शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थलको जग्गा प्राप्तिमै ३४ अर्ब खर्च, भौतिकतर्फ ५५ अर्ब सकियो

अझै २ सय ५० अर्ब खर्च गरिने
बिहीबार, २३ माघ २०७६, १२ : ३६
बिहीबार, २३ माघ २०७६

काठमाडौँ । सरकारले हवाई क्षेत्रमा मात्र करिब ९० अर्ब खर्च गरेको छ । नेपाल सरकार नागरिक उड्डन प्राधिकरणले गएको दुई वर्षमा आन्तरिक तथा बाह्य उडान हुने विमानस्थलको निर्माण, स्तरोन्नति र विकास एवम् विस्तारमा यस्तो खर्च गरेको हो ।

देशमा आन्तरिक र बाह्य गरी कुल ५४ वटा विमानस्थल रहेकामा सरकारले आन्तरिक (डोमेस्टिक) विमानस्थलको सुधार तथा स्तरोन्नतिका लागि मात्र ७ अर्ब बराबर खर्च गरेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थलको सुधारका लागि कुल ८२ अर्ब बराबरको खर्च भएको उड्डयन प्राधिकरणले बताएको छ । जसमा जग्गा अधिग्रहणमा मात्र ४३ अर्ब बराबर खर्च गरिएको प्राधिकरणले जनाएको छ । त्यस्तै भौतिक (इन्फ्रास्टक्चर) तर्फ ५५ अर्ब खर्च भएको छ । यो खर्च दुई साढे दुई वर्षमा गरिएको खर्च हो ।

पाँच वर्षको कार्ययोजनासहित आन्तरिक तथा बाह्य विमानस्थलहरूको विकास, विस्तार एवम् सुधारमा लागेको सरकारका लागि अझै २ खर्ब ५० अर्ब आवश्यक रहेको प्राधिकरणले बताएको छ ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा बन्दै गरेको निजगढ विमानस्थलसहित अन्य विमानस्थलहरूका लागि आवश्यक जग्गा अधिग्रहण (मुआब्जा) का लागि मात्र ३९.६ अर्ब खर्च गरिने प्राधिकरणले बताएको छ ।

जसमा ३४.६ अर्ब आन्तरिकतर्फ र ५ अर्ब अन्तर्राष्ट्रिय विमानस्थलका लागि खर्च गरिनेछ । इन्फ्रास्टक्चरतर्फ भने आन्तरिक र बाह्य गरी कुल २ सय ९६ अर्ब खर्च गरिने प्राधिकरणको भनाइ छ ।

यस्ता छन् सुधारका काम

त्रिभुवन विमानस्थल

एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको त्रिभुवन विमानस्थलको स्तरोन्नति, ह्याङ्गिङ, पार्किङ तथा व्यवस्थापनमा नसोचेको उपलब्धि हासिल भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ । दक्षिण तथा उत्तरतर्फको एयरवे विस्तार एवम् विकासमा लागेको मन्त्रालयले १८ महिनाको समयावधिमा ५ महिना अगावै काम सम्पन्न गरिसकिने जनाएको छ ।

चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनिरिङ कर्पोरेसनले गत अप्रिल २०१९ मा विमानस्थलको रनवे रिह्याबिटेसनसहितको काम थालेकोमा यही आउँदो मे २०२० मा काम सम्पन्न गर्दै छ ।

त्यस्तै विमानस्थलको रिमोट पार्किङको काम गत वैशाख १ गते नै सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार ४ वटा बोइङ एयरक्र्याफ्ट अट्ने दुईवटा पार्किङ वे सम्पन्न भइसकेको छ । टुन्डी लामा समानता जेभीले भ्याटसहित ४५ करोडमा ठेक्का लिएको सो पार्किङ वे निर्माणको काम गत वैशाख ३१ मा सम्पन्न भइसकेको छ । टुन्डीले तीन वर्ष लगाएर उक्त प्रोजेक्ट सम्पन्न गरेको हो ।

त्यस्तै, विमानस्थलको डोमेस्टिक टर्मिनल बिल्डिङको कामसमेत पूर्ण हुने चरणमा रहेको छ । कुल १० करोड लागतमा गत जेठ २४ गते तुलसी भक्त सुभा जेभीसँग सम्झौता भएकोमा अबको केही महिनाभित्र काम सम्पन्न हुने प्राधिकरणले बताएको छ ।

एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टको रूपमा विकास गरिने योजनामा करिब करिब सम्पन्न हुने चरणमा रहेको प्राधिकरणले जनाएको छ । बुटिकको काम ६० प्रतिशत सक्किसकेको र अब करिब ४० प्रतिशत मात्र काम बाँकी रहेको प्राधिकरणले बताएको छ ।

विमानस्थलको ट्याक्सी पार्किङ क्षेत्रको ब्युटिफिकेसन तथा गार्डेनिङको काम सक्किसकेको, अध्यागमनको सुधार भएको र बाह्य क्षेत्र (रनवेबाट भित्र) गौतम बुद्धको मूर्ति राख्ने काम भइसकेको छ । अब केही ठाउँमा कलर पेन्टिङ तथा रङरोगनको काम बाँकी रहको बताइएको छ ।

अबको ५ वर्षमा त्रिभुवन विमानस्थलभित्र प्यारालल् ट्याक्सी वे, यात्रु प्रतीक्षालय, एयरक्र्याफ्ट ह्याङ्गिङ एप्रोन र नयाँ अन्तर्राष्ट्रिय टर्मिनल बिल्डिङ (टी–टु) समेत बनाइने बताइएको छ । यसका लागि बजेटसमेत छुट्याइसकिएको छ ।

गौतमबुद्ध विमानस्थल (भैरहवा)

विशेष महत्त्वका साथ लिइएको भैरहवाको गौतमबुद्ध विमानस्थलको काम करिब ८६ प्रतिशत सक्किसकेको छ । एयरसाइड र ल्यान्डसाइड गरी निर्माणाधीन यो विमानस्थलको भौतिक प्रगतितर्फ ८५.६ प्रतिशत काम सक्किसकेको र आर्थिकतर्फ ५५ प्रतिशत काम सम्पन्न भइसकेको उड्डयन प्राधिकरणले जनाएको छ । अबको बाँकी काम केही महिनाभित्रै सकिने प्राधिकरणले बताएको छ । नर्थवेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप चाइनाले गत २०१४ मा सुरु गरेको विमानस्थलको काम अब यही आउँदो ३१ मार्चमा सम्पन्न हुँदैछ । यसको लागत ६.२२ अर्ब रहेको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (कास्की)

पोखरा विमानस्थलको कामले पनि गति लिइरहेको छ । तीव्र गतिमा काम अघि बढेको विमानस्थलको निर्माण कार्य अबको एक वर्षभित्र सकिने प्राधिकरणले जनाएको छ । अहिले सो विमानस्थलको जग्गा प्राप्ति (मुआब्जा)को काम सक्किएको छ । सो विमानस्थलका लागि २.३० अर्ब मुआब्जा खर्च भएको छ ।

चाइना केमिक इन्जिनेरिङ कोलिले गत २०१७ जुलाई ११ मा काम सुुरु गरेकोमा अब आउँदो १० जुलाई २०२१ मा काम सम्पन्न गर्ने प्राधिकरणले जनाएको छ । विमानस्थलको ५४ प्रतिशत काम सक्किसकेको छ ।

यस प्रोजेक्टको कुल लागत २१५.९६५ मिलियन अमेरिकी डलर रहेको छ ।

निजगढ विमानस्थल (बारा)

राष्ट्रिय गौरवको आयोजनामा राखिएको निजगढ विमानस्थलको कामले पनि गति पाउने भएको छ । वन फडानी तथा रुखको कटानको विषयमा रोकिएको यस विमानस्थलले वन तथा वातावरण मन्त्रालयको सहजीकरणमा अघि बढ्ने भएको छ । मन्त्रालयले सम्बन्धित वन विभागलाई रुखको यकिन गर्न निर्देशन गरिसकेको छ ।

अहिले निजगढ विमानस्थलको कामका लागि सरकारले मास्टर प्लान बनाएको छ । कुल ४४५ अर्ब बराबरको यो प्रोजेक्टमा आइक्याबसँगको सहकार्यमा सरकार अघि बढ्ने जनाएको छ ।

अहिले ३९.९ अर्ब बराबरको फेन्चिङ कन्स्ट्रक्सनको काम भएको छ भने रिबर ट्रेनिङसहितको कामका लागि २ सय ५० अर्ब छुट्याइएको छ ।

त्यस्तै डोमेस्टिकतर्फ काम सुधारका काम भइरहेका विमानस्थलहरूमा बाजुरा एयरपोर्ट, भैरहवा एयरपोर्ट, भरतपुर एयरपोर्ट, भोजपुर एयरपोर्ट, विराटनगर एयरपोर्ट, चन्द्रागढी एयरपोर्ट, दाङ एयरपोर्ट, धनगढी एयरपोर्ट, डोल्पा एयरपोर्ट, जनकपुर एयरपोर्ट, जोमसोम एयरपोर्ट, जुम्ला एयरपोर्ट, खानिडाँडा एयरपोर्ट, लामिडाँडा एयरपोर्ट, लुक्ला एयरपोर्ट, नेपालगञ्ज एयरपोर्ट, फपुल एयरपोर्ट, पोखरा एयरपोर्ट, राजविराज एयरपोर्ट, रामेछाप एयरपोर्ट, रारा एयरपोर्ट, रुकुम (च्याउँघारी, मुसिकोट सल्ले) एयरपोर्ट, रुम्जाटार एयरपोर्ट, सान्फेवगर एयरपोर्ट, सिमरा एयरपोर्ट, सिमिकोट एयरपोर्ट, सुर्खेत वीरेन्द्रनगर एयरपोर्ट, ताप्लेजुङ एयरपोर्ट, थामखर्क एयरपोर्ट टीआईए र तुम्लिङटार एयरपोर्ट गरी ३२ वटा विमानस्थल छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप