बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमालेको एकता भाँडिएको बालुवाटारको निष्कर्ष

दोस्रो तहमा छलफल भयो, तर प्रगति भएन
सोमबार, ०७ असार २०७८, २० : ०३
सोमबार, ०७ असार २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने भन्दै आइतबार बालुवाटारमा माधव नेपाल पक्षका केही नेताहरुलाई बोलाए । प्रधानमन्त्रीको निम्तोलाई स्वीकार्दै सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्टलगायतका नेताहरु बालुवाटार गए ।

प्रधानमन्त्री ओलीले आफू जेठ २ मा फर्कन तयार रहेको भन्दै पार्टी एकताको प्रस्ताव राखे । तर, उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी गरिएको हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्व शर्तसमेत राखे ।

प्रधानमन्त्रीसँग छलफलमा सहभागी माधव पक्षका नेताहरुले आफ्नो समूहमा यसबारे छलफल गर्ने भनेपछि प्रधानमन्त्री ओली सकारात्मक जवाफ आउने प्रतिक्षामा थिए । तर, बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले संसद विघटन गरेकोमा आत्मालोचना गर्नुपर्ने, अन्यथा हस्ताक्षर फिर्ता नहुने माधव पक्षका नेताहरुले सोमबार जवाफ पठाएकाले अब एकताको सम्भावना लगभग टरेको छ ।   

योसँगै सत्तारुढ एमालेको आन्तरिक एकता प्रक्रियाका लागि भएको प्रयास निरर्थक बन्ने संकेत देखिएका छन् । विगत दुई सातादेखि दुवै पक्षका नेताहरुबीच एकता जोगाउन भन्दै गरिएका निरन्तर वार्ता र छलफलमा समेत सहमति जुट्न नसकेपछि एकता प्रक्रिया टर्ने दिशातर्फ अघि बढेको नेताहरुले बताएका छन् ।

यद्यपि उनीहरुले एकता प्रक्रियाबाट पछि नहट्ने भन्दै छलफललाई निरन्तरता दिने दाबी भने गरि नै रहेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत बैशाख अन्तिममा भएको सहमति अनुसार बनेको दुवैतर्फका नेता सम्मिलित १० सदस्यीय कार्यदल निश्कृय भएपछि अनौपचारिक रुपमा दुवैतर्फका नेताहरुबीच एकताबारे निरन्तरजसो वार्ता र छलफल हुँदै आएका छन् । सहमतिका लागि वातावरण बनाउन भनेर गरिएका ती वार्ता र छलफल अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपालले राखेका शर्तहरुमा केन्द्रित भए पनि अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन ।

असन्तुष्ट माधव नेपाल पक्षले एकताप्रति अध्यक्ष ओलीलाई नै चासो नभएको बताउँदै आएको छ । जिम्मेवारीको हिसावले पनि अध्यक्ष ओली लचक र इमान्दार हुनुपर्नेमा त्यसविपरीत ओलीको व्यवहार देखिएको माधव पक्षका नेताहरुको भनाइ छ ।

‘ओलीजी आफैं अध्यक्ष र प्रधानमन्त्री भएको हिसावले उहाँ सबैभन्दा लचिलो, जिम्मेवार र इमान्दार हुनुपर्ने हो । तर, उहाँलाई नै सकभर पार्टी एकता नभइदिए हुन्थ्यो भन्ने चाहना छ’, असन्तुष्ट पक्षका नेता युवराज ज्ञवालीले रातोपाटीसँग भने, ‘राजेन्द्र महतो र महन्थ ठाकुरलाई लिएर देश चलाउने तर, माधव नेपाल झलनाथ खनाल लगायतको पंक्तिलाई एकतावद्ध पार्न नचाहने गलत दृष्टिकोण र मनसायले काम गरेको छ । त्यसले गर्दा उहाँ कहाँबाट र कसरी सञ्चालित हुनुहुन्छ भन्ने पुष्टि हुन्छ ।’

ज्ञवालीले ओली समुहको एउटा पंक्ति पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा रहे पनि ओलीसामू उनीहरुको केही नलाग्ने बताए ।

यता वार्तामा बस्दै आएका अध्यक्ष ओली पक्षका नेता सुवास नेम्वाङ अहिलेसम्म भएको वार्ताको प्रगति ‘निरन्तर छलफल’ बाहेक अरु केही नभएको बताउँछन् । उनको यो भनाइबाट पनि एमाले एकता प्रक्रियामा कुनै प्रगति नभएको भन्ने बझ्न सकिन्छ ।

‘अहिलेसम्मको प्रगति भनेको निरन्तर छलफल मात्रै हो’, नेम्वाङको भनाइ छ । उनले आफूहरु एकताको पक्षमा उभिएको र पार्टीलाई एकताबद्ध बनाउन लागिरहे पनि कुनै सहमति जुट्न नसकेको प्रतिक्रिया दिए ‘हामी पार्टी एकताको पक्षमा उभिएका छौं । एमालेलाई एकतावद्ध बनाउन लागिरहेका छौं । यो जारी रहन्छ । तर, निष्कर्षमा पुगेको छैन’,नेम्वाङको भनाइ छ ।

नेता नेम्वाङले संस्थापन पक्ष पार्टी एकताको पक्षमा रहेको दाबी गरेपनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु यसलाई स्वीकार्न तयार छैनन् । वरिष्ठ नेता नेपालनिकट मानिने असन्तुष्ट पक्षका नेता ज्ञवाली अध्यक्ष ओली नै एकताको विपक्षमा रहेकाले वार्ताको प्रयास भइरहे पनि प्रगति हुन नसकेको दावी गर्छन् ।

‘केपी ओली पार्टी एकता चाहनुहुन्न । यो कुरा हामीले पहिलेदेखि नै भन्दै आएका हौं’, नेता ज्ञवालीले भने ‘त्यो कुराको पुष्टि अहिले फेरि कर्णालीको मुद्दामा भ्याकेटमा गएपछि प्रमाणित भयो ।’

ज्ञवालीले नेकपा एमाले एकतावद्ध भयो भने नेपालमा लोकप्रिय कम्युनिस्ट पार्टी बनेर भोलि फेरि सरकारको नेतृत्व गर्ने हैसियतमा आउने सम्भावना रहेकाले केपी ओली त्यसो हुन नदिने पक्षमा रहेको बताए । ‘उहाँ जुन डिजाइन अन्र्तगत चल्नुभएको छ, उहाँलाई नेपालको कम्युनिस्ट आन्दोलन छिन्नभिन्न पार्नुपर्ने ड्युटी छ । नेकपा विभाजित भएकोमा उहाँले देशव्यापी खुसीयाली मनाउनुभयो । अब एमाले पनि विभाजित गर्ने उहाँको चाहना हो । त्यो चाहनाअनुसार नै हाम्रो समूहका मान्छेहरु फुटाउन र कमजोर पार्न सकिन्छ कि भनेर खेल खेलिरहनुभएको छ’, ज्ञवालीको भनाइ छ ।

ज्ञवालीले ओलीले प्रदेशको बजेट र सर्वोच्च अदालतको मुद्दा प्रभावित पार्न मात्रै वार्ताको नाटक रचेको हुन सक्ने बताए । उनले भने, ‘एकातिर सर्वोच्चमा मुद्दा छ, अर्कोतिर यहीबेला प्रदेशहरूमा बजेट आउने समय भएकाले उहाँ केही लचक भएजस्तो गरेको मात्रै हो ।’

ज्ञवालीले अध्यक्ष ओलीको भित्री चाहना पार्टी एकता नहोस् भन्ने नै रहेको दाबी गरे । ‘केपी ओली सकेसम्म ओली यो पार्टी एकता नहोस् भन्ने चाहानुहुन्छ । सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने भनेर धक्का दिएपछि भ्याकेटमा गएको समाचार सुनिएको छ । यदि त्यसो हो भने यसले एकता गर्ने नभई नगर्नका लागि अनुकुल स्थिति उत्पन्न गर्छ’, ज्ञवालीको भनाइ छ ।

वरिष्ठ नेता नेपालको पक्षबाट वार्तामा सहभागी हुँदै आएका नेता सुरेन्द्र पाण्डे पनि एमाले एकताका बारेमा कुनै प्रगति भइनसकेको बताउँछन् । ‘अहिले केही भएको छैन, भएको भए कुरा बाहिर आइहाल्छ नि’, पाण्डेले ओली पक्ष भ्याकेटमा गएकोबारे समेत आफूहरुलाई थाहा नभएको बताए उनले रातोपाटीसँग भने, ‘भ्याकेटमा गएछन् ? त्यो पनि हामीलाई थाहा छैन ।’

ओली भ्याकेटमा गएपछि वार्ताको वातावरण थप बिथोलिएको हो भन्ने प्रश्नमा पाण्डेले भने, ‘हेरौं न ।’ उनले नगएको भए हुन्थ्यो भन्ने आफूहरुको भनाइ रहेको पनि बताए । ‘नगएको भए हुन्थ्यो भन्ने नै हो, तर किन गए बुझ्न पाएको छैन ।’

नेता पाण्डेले आफूहरूसँगको वार्तामा अहिले नै भ्याकेटमा नजाने भन्नेमा ओली पक्ष सहमत भए पनि अहिले गएको सुनिएको बताए ।

सर्वोच्च अदालतले कर्णालीमा कारवाही परेका प्रकाश ज्वाला लगायतका चारजना नेता माधव पक्षका सांसदहरुको कारवाहीलाई बदर गरिदिएको थियो । तर, अदालतको यो निर्णय खारेज हुनुपर्ने माग गर्दै ओली पक्षले अदालतमा भ्याकेटको निवेदन दिएपछि नेपाल पक्ष झस्किएको हो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप