सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘जङ्गफुड प्रयोगले बालबालिकाको शारीरिक र मानसिक विकासमा समस्या निम्त्याउँछ’

शनिबार, २८ भदौ २०७६, १५ : ५०
शनिबार, २८ भदौ २०७६

पछिल्लो समय बजारमा पाउने प्याकेटका खानेकुरा (जङ्गफुड) मा धेरैको ध्यान जान थालेको छ । चाउचाउ, कुरकुरे, बिस्कुट, चकलेट, चिजबल, हर्लिक्स, चाउमिन, मःम र विभिन्न पेयपदार्थ छिटो अनि सहजै रुपमा उपलब्ध छन् ।

यस्ता खानामा जिब्रोले पनि निकै स्वाद पाउने हुँदा मान्छेको चासो पनि यसैमा बढी देखिन्छ । तर यस्ता खाने कुराले हाम्रो स्वास्थ्यलाई फाइदा नगर्ने पोषणविद्हरु बताउँछन् । जङ्गफुड प्रयोगले सबै उमेर समूहका व्यक्तिलाई असर गर्नुका साथै विभिन्न रोग लाग्ने सम्भावना हुन्छ ।

पछिल्लो समय नेपालमा विभिन्न रोग बढ्दै जानुमा पनि जङ्गफुड अर्थात बजारमा पाइने प्याकेटको खाने कुरालाई पनि प्रमुख कारकको रुपमा लिइन्छ । जङगफुडले स्वास्थ्यमा पार्ने असर र जङ्गफुड छुटाउने उपायबारे वरिष्ठ पोषणविद् डा. उमा कोइरालासँग रातोपाटीका लागि अञ्जु तामाङले गरेको कुराकानीको सम्पादिन अशंः–

शरीरलाई कस्ता —कस्ता पोषण तत्वको आवश्यक हुन्छ ?

क्यालोरी, प्रोटिन, भिटामिन (ए.बीसी.बी —६,बी १२), क्याल्सियम, आइरन, फस्फोरस, जिङ्क शरीरलाई नभई नहुने तत्वहरु हुन् । यो सबै कुराले एकले अर्काेलाई सहयोग गरेर नै शरीर चलायमान भइरहेको छ ।

क्यालोरी राम्रोसँग पचाउनको लागि प्रोटिन र प्रोटिन पचाउन क्यालोरीले सहयोग गरिरहेको हुन्छ । यस्तै विभिन्न किसिमको भिटामिनले क्यालोरी र प्रोटिन पचाउन मद्दत गरिरहेको हुन्छ । यी विभिन्न पोषणले एकले अर्काेसँग समन्वय गरेर काम गरिरहेको हुन्छ । सबै पोषणको बराबरी भूमिका हुन्छ । कुनै कम चाहिन्छ भने कुनै पोषण अलि धेरै आवश्यक पर्छ ।

तर पछिल्लो समय यस्ता पोषण पाउने भन्दा पनि जङ्गफुडको बढी प्रयोग भएको पाइन्छ । यस्ता खानपानले बालबालिकाको स्वास्थ्यमा कस्ता समस्याहरु आउँछन् ?

बजारमा पाइने विभिन्न प्याकेटका खाने कुरा जङ्गफुड खान दिँदा क्यालोरी र प्रोटिन प्रशस्त मात्रामा पाइँदैन । त्यसैले गर्दा बालबालिकाको विकास हुने समयमा हड्डी मांशपेसीको पनि सेल वृद्धि गर्न सक्दैन । सेल वृद्धि हुनको लागि प्रोटिन चाहिन्छ ।

प्रोटिनसँगै क्यालोरी र डिभिजन भएन भने बालबालिकामा ख्याउटे, पुड्कोपना देखिने सम्भावना हुन्छ । हड्डीको राम्रोसँग विकास भएन भने पनि पुड्कोपना हुने, सेल बढेन भने ख्याउटे हुने हुन्छ  । समय अनुसारको तौल र उचाई पनि नबढ्ने सम्भावना हुन्छ ।

जङ्गफुडले बालबालिकाको मानसिक विकास पनि समय अनुसार हुन सक्दैन । दिमागको सेलहरुलाई पर्याप्त मात्रामा खानेकुरा नपुग्दा मानसिक विकासमा पनि समस्या देखिन्छ । जुन कुरा जङ्गफुडबाट पाइँदैन ।

नेपालमा बढी मात्रामा जङ्गफुड प्रयोग गर्नुको कारण के हो ?

नेपालको सहरी क्षेत्रमा बढी मात्रामा जङ्गफुडको प्रयोग भएको पाइन्छ । अहिले गाउँघरमा पनि यस्ता खालको खानेकुरा प्रशस्त मात्रामा पुगेको देखिन्छ । सहरी क्षेत्रमा प्रायः अभिभावकहरु व्यस्त हुने हुँदा विद्यालयमा खाजाको रुपमा पैसा दिने अथवा प्याकेटको खानेकुरा पठाउने गर्छन् ।

चाउचाउ, कुकिज, बिस्कुटजस्ता खानेुकुरा विद्यालय जाने बालबालिकाको दैनिक खाजा नै भइरहेको छ । बिहान पनि हतारमा थोरै खाएर जाने, दिउँसो पनि राम्रो खाजा भएन भने बालबालिकाले कसरी पौष्टिक तत्व प्राप्त गर्ने ?

यस्ता खालका खानेकुरा सहजै रुपमा पाइने र सजिलो हुने हुँदा पनि प्रयोग गर्नेको संख्या बढ्दै गएको देखिन्छ । विद्यालयमा बालबालिकालाई कस्तो खाजा दिन्छन्, खान्छन् कि खाँदैनन् भन्ने कुरा नै अभिभावकलाई थाहा हुँदैन ।

त्यसले गर्दा बालबालिकाको तौल नबढ्ने, किशोर उमेरमा पनि उमेर अनुसार नबढ्ने, हार्डको  पनि राम्रोसँग विकास नहुने समस्या हुन्छ । जुन कुराले हामीलाई निकै दुःख लाग्छ ।  अण्डा, दुध, दही, फलफूल, रोटी, दाल, माच्छा, मासु, हरियो सागपात, मकै र भटमास, रोटीजस्ता खानेकुरा खुवाउनु राम्रो हुन्छ ।

किशोरावस्थामा जङ्गफुडले कस्तो समस्या निम्त्याउँछ ?

विस्तारै गाउँघरमा पाइने स्थानीय खानेकुरा खाने चलन हराउँदै गइरहेको छ । किशोरावस्थाका व्यक्तिहरुले पनि धेरै मात्रामा जङ्गफुडको प्रयोग गर्ने गर्छन् । जुन समय भनेको पोषणयुक्त खानेकुराको जरुरी हुने समय हो ।

यो अवस्था शारीरिक विकासको हिसाबले अत्यन्त महत्वपूर्ण अवस्था हो । यो अवस्थामा महिला पुरुष दुवैको सेक्स अर्गानहरुको विकास हुने र धेरै हर्मन परिवर्तन हुनुका साथै उचाई र तौल पनि यही बेलामा बढ्छ ।

यो समयमा बाहिरको खानामा धेरै ध्यान दिँदा जसले गर्दा पोषिलो तत्व पुगिरहेको हँुदैन । त्यसैले यो समयमा खानपानमा धेरै ध्यान दिनुपर्ने हुन्छ । ६० देखि ६५ वर्ष भन्दामाथिका व्यक्तिलाई पोषिलो खानाको एकदमै आवश्यक पर्छ । 

किशोरावस्थाका व्यक्तिले बढी मात्रामा जङ्गफुड प्रयोग गर्दा धेरै समस्या देखिन्छ । यो अवस्थामा कसैको कुरा नसुन्ने बाहिरको खाना खाने, बाबु आमालाई नटेर्ने प्रवृति हुन्छ । बाहिरको खानाले त्यो उमेरमा झन भयावह अवस्था आउँछ ।

जङ्गफुडको धेरै प्रयोग गरेमा त्यो समयमा शरीरमा पर्याप्त मात्रामा खाद्यपदार्थ भएन भने उमेर अनुसार बढ्न सक्दैन । अरु देशको दाँजोमा हामी किन सानो ? जन्मिँदा उस्तै—उस्तै जन्मिएपछि गिर्दै जान्छन् ।

जङ्गफुड धेरै प्रयोग गर्नाले समयमा पोषण पर्याप्त मात्रामा पाउन सक्दैन । शारीरिक, मानसिक समस्या आएपछि किशोरकिशोरीले युवा अवस्थामा गर्नुपर्ने कामहरु जति गर्नुपर्ने हो त्यति गर्न सक्दैनन् । किनभने बाल्यअवस्थाको त्यो पोषणको कमिले राम्रो सिकाई सिक्न सक्दैन । सिकाई नै सिक्न सकेन भने पछि उमेरअनुसार गर्नुपर्ने काममा समस्या आउँछ । जङ्गफुड धेरै प्रयोग गर्ने किशोर—किशोरी सामाजका अन्य किशोर-किशोरीसरह काम गर्न सक्दैन ।

अब जङ्गफुड कम गर्न अथवा छुटाउन के गर्ने ?

बालबालिकालाई जङ्गफुड खानबाट छुटाउनको लागि अविभावक र शिक्षकको निकै ठूलो भूमिका हुन्छ । बालबालिकालाई यस्तो खाना खानु हुन्न, जङ्गफुडले पु¥याउने बेफाइदा बारेमा जानकारी गराउनुपर्छ ।

विद्यालयमा जङ्गफुड ल्याउन नपाउने, विद्यालय वरिपरी जङ्गफुड राख्न नपाइने भनेर शिक्षा विभागले अलि समय पहिला सूचनानै निकालेको थियो । तर त्यो लागू भएको खासै छैन् । कतिपय विद्यालयले अहिले बालबालिकालाई जङ्गफुड खान नहुने, विद्यालयमा ल्याउने नहुने कुरालाई लागू गरेको पाइन्छ ।

जसले गर्दा कतिपय बालबालिका आफैले चकलेट, बिस्कुट जङ्गफुड हो खानु हुन्न भन्दै पनि आइरहेका छन् । अविभावकले पनि विस्तारै बालबालिकालाई जङ्गफुडको असरको बारेमा जानकारी गराउँदै जाने र खानेकुरा पनि घरमा नै पाइने परिकारहरु खुवाउने हो भने जङ्गफुड कम गर्न सकिन्छ ।

आमा, बाबुले बालबालिकालाई झर्केर कराएर भन्दा पनि राम्रोसँग सम्झाउनुपर्छ । जङ्गफुडको असरको बारेमा बताउनुपर्छ । अविभावकले अल्छी नगरी बालबालिका विद्यालय जानुभन्दा पहिला नै उठेर घरमा खाजा तयारी गरेर पठाउने बानी बसाल्दा राम्रो हुन्छ । रोटी, आलु, विभिन्न साजसब्जी राखेर भुुटेकै भात बनाएर पठाउने हो भने यस्तो खाना कुराले बालबालिकाको स्वास्थ्यलाई फाइदा गर्छ ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप