बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

श्रीलङ्काले फिर्ता पायो पुर्खाका २ सय वर्ष पुराना खप्पर

सोमबार, ०९ मङ्सिर २०७६, ०७ : ३७
सोमबार, ०९ मङ्सिर २०७६

स्कटल्याण्डको एडिनबर्ग युनिभर्सिटीले श्रीलङ्काका ९ आदिमानवको खप्पर उनको वंशजलाई फिर्ता दिएको छ ।

विशेषज्ञका अनुसार यी हड्डी श्रीलङ्काको वेद्दा जनजातिका सदस्यको हो जुन २ सय वर्षभन्दा पनि पुराना हुनसक्छन् ।

यी हड्डी युनिभर्सिटीको शरीर रचना विज्ञान संग्रहको हिस्सा थियो र यी कम्तीमा सय वर्षअघि संकलन गरिएका थिए ।

आदिमानवका यी खोपडी र हड्डीलाई युनिभर्सिटीको प्लेफेयर पुस्तकालयको एक कार्यक्रममा वेद्दा प्रमुख वन्निया उरुवारिगे समक्ष पेश गरिएको छ ।

वन्नियाले भने, ‘हाम्रा पुर्खा वेद्दा समाजका लागि निकै महत्वपूर्ण छ । हरेक वर्ष हामी उहाँहरुलाई सम्मान गर्नका लागि एक विशेष कार्यक्रमको आयोजना गर्छौं । हाम्रा पुर्खाका अवशेष यतिका वर्षसम्म एडिनबर्गमा भएपनि उहाँहरुको आत्मा हामीसँग श्रीलङ्कामा थियो । अब हाम्रा पुर्खाको भौतिक अवशेष र आत्माको मिलन भएको छ र यसका लागि म विश्वविद्यालयलाई धन्यवाद दिन चाहन्छु । यो मेरा लागि निकै विशेष र महत्वपूर्ण पल हो ।’

यद्यपि, वेद्दा जनजातिका यी अवशेष युनिभर्सिटीको संग्रहको हिस्सा कसरी बन्यो त्यो स्पष्ट हुन सकेको छैन । एडिनबर्ग युनिभर्सिटीमा १२ हजार पुराना वस्तु र अवशेष राखिएका छन् ।

जर्मनी र एडिनबर्गमा यी हड्डीमाथि अध्ययन गर्ने केही अनुसन्धानकर्ताले यी श्रीलङ्काको वेद्दा जनजातिसँग सम्बन्धित भएको पुष्टि गरेको छ ।

शोधकर्ताका अनुसार वेद्दा जनजातिका मानिसहरु पहिले श्रीलङ्काको घना जङ्गलमा शिकारीको रुपमा जीवनयापन गर्दथे ।

जानकारी सार्वजनिक भएपछि एडिनबर्ग युनिभर्सिटीले जब यी हड्डी वेद्दा समुदायका मानिसहरुलाई फिर्ता दिने प्रस्ताव गर्यो तब उनीहरुले यो स्वीकार गरे ।

शोधकर्ताले वेद्दा जनजातिका मानिसहरुको पारम्परिक जीवनशैली अबको दुई पीढिमा लोप हुने खतरा बढिरहेको बताएका छन् । विशेषज्ञले गृहयुद्ध र जमिन गुमाएका कारण यस्तो भएको बताएका छन् ।

युनिभर्सिटीमा मानव रचना विज्ञानका प्रमुख प्राध्यापक टम गिलिंगवाटरले एडिनबर्गमा वेद्दा समुदायलाई स्वागत गरेर आफूलाई निकै खुसी लागेको बताए ।

प्राध्यापक टमले भने, ‘हाम्रो विशाल र विविधतापूर्ण संग्रह धेरैजसो अनुसन्धान र सिक्ने सिकाउनेमा प्रयोग हुन्छ । हामीले सांस्कृतिक रुपमा महत्वपूर्ण अवशेषलाई उनीहरुको वंशजलाई फिर्ता दिन सकेकोमा खुसी लागेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप