बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कानुन सबैको लागि समान रुपमा लागू गर्न डीआईजी पोखरेलको निर्देशन

मङ्गलबार, ०८ पुस २०७६, २१ : २०
मङ्गलबार, ०८ पुस २०७६

काठमाडौँ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख (डीआईजी) विश्वराज पोखरेलले कानुन सबैका लागि समान रुपमा लागू गर्न मातहतका प्रहरी इकाइ प्रमुखहरुलाई निर्देशन दिएका छन् । 

मङ्गलबार नेपाल प्रहरी कलब भृकुटीमण्डपमा आयोजित एक कार्यक्रमका बीच इकाइ प्रमुखहरुलाई निर्देशनात्मक सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

कार्यक्रममा कानुन सबैका लागि समान रुपमा लागू गरिनुपर्ने, चिल्ला सुकिलामुकिलाहरुलाई गरिने व्यवहार र आम नागरिकमा गरिने व्यवहारमा कुनै भेदभाव नहुने कुरामा पोखरेलले बताएका थिए ।

२४ सै घन्टा आफ्नो परिवार समेत नभनी सधैँ डिउटीमा खटिने प्रहरीले किन अपेक्षा अनुरुपको जनविश्वास जित्न सकेन भन्ने कुरामा प्रकाश पार्दै उनले प्रहरी व्यवहार, प्रहरीको संगत, कानुनको गलत प्रयोग, भेदभावजन्य व्यवहार र अपारदर्शीता नै यसको मुल कारण रहेको बताए । 

काठमाडौँ रहेर आफ्नो क्यारियर बनाउँछु भन्ने अधिकारीले यस्ता कुरामा अनिवार्य ध्यान पुर्याउनुपर्ने र आफू मातहतको प्रहरीलाई समेत त्यसरी नै लैजानुपर्नेमा जोड दिए । 

‘यदि अब आउँदा दिनमा भनेअनुसारको कामकारबाही नगर्ने प्रहरी अधिकृतविरुद्ध आफू निर्मम रुपमा प्रस्तुत हुन बाध्य हुन्छु,’ उनले भने । 

राम्रो काम गर्ने,  सङ्गठनको इमेज बढाउने जवानलाई समेत स्यालुट गर्ने तर काँधैभरी फुलि लगाएका अधिकृतलाई फुलि लगाएकै भरमा चाहिँ कदापि सम्मान नदिने समेत उनले उद्घोष गरे । 

आफुले कोहिकसैलाई बिगार्न नचाहेको र क्यारियर बिगारिदिने इच्छा पनि नभएको तर आफुले भनेको निर्देशन पालना नगरी सङ्गठन र सरकारलाई आँच पुर्याउने क्रियाकलापमा संलग्न अधिकारीको हकमा आफूसँग क्षमा भन्ने शब्द नै नभएको समेत बताए । 

उनले भने, ‘जनमुखी सेवा प्रवाह गर्न र अनियमिततामा संलग्न नहुनका साथै अपराध न्यूनीकरणमा ध्यान दिन र त्यसो नगरिएमा आफू कारबाही गर्न समेत पछि पर्दिन् ।’

सुशासनको प्रतिवद्धता अगुवाइ गर्न सुशासनको आधारभूत कुराहरु कानुनी शासन, निष्पक्षता  पारदर्शिता, समानता, व्यवसायिक र इमान्दारीको विकास गर्नमा उनको जोड थियो । 

डीआईजी पोखरेल सोमबार मात्र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा सोमबार मात्र हाजिर भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप