शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको स्वास्थ्यबारे मिडिया र चिकित्सकले आतंक सृजना गरे: प्रेस सल्लाहकार थापा

शुक्रबार, १३ मङ्सिर २०७६, १९ : ३५
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे तथ्यभन्दा पनि अतिरञ्जित कुरा बढि मिडियामा आएको भन्दै गुनासो पोखेका छन् । 
शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले मिडियालाई जिम्मेवार र उत्तरादायी पत्रकारिता गर्न आग्रह गरे । उनले भने,‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सन्तोषप्रद ढंगले तिव्र गतिमा सुधार भएको छ । आज प्रधानमन्त्रीज्यूको निजी चिकित्सक र उहाँको उपचारमा संलग्न आधा दर्जन चिकित्सकहरुले पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी गराउनुभएको छ । उहाँको अहिलेको स्थिति के छ ? भन्नेबारे उहाँहरुले सत्य, तथ्य सार्वजनिक गर्नुभएको छ । अर्को हप्ता उहाँ डिस्चार्ज हुनुहुनेछ ।’

साक्षात्कारमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीले एपेन्डिसाईटिसको समस्या आकस्मिक रुपमा भोग्नुभयो । अहिले उहाँ पूर्ण स्वास्थ्य लाभको दिशामा अघि बढ्नुभएको छ । तर, सञ्चारमाध्यमबाट बढो तिलस्वी ढंगले, बढो नयाँ तथ्य प्राप्त गरेजस्तोगरि, बढो खोज गरेजस्तोगरि जे तथ्यहरु आएका छन्, ती सान्दर्भिक छैनन् ।’

उनले प्रधानमन्त्री ओली जेलमा हुँदापनि असाध्यै विरामी भएर निकै जीवन–मरणको दोसाँधबाट त्यो चरण पार गरेर २०४४ सालमा रिहाई भएको  स्मरण गराए । थापाले थपे,‘उहाँको स्वास्थ्य समस्या अकस्मात् रुपमा वा अहिले अस्पताल भर्ना भएर देखापरेको होइन् । उहाँले ४०, ४२ वर्षदेखि विभिन्न रोगहरुको सामना गर्दै आउनुभएको छ । वितेका १२ वर्षयता त उहाँले मिर्गौला प्रत्यारोपण गरिसकेर यहाँसम्म आइपुग्नुभएको छ । उहाँले किड्नी ट्रान्सप्लान्ट गरेको १२ वर्ष भैसक्यो । यसबीचमा अहिले भर्खरै यो किड्नीको समस्या देखापरेको जस्तोगरि कथा बुन्नुभएन् ।’

उनले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे कथाहरु बुनिएको भन्दै गुनासो पोखे । उनले भने, ‘कथा त चलचित्रलाई काम लाग्छ । तर, व्यवहारिक जीवनलाई त्यसले काम दिँदैन् । प्रधानमन्त्रीज्यू अस्पतालमा भर्ना हुनासाथ सिर्जना गरिएका डर र आतंकबाट पनि मिडिया अलि सच्चिनुपर्छ ।’ 

एपेन्डिसाईटिसको शल्यक्रिया सामान्य कुरा भएको बताउँदै उनले यसलाई अतिरञ्जित गर्न नहुने सुझाव दिए । उनले भने,‘प्रधानमन्त्रीज्यूलाई पनि राति १ बजे पेट दुख्यो । ८ बजे अस्पताल लगियो, १२ बजे त शल्यक्रिया भैसकेको थियो । एपेन्डिसाइटिसको शल्यक्रिया भएको छ तर, मिर्गौला प्रत्यारोपण गरिएको जस्तोगरि प्रचार गरिन्छ । जुन गलत हो । अतिरञ्जना हो । ट्विस्ट हो । यसरी चाहीँ आमसञ्चार क्षेत्र बहकिनुहुन्न । विषयलाई ट्विस्ट गर्न हुन्न । जे हो, त्यही समाचार लेख्नुपर्यो । प्रधानमन्त्रीको स्वास्थ्य स्थिति भयंकर छ भनेर भन्नुभएन ।’ 

त्यस्तै, अस्पतालका एकजना चिकित्सकले पनि आतंक सिर्जना गरेको उनको टिप्पणी छ । उनले भने, ‘उहाँका सबै अंग काम लाग्न नसक्ने हुनसक्छ भनेर आतंक मच्चाइएको छ । उहाँलाई संक्रमण नहोस भनेर भेन्टिलेलटरमा राखिएको हो । जनताको शुभेच्छाले उहाँ अहिले यो समस्याबाट पार भएर, संक्रमणबाट पार भएर आउनुभएको छ । उहाँ अहिले पनि सघन उपचार कक्षमा हुनुहुन्छ । अबको केही दिनपछि उहाँ पूर्ण स्वास्थ्यलाभ गरेर डिस्चार्च हुनुहुनेछ ।’

उनले मिडियामा गलत समाचार आएकोप्रति आक्रोश र असन्तुष्टिमात्रै पोखनन् वैयक्तिक स्वतन्त्रतासम्बन्धी व्यवस्था गर्न बनेको ऐन–२०७५ पनि पत्रकारहरुलाई सुनाए । उनले भने,‘नेपालमा एउटा कानून छ वैयक्तिक स्वतन्त्रतासम्बन्धी व्यवस्था गर्न बनेको ऐन–२०७५ । त्यसले व्यक्तिका व्यैक्तिक स्वतन्त्रताहरुको संरक्षण गरेको छ । के–के कुरा गर्दा त्यो उल्लंघन हुन्छ, अतिक्रमण हुन्छ र कारबाही हुनसक्छ भन्ने सन्दर्भमा पनि यसमा व्यवस्था गरेको छ । मिडियाले यसलाई कार्यव्यवहारमा उतार्नु जरुरी छ भन्ने ध्यानाकार्षण गर्न चाहन्छु ।’ 

उनले प्रधानमन्त्री ओली डायलासिस गर्न गएपछि पनि आतंक मच्चाईएको टिप्पणी गरे । उनले आफूहरुले ‘मिडिया–एक्सेस’ राम्रो दिएको पनि स्पष्ट पारे । उनले भने,‘हामीले मिडिया एक्सेस दिएका छौं । केही सामरिक महत्वका बैठक र निर्देशनबाहेक हामीले मिडियालाई राम्रो पहुँच दिएका छौं । मिडियाले समिक्षा बैठकपनि लाईभ खिच्न पाएका छन् । प्रवन्ध गरिएको छ । गोप्य बैठक भए भनेपनि मिडियालाई ब्रिफ गरिएको छ ।’

उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुले खासगरी अस्पतालले हरेक दिन विहान १० बजेको हाराहारी र बेलुका ७ बजेको हाराहारीमा विज्ञप्ति निकालेर मिडियामार्फत जनतालाई जानकारी गराएको स्पष्ट पारे । तर, उक्त विज्ञप्तिमार्फत समाचार नछापिएको उनको गुनासो छ । 

अर्को एक प्रसंगमा उनले प्रधानमन्त्री ओलीकै सहमतिमा भारतले नयाँ नक्शा सार्वजनिक गरेको हो भनेर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्ति तथ्यहिन र गलत भएको थापाले टिप्पणी गरे । उनले भने,‘यो उहाँको चुनावी सनक हो ।

सन् १९९६, १९९७ मा देउवा प्रधानमन्त्री हुँदा भारतले यस्तै नक्शा सार्वजनिक गरेको थियो । त्यो बेला उहाँ बोल्नुभएन । के हामीले तपाईको सहमतिमा भएको रहेछ ? भनौं । प्रधानमन्त्रीले सर्वपक्षीय÷सर्वदलीय बैठकमा बजारमा यस्ता धेरै कागजहरु आउँछन्, त्यसको कुनै अर्थ छैन भन्नुभयो । परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ती निकालेर एकतर्फी नक्शा मान्दैनौं भनिसकेको छ । त्यो केवल कागजको खोस्टो हो । यसको खण्डन, मण्डन गर्न जरुरी छैन् । यसको पूर्णतः खारेज गर्नुपर्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप