आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सरकारलाई असफल हुने छुट छैन : महासचिव पौडेल

शुक्रबार, १७ असोज २०७६, १५ : १७
शुक्रबार, १७ असोज २०७६

बुटवल – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले अहिलेको सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् । नेकपा नेतृत्वको सरकार नै असफल भए मुलुकमा संवैधानिक संकट आउने र व्यवस्था नै असफल हुने उनले दावी गरे ।

नेकपा रुपन्देहीको तिलोत्तमा नगर कमिटीले विजयादशमी, शुभदीपावली र छठ पर्वको अवसरमा आज मणिग्राममा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा महासचिव पौडेलले यस्तो बताएका हुन् ।

‘यो सरकारलाई असफल हुने छुट छैन, यो असफल भए राष्ट्रकै जीवनमा एकसाथ अनेक संकट आउँछन्, संविधान र राजनीतिक दल पनि रहने कि नरहने भन्ने प्रश्न सिर्जना हुनेछन्,’ उनले भने ।

सरकारका अहिलेसम्मका काम कारवाही उत्साहजनक र सफलतातर्फ उन्मुख रहेको उनले बताए । स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले आवधिक समीक्षा गरिरहेको र आगामी दिनमा सरकारलाई अझै प्रभावकारी ढंगले परिचालित गर्ने योजना पार्टीले बनाएको महासचिव पौडेलको भनाइ छ ।

कम्युनिस्ट पार्टीले प्राप्त गरेको सफलताले केही चुनौती र जिम्मेवारी पनि थपिएको  भन्दै उनले सरकारले केही पनि गर्न सकेन भनेर गरिएको आलोचनाको कुनै अर्थ नरहने बताए । 

कार्यक्रममा नेकपा स्थायी समिति सदस्य छविलाल विश्वकर्माले सरकारले गरेका राम्रा कामहरुलाई जनतामाझ लैजान र गलत भएको भए खवरदारी गर्न कार्यकर्तालाई आग्रह गरे ।

नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले पार्टी एकीकरणपछि कार्यकर्ता पंक्तिमा उत्साह थपिएको उल्लेख गर्दै स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले गरेका काम कारवाहीलाई जनतामाझ लैजाने पुलको रुपमा स्थानीय कमिटीले काम गर्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप