बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'द्वन्द्वको घाउ ‘क्यान्सर’ बने नेताहरुकै हत्या हुन सक्छ'

'हेगमा उभ्याइएपछि हिरो बन्ने कुरै रहँदैन, प्रचण्डले ‘नेल्सन मन्डेला’ बन्ने आँट गर्नुपर्छ'
बुधबार, २२ साउन २०७६, १५ : २०
बुधबार, २२ साउन २०७६

सामान्यतः युद्धविराम भएर हतियार बिसाइएपछि तथा विद्रोही शक्ति मूलधारको राजनीतिमा आएपछि द्वन्द्व व्यवस्थापन भयो भन्ने सोचाइ छ । त्यही सोचाइमै गल्ती छ । द्वन्द्व व्यवस्थापन कहिल्यै पनि हुँदैन, द्वन्द्व रूपान्तरण मात्रै हुन्छ । अर्थात् द्वन्द्वले रूप फेर्छ, त्यो कहिल्यै समाप्त हुँदैन । समाजमा द्वन्द्व रहिरहन्छ ।

*****

द्वन्द्व व्यवस्थापन कहिल्यै पनि हुँदैन, द्वन्द्व रूपान्तरण मात्रै हुन्छ ।

*****

द्वन्द्व रूपान्तरण हुन पाँच आयामहरु एकसाथ जोडिन्छन्, जसलाई पूरा गरेपछि उनीहरुको भाषामा द्वन्द्व व्यवस्थापन हुन्छ ।

पहिलो आयाम हो, हतियार बिसाउने । यो साधारण र सुरुवातको कुरा भयो । नेपालमा यो भइसकेको छ ।

दोस्रो आयाम हो राजनीतिक रूपान्तरण । यसको अर्थ पहिलेको व्यवस्था रूपान्तरण भएर नयाँ व्यवस्था आउनु पर्यो । नेपालमा त्यो भयो । संविधानसभाको निर्वाचन भयो । भलै पहिलो संविधानसभा खेर गयो । दोस्रो संविधानसभाले नयाँ संविधान बनायो । त्यहाँसम्म कुरा ठीकै छ । गणतन्त्र आयो, संविधान बन्यो, समावेशिता आयो, मौलिक अधिकारलगायत अरू थुप्रै अधिकारहरु हासिल भए । 

तेस्रो आयाम भनेको आर्थिक सामाजिक रूपान्तरण हो । यो पक्ष शान्ति प्रक्रियाको अभिन्न अङ्ग थियो । विडम्बनाको कुरा, यो नेपालमा हुँदै भएन भन्दा पनि हुन्छ । अहिले पनि पहिलेको अर्थतन्त्र जे छ, अर्थात् दलाल पुजीँवादी अर्थतन्त्र जस्ताको त्यस्तै छ । गर्नुपर्ने त्यो स्थितिमा रुपान्तरण हो, तर उल्टै परिवर्तनका नेतृत्व गरेका नेताहरु चाहिँ त्यो अनुकूल परिवर्तित भए । त्यही कारण अर्को स्वरूपमा द्वन्द्व हुने सम्भावना टड्कारो छ ।

*****

अहिले पनि पहिलेको अर्थतन्त्र जे छ, अर्थात् दलाल पुँजीवादी अर्थतन्त्र जस्ताको त्यस्तै छ । गर्नुपर्ने त्यो स्थितिमा रुपान्तरण हो, तर उल्टै परिवर्तनका नेतृत्व गरेका नेताहरु चाहिँ त्यो अनुकूल परिवर्तित भए ।

*****

चौथो आयाम हो,  सेक्युरिटी सेक्टर रिफर्म अर्थात् सुरक्षा क्षेत्रको रूपान्तरण । यसको अर्थ व्यवस्थामा परिवर्तन आइसकेपछि त्यसअनुकूल सेना प्रहरीमा रुपान्तरण हुनुपथ्र्यो तर त्यो हुँदै भएको छैन ।

र, पाँचौँ आयाम हो :  सङ्क्रमणकालीन न्यायलाई टुंगोमा पुर्याइनु । यसअनुसार गरिनुपर्ने मुख्य काम भनेको जघन्य अपराध गरेकालाई सजाय बाँकीलाई माफी दिनु नै हो । तर यहाँ न त एम्नेस्टी (आम माफी) नै भयो, न त जघन्य अपराध गरेकालाई सजाय ।


द्वन्द्वअपराधीलाई गिरफ्तारी गर्न अन्तर्राष्ट्रिय अदालत घर घरमै आउने चेतावनी

द्वन्द्वकालीन मुद्दाको ‘राजनीति’ : अड्काउने को ?

द्वन्द्वकालीन मुद्दा : बज्दैछ खतराको घण्टी


यसरी द्वन्द्व रुपान्तरणका लागि अनिवार्यतः सम्बोधन गरिनुपर्ने मुख्य पाँच आयामहरुमध्ये दुई पक्षहरुमा मात्रै नेपालमा काम भयो । ती दुई पक्षहरु हुन्ः हतियार बिसाउने काम र राजनीतिक रूपान्तरण । बाँकी सम्बोधन गर्नैपर्ने तीनवटा प्रधान आयामहरु त ज्यूँका त्यू बाँकी नै छन् ।  सम्बोधन नगरिएका वा सम्बोधन हुन नसकेका यी तीनमध्ये हरेक आयामले जतिबेला पनि द्वन्द्व सिर्जना गर्न सक्छ । उदाहरणका लागि, परिवर्तनका मर्मलाई बोकेर आर्थिक सामाजिक रूपान्तरण भएन भने पनि गरिबहरु बढ्छ, बेरोजगारको सङ्ख्या बढ्छ । त्यसले नै पनि द्वन्द्व सिर्जना गरिहाल्छ ।

त्यसै गरी, सुरक्षा क्षेत्रको रुपान्तरण भएन भने पनि द्वन्द्व बल्झिने सम्भावना रहन्छ । सुरक्षा क्षेत्र, विशेष गरी सेना र प्रहरीको मानसिकता पुरानै हुँदा नयाँ राज्य व्यवस्थालाई पचाउन सक्दैन र उसले नयाँ राज्य व्यवस्थालाई टेर्दैन । फलतः पुरानो मानसिकतामा बाँचेका सुरक्षा क्षेत्र र नयाँ राज्य व्यवस्थाका बीचमा द्वन्द्व हुन्छ । त्यसको सुरुवात रुक्माङ्गत कटुवालदेखि नै भइसकेको छ ।

*****

सुरक्षा क्षेत्र, विशेष गरी सेना र प्रहरीको मानसिकता पुरानै हुँदा नयाँ राज्य व्यवस्थालाई पचाउन सक्दैन र उसले नयाँ राज्य व्यवस्थालाई टेर्दैन । फलतः पुरानो मानसिकतामा बाँचेका सुरक्षा क्षेत्र र नयाँ राज्य व्यवस्थाका बीचमा द्वन्द्व हुन्छ ।

*****

त्यसैगरी, सङ्क्रमणकालीन न्याय पूरा भएन भने पनि द्वन्द्वको सम्भावना हुन्छ ।

बुझाइ र नियत नै गलत

नेपालमा सङ्क्रमणकालीन न्यायअन्तर्गत चारवटा मुख्य कुरा आउँछन् । पहिलो, द्वन्द्वकालमा जसले हातहतियार उठाएका थिए, मान्छे मारेका थिए, अपहरण गरेका थिए अथवा कसैको कोही मरेको थियो, परिवारका विजोक भएको थियो । त्यो आलो घाउ बाँकी छ । आलो घाउमा मलम लगाउने कुरा एउटा हो । त्यस दौरानमा कतिपय अवस्थामा मान्छे नै मार्नुपर्ने जस्तो ठूला अपराध हुनुपर्ने कारण थिएन । तर मान्छे मारियो । त्यसमा दण्ड दिएर नयायको अनुभूत गराइनु संक्रमणकालीन न्यायको परिधिभित्र पर्दछ ।

*****

युद्धमा भिडन्त भएर मरेका, मारिएका घटनामा संलग्न दुवै पक्षलाई आममाफी दिने कुरा हो । विगतमा नेपालमा आममाफी दिइएका दृष्टान्तहरु थुप्रै छन् ।

*****

अर्को, युद्धमा भिडन्त भएर मरेका, मारिएका घटनामा संलग्न दुवै पक्षलाई आममाफी दिने कुरा हो । विगतमा नेपालमा आममाफी दिइएका दृष्टान्तहरु थुप्रै छन् । जस्तै, ओखलढुङ्गा काण्ड, जनमत सङ्ग्रहमै सबैलाई माफी दिइयो । राजा वीरेन्द्रले नै माफी दिए । झापा काण्डमा सबैलाई माफी दिइएको हो । ००७ सालमा मुक्ति सेनाको नाममा हतियार उठाउनेलाई पनि माफी दिइएको हो । उसलाई प्रहरीमा गाभिदिएको हो ।

यसपालि चाहिँ हतियार बिसाउने अन्तर्गत सेना समायोजन भयो । त्यो पनि अलिकति बेठीक ढङ्गले भयो । हतियार बिसायो, हतियार बिसाएकाहरुलाई के कसरी व्यवस्थापन गर्ने र समाजमा पुनस्र्थापना गर्ने भन्ने सन्दर्भमा ठीक ढङ्गले निर्णय भएन । हतियार बिसाउने कुरा मात्रै भयो । अपमानित भएर जो फर्केका छन्, ती न त समाजमा अटाउन सकेका छन्, न आफूलाई न्याय भएको ठानेका छन् । त्यसले पनि नयाँ द्वन्द्व सिर्जना गर्ने सम्भावना ज्यूँदै राखिराख्छ ।

नेपाली समाजमा द्वन्द्व सिर्जना गर्ने मुख्य आयामहरु यिनै हुन् ।

*****

द्वन्द्वका मूलपक्षहरुका रुपमा रहेका तत्कालीन सशस्त्र संघर्षका नेतृत्वकर्ता माओवादी र  त्यतिबेलाको सत्तारुढ दलहरुले  द्वन्द्व रूपान्तरण र व्यवस्थापनलाई ज्यादै कच्चा ढङ्गले बुझे ।

*****

नेपालमा द्वन्द्वका आयामहरु यथावत राखिनुका मूलतः दुईटा कारण छन्, यद्यपि यिनका सहायक कारणहरु पनि छन् । द्वन्द्वका मूलपक्षहरुका रुपमा रहेका तत्कालीन सशस्त्र संघर्षका नेतृत्वकर्ता माओवादी र  त्यतिबेलाको सत्तारुढ दलहरुले  द्वन्द्व रूपान्तरण र व्यवस्थापनलाई ज्यादै कच्चा ढङ्गले बुझे । त्यो बुझाइ नै त्रुटिपूर्ण भयो । उनीहरुमा त्यसलाई सांगोपांगो पूरा गर्नुपर्छ भन्ने अनुभूति नै भएन । 

त्यसको दोस्रो कारण भनेको सत्तामा गइसकेपछि उनीहरुले नियतवश पनि यसलाई पूरा गर्न चाहेनन् । शान्ति प्रक्रियालाई पूर्ण रूपमा पूरा गर्नुपर्छ भन्ने कुरालाई गम्भीरतापूर्वक लिइने, भन्ने नै हो भने जिम्मेवारहरुमा त्यो गरिनुपर्छ भन्ने सोचाइ नै आएन । सत्तामा गएपछि शान्ति सम्झौतामा भूमिसुधार गर्ने कुरा लेखेको थियो । सेक्युरिटी सेक्टर रिफर्म गर्ने कुरासमेत लेखेको थियो । आफैले लेखेको कुरा भुल्नु भनेको के त ? हतियार बिसाइयो, सत्तामा गइयो, यतिभएपछि सबै सिद्धियो भन्ने ठान्नु आफ्नै प्रतिबद्धताबाट विचलन हुनु हो । त्यसकारण एउटा बुझाइमा समस्या, अर्को नियतमै खोटको समस्या  पनि रह्यो ।

सिंहदरबार बदल्न गएकाहरु आफैं बदलिए   

विचलन आउनुको जड कारण भनेकै सिंहदरबार बदल्न गएकाहरु, सिंहदरबार नबदली आफै बदलिए । आफू सत्तामा पुगेपछि सबै थोक पूरा भयो अर्थात् मलाई पुगेपछि सबैलाई पुग्यो भनेजस्तो भयो । सत्तामा पुगेपछि घर फर्केको सिपाहीलाई किन याद गर्नुपर्यो ? समाजको त्यो आलो घाउलाई किन याद गर्नुपर्यो ? आर्थिक सामाजिक रूपान्तरण मैले किन गर्नुपर्यो भन्ने कुरा विचलन हैन र ? त्यसैले यो विचलन नै पनि शान्ति प्रक्रिया टुंगोमा पुग्न नसक्नुको आफैंमा जड कारण हो ।

नेपालमा भन्दा ज्यादै कमजोर शक्ति हो अफ्रिकन नेसनल कङ्ग्रेसको । नेकपा माओवादी जस्तो दुईतिहाइ भागमा उसको कब्जा पनि थिएन । उसको सेना यहाँको जस्तो ठूलो थिएन । उसले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा त्यस्तो तहल्का पिट्न सकेको पनि थिएन । तर ठीक कोर्स पक्रेको हुनाले शान्ति प्रक्रियाको काम सम्पन्न गरिछाड्यो ।

त्योभन्दा राम्रो त नेपालमा हुन सक्थ्यो । मात्र लिग नछोडे पुग्थ्यो । सानो सानो स्वार्थमा बगेको कारण लिग छोड्यो । कोही सम्पन्न भए होलान्, कोही धनी भए होलान् । त्यो हुने बित्तिकै बाँकी सबै छोड्दिनु भनेको आर्थिक सामाजिक रुपान्तरणको एजेन्डा नै छोडिदिनु होइन र ?

नेपालका राजनीतिक दलहरुले चाहने हो भने धेरै कुरा गर्न सम्भव थियो । कहाँसम्म भने अन्तरिम संविधानमै भूमिसुधार लेखेको थियो । शान्ति सम्झौतामा पनि यो लेखिएको छ । भूमिसुधार त सर्वसम्मत एजेन्डा नै हो । आफ्नो हातमा त्यतिखेर सरकार आएको छ । प्रचण्डको हातमा सरकार आएको होइन ? अहिलेको स्थितिमा पनि मुख्य दलहरुमध्ये काँग्रेस बाहिर, बाँकी सबै सरकारमा छन् । काँग्रेसले पनि भूमिसुधारमा सही गरेको छ । त्यतिखेर भूमिसुधार ड्याङ कि ड्याङ् सुरु गरेको भए कसले के गर्न सक्थ्यो ? तर गरेनन् । किन गरेनन् भने उनीहरु आफ्नै प्रतिबद्धतामा अड्न सकेनन् । परिवर्तन गर्नुपर्नेहरु आफैं परिवर्तित भएपछि यी यावत कुराहरु अलपत्र परे । त्यसमा वैचारिक साँस्कृतिक विचलनले भूमिका खेल्यो । आफूले पक्रेको सिद्धान्त, राजनीतिलाइ उनीहरुले गम्भीर रुपमा लिएनन् । आफ्नो एजेण्डा, ध्येय र उद्देश्यमा गम्भीर नै भएन ।

शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन जति ढिलो गरिन्छ, उति यो असम्भव बन्दै जान्छ । प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा गर्न खोजेको भए यो प्रक्रिया सजिलै पूरा गर्न सम्भव थियो । किनभने उनीसँग जनमत थियो । सरकारमा ८० प्रतिशत शक्तिको समर्थन पनि थियो । विद्रोहबाट आएको माओवादीको डर हरेकलाई थियो । यसले केही परिवर्तन गरिहाल्छन् कि भन्ने आशा पनि थियो । गरेको भए जनताको व्यापक समर्थन पनि थियो । त्यो अवसर त गुमाए नि । त्यतिबेला नै दण्ड गर्नुपर्र्नेलाई दण्ड गर्ने, सेनालाई पनि डाकेर जघन्य अपराधलाई यसरी गरौँ भनेर टुङ्ग्याएको भए हुन्थ्यो । चार भागमा तीन भाग जघन्य अपराध सेनाको छ, एक भाग मात्रै माओवादीको छ ।

यहाँ कस्तो भयो भने सेनाले पनि यो बारे नबोले हुन्थ्यो भन्ने, माओवादीलाई पनि यसलाई नछोए हुन्थ्यो भन्ने स्थिति रह्यो । सङ्क्रमणकालीन मुद्दाकै लागि भनेर सत्य निरूपण तथा मेलमिलाप आयोग बनेको थियो । कैयन समयसम्म त आयोग पनि गठन हुन सकेन । आयोग गठन गरेपछि अगुवाइ गर्ने ठीक मान्छे दिइएन । कानुन बन्यो त्यो पनि समस्याग्रस्त, अपूरो बनाइयो । कानुन बनेपछि पनि राजनीतिक दलले सहयोग गरेन, जसको कारण त्यो अगाडि बढ्नै सकेन । आफैं फसिन्छ कि भन्ने डरले यो कुरालाई अघि नबढाउन सेना र माओवादीको पनि अघोषित सहमति रह्यो । काँग्रेसलाई त झन् यिनीहरुले गल्ती गरिदियोस् भन्ने नै हुने भयो । किनभने प्रचण्डलाई जहिले पनि हेगको डर बाँकी राखेपछि उठ न बस हुन्छन् भन्ने पक्षमा काँग्रेस छ ।

*****

अपराधीको रुपमा हेगमा उभ्याइएपछि हिरो बन्ने कुरै रहँदैन ।

*****

प्रचण्डलाई हेगको डर

प्रचण्डले पछिल्लो समय दिएको हेगबारेको भनाइ वास्तवमा डरको अभिव्यक्ति हो । हेग पुगेर को हिरो बनेको छ र ? अपराधीको रुपमा हेगमा उभ्याइएपछि हिरो बन्ने कुरै रहँदैन ।

त्यसमाथि थप, हेगमा नेपालीलाई लैजाने वैधानिक सम्भावना नै छैन । किनभने नेपालले रोम विधानमा सही गरेको छैन । तर सोही विधानका आधारमा प्रचण्ड अन्य त्यसका पक्षराष्ट्रहरुमा गए भने चाहिँ समातिन सक्ने सम्भावना भने छ । अस्ति अमेरिका जाँदा पनि समात्न सक्थ्यो । त्यसरी समात्ने कुरा हमेशा टाउकोमा तरबार झुन्डाउने भनेजस्तै भयो । अहिलेका विपक्षीहरु पनि नेपालको शान्ति प्रक्रियालाई समाधान गर्न नचाहनुको एउटा अन्तर्य भनेको पनि हमेशा प्रचण्डको टाउकोमा तरबार झुन्डाइ राख्न चाहन्छन् । प्रचण्डले कुनै र्याडिकल कुरा गर्न लागे कि त्यो तरबार तल झार्दिऊँ ? भन्ने पाइयो ।

प्रचण्ड त्यत्रो युद्धको हिरो । प्रचण्डले ठीक बाटो रोजेको भए संसारले नै मान्ने, नेल्सन मन्डेला भन्दा कता हो कता हिरो हुन्थे । प्रचण्ड केमा फसे, फसे ?

अहिले दुई तिहाइको सरकार छ र यसले चाहने हो भने अझै पनि समाधान छ । त्यो भनेको फेरि पनि अधुरो रहेका बाँकी काम पूरा गर्नु नै हो ।

द्वन्द्वलाई ठीकसँग समाधान गर्ने हो भने पहिलो कुरा सेना समायोजन हुँदाको त्रुटि सच्याउनु पर्छ । अपमानित भएर जति मान्छे गएका छन्, उनीहरुलाई सम्बोधन गर्नुपर्छ ।

त्योभन्दा अझ धेरै महत्त्वपूर्ण कुरा आर्थिक सामाजिक रूपान्तर गर्ने भन्ने नै हो । मान्छेले विद्रोह किन गरे भने गरिखाने वर्गको दैलोमा परिवर्तन पुगोस् भनेर नै गरेका हुन् । तर त्यो परिवर्तन त सिंहदरबार वरपर फन्को मारेर बसिराखेको छ । सदरमुकाम भन्दा पर गएको छैन । परिवर्तन अनुभूति हुने काम गर्नुपर्यो, जुन कुरा अहिले उनीहरुको चुनावी घोषणापत्रमा नै पनि छ । तत्कालै गरिहाल्नुपर्ने भनेकै इतिहासलाई फर्केर हेर्नुपर्यो र विगतमा जे जे गल्ती कमजोरीहरु भए, तिनलाई पुनरावोलकन गर्नुपर्यो । समय घर्किँदै गएको कारण शुरुमा जति सजिलो थियो,  त्यो गर्न त्यति सजिलो छैन । धेरै कठिन हुनसक्छ । कैयौँ कुरा असफल पनि हुनसक्छ ।

तर भूमिसुधार गर्न अझै सम्भव छ । दुई तिहाइको सरकार छ, कसले छेक्ने ? यसमा सबै जनताको समर्थन छ । आर्थिक क्रान्ति, कृषि क्रान्ति, औद्योगिक क्रान्ति गर्न सम्भव छ । काँग्रेस जस्तो निम्छरो प्रतिपक्षी छ । यतिखेर नगरे कहिले गर्ने ? सुरक्षा क्षेत्रको सुधार केही गाह्रो हुन सक्छ । तर जनतामा लोकप्रिय काम गरेर लोकप्रियता हासिल गर्ने हो भने त्यो पनि सम्भव छ । अहिले अलोकप्रिय स्थिति हो । यस्तो अवस्थामा प्रतिरोध गर्छ उसले । पहिला लोकप्रिय हुने काम गरौँ न । सर्वाधिक लोकप्रिय भएको बेला कसले के गर्न सक्छ ? विगतकै अनुभवहरुले पनि देखाउँछः सेनाको पनि केही लाग्दैन, विदेशी शक्तिको पनि केही लाग्दैन ।

त्यसैले छुटेका, बाँकी रहेका कामहरु गरिनु पर्यो ।

*****

प्रचण्डको तहबाट क्षमायाचना माग्ने हो भने कसले क्षमा दिँदैनन् र ? कम्तिमा त्यसले पीडितको मनमा मल्हमको काम गथ्र्यो र युद्धको पीडा र घाउ त बाँकी रहँदैनन् नि त्यसपछि । हेगको डर पनि हुँदैनथियो । गर्न सकिने यी कामहरु गर्न पनि प्रचण्ड किन डराएका छन्, यो अचम्म लाग्छ ।

*****

प्रचण्ड किन निर्धक्क हिँड्न सक्दैनन् ?

सत्य निरूपण तथा मेलमिलाप आयोगमा तत्काल शक्तिशाली सक्षम मान्छे राखेर त्यसलाई पूर्णता दिनु पर्र्यो । यसमा दुई पक्षकै (सेना र तत्कालीन माओवादी) नियत के छ भने कमजोर मान्छे परोस् । किनभने सेनालाई डर छः मैना सुनुवार प्रकरण बल्झेर आउँछ । खारा प्रकरण पनि बल्झेर आउँछ । गाउँका गाउँ जलाएको छ ती सबै बल्झेर आउन सक्छ र हामी हेग जानुपर्ने हुनसक्छ । जस्तो, केही वर्षअघि एक जना कर्णेल बेलायतमा पक्राउ परे । त्यो डर अहिले सेनालाई पनि छ । त्यस अर्थमा सेनाले यसलाई कसैले नचलाइदियोस् भन्ने छ । तत्कालीन माओवादीलाई पनि त्यो डर छ, ऊ पनि ढुक्क छैन । यतिखेर त उनीहरुकै सत्ता छ । विपक्षीलाई पनि तत्कालीन माओवादीले भन्न सक्छ, ‘हामी यसलाई तत्काल टुङ्ग्याउन चाहन्छाँै, तपाईंहरुको साथ चाहियो । एकमत भएर गरौँ’ भन्ने हो भने अहिले त्यो सुनौलो अवसर छ । चाहने हो भने पहिलाभन्दा कठिन अवश्य हुन्छ तर अवसर पूरै गुमिसकेको छैन ।

त्यस्तो भएन भने लामो समय बसेको द्वन्द्वको पीडाको घाउ क्यान्सर भएर निस्कने सम्भावना छ । समाजमा बदलाको भावना हुने, त्यसले हतियार समात्ने सम्भावना हुने, उनीहरुले त्यसलाई साथ दिने । नेताहरुको हत्या हुने, प्रचण्डकै हत्या हुन सक्छ । अरू थुप्रै नेताहरुको हत्या हुन सक्छ, कि त क्षमा मागेको हुनु पर्यो । यो कमजोर होस्, त्यो बेला यसलाई खेदौँला भन्ने पनि छन् नि ! यसैबाट मुलुकमा प्रतिक्रान्ति त भइहाल्दैन, त्यो अलोकप्रियताबाट हुन्छ । तर यो स्थिति लामो समयसम्म रहिरह्यो भने त्यसले हिंस्रक रुप पक्रन सक्छ र मुलुकलाई अराजकताको दिशातिर लैजान सक्छ ।  अहिले प्रचण्ड किन वरपर ३० जना मान्छे राखेर हिँड्नु परेको छ त ? कारण के ? त्यो त भयले हो । सङ्क्रमणकालीन न्यायलाई हल गरेको भए उनी निर्धक्क हिँड्न सक्थे । जनताले सुरक्षा दिन्थे नि !

प्रचण्ड आफैं डुबे भने कसले बचाउने ?
 

अहिले विदेशी शक्तिले नेपालको शान्ति प्रक्रिया के हुन्छ, कसो हुन्छ भनेर चासो दिएका छन् । यो नेपालको आन्तिरिक मामिला हो । उसको टाउको दुखाइ होइन । उनीहरु बलमिच्याइँ गरेर बोलेका छन् । उनीहरु बोल्न मिल्ने कुरा होइन । नेपालको सरकार अलोकप्रिय भएको बेला पारेर बोलिदिएका हुन् । त्यसमा हाम्रो परराष्ट्र मन्त्रालयले निर्धक्क जवाफ दिनुपथ्र्यो : ‘यो तपार्इंहरुको मामला होइन, हाम्रो मामला हो भनेर ।’ तर, सरकार कमजोर छ, त्यसरी दह्रोस्ँग भन्न सक्दैन । अर्कोतर्फ प्रचण्ड यति हल्काफुल्का छन् कि, कुनै कुरा पनि टुङ्गोमा पुर्याउने चरित्र देखिँदैन । न त शान्ति प्रक्रिया, न त सुधारका काम, न त सेना समायोजन, कुनै पनि काम टुङ्गोमा पुर्याउने चरित्र नहुनु भनेको अचम्मको कुरा हो । मौका आउँदा पनि गरेनन् । अहिले पनि मौका छ । तर उनी गम्भीर छैनन् । उनलाई गम्भीर बनाउने कसले ? एउटा गीत छ नि ‘मझधारमे नैया डोले तो माझी उसे बचाए, माझी नाव डुबाए तो कौन बचाए...

अरूले डुबाए भने प्रचण्डले रियाक्ट गर्ने हो । प्रचण्ड आफै डुबे भने कसले बचाउने ? हामीले बचाएर त बच्दैनन् । अर्कोतर्फ जो पीडित छन्, उनीहरुले न्याय नपाउने हुनसक्छ । उनीहरुबाटै हतियार उठ्ने सम्भावना हुन्छ । कसैको घाँटी रेटेर हत्या गरेको छ । कसैको बाबु मारेको छ । कसैको घर जलाइदिएको छ । बाँदरमुडेको घटना स्थानीयले सहजै बिर्सन्छन् कहिल्यै ? बिर्संदैनन् नि । त्यसलाई कसरी हो ‘सेटल’ गर्नु पर्यो ।  कि माफी माग्नु पर्छ, कि क्षतिपूर्ति दिनु पर्छ  । यो सबै बेलामा नै गरिहाल्नुपर्ने काम हो ।

अब प्रचण्ड नेल्सन मन्डेला बन्नुपर्छ

अफ्रिकामा यहाँ जस्तो निर्मम तरिकाले मान्छे मारिएका थिएनन् । सकेसम्म मान्छे मारिँदैन नमारिऊन् भनेर निकै सावधानी अपनाइएको थियो । तर पनि कहीँ न कहीँ केही अत्याचार भएको थियो कि भनेर नेल्सन मन्डेलाले राष्ट्रका नाममा माफी मागेका थिए । मन्डेलाले भने ‘यस्तो यस्तो गल्ती भयो, हामीले नचाहँदा नचाहँदै पनि गल्ती भयो, हामी क्षमा माग्छाँै’ । प्रचण्डको तहबाट क्षमायाचना माग्ने हो भने कसले क्षमा दिँदैनन् र ? कम्तिमा त्यसले पीडितको मनमा मल्हमको काम गथ्र्यो र युद्धको पीडा र घाउ त बाँकी रहँदैनन् नि त्यसपछि । हेगको डर पनि हुँदैनथियो । गर्न सकिने यी कामहरु गर्न पनि प्रचण्ड किन डराएका छन्, यो अचम्म लाग्छ । प्रचण्डले यो कुरा गर्नुपर्छ, अझै गर्न मिल्छ । सेनाले गर्न चाहेन भने पनि आफ्नो भागको काम गर्ने तत्परता देखाउँने हो भने त्यस प्रक्रियामा घिसारिँदै सेना पनि आउँछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम श्रेष्ठ
श्याम श्रेष्ठ

लेखक श्रेष्ठ प्रगतिशील रूपान्तरण आन्दोलनका संयोजक हुन् ।    

लेखकबाट थप