकारी काम गरिरहेको छ । यसले समाजसँग राम्रो सम्बन्ध बनाउएको छ ।

प्रहरी अधिकारी ठूलो–ठूलो केसमा मुछिएर सङ्गठनको बद्नाम भएको अवस्था छ नि ?

अख्तियारको कारबाहीमा प्रहरी एकदमै कम छ । निजामती कर्मचराीलाई घुस खायो भनेर कहिल्यै कारबाही गरेको छैन । तर नेपाल प्रहरी यस्तो संस्था हो, जसले सङ्गठनलाई ट्रान्सपरेन्ट बनाउनका लागि कतिलाई आफैले कारबाही गरेको छ । 

यसले सङ्गठनभित्र नराम्रो काम गर्नेलाई आफै कारबाही गरेको छ । विभिन्न तालिम, ब्रिफिङ, ओरेन्टेसन र सुपेरिवेक्षण गर्दागर्दै पनि कसैले गल्ती गरेका तिनीहरूलाई कारबाही गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप