बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयभित्र नकावधारीहरुद्वारा आक्रमण

आइतबार, २० पुस २०७६, २३ : ५७
आइतबार, २० पुस २०७६

एजेन्सी । भारतको दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा नकावधारीहरुले आक्रमण गर्दा दर्जनौ विद्यार्थी र शिक्षकहरु घाइते भएका छन् । आइतबार भएको आक्रमणमा परेर (जेएनयू) विद्यार्थी संघका अध्यक्ष ऐशी घोष लगायत थुप्रै विद्यार्थीहरु घाइते भएका छन् । नकाबधारी आक्रमणकारीहरूले विश्वविद्यालयभित्रका थुप्रै होस्टलहरुमा आक्रमण गरेका छन् ।

प्रत्यक्षदर्शीहरुका अनुसार एक्कासि ५० जनाभन्दा भन्दा बढी मानिसहरु जेएनयू क्याम्पसमा छिरेर आक्रमण गरेका थिए । आक्रमणकारीहरुले पोल र लाठी बोकेर आएका थिए । उनीहरू अधिकांशले अनुहारमा कपडाले बेरेका थिए । क्याम्पसमा प्रवेश गर्ने बित्तिकै उनीहरुले विद्यार्थीहरूलाई आक्रमण गरेका थिए । आक्रमण भएलगत्तै दिल्ली सरकारले घाइते विद्यार्थीहरुको उद्धारका लागि जेएनयूमा सातवटा एम्बुलेन्स पठाएका थियो । दिल्ली पुलिसले जेएनयूको मूल ढोकामा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको बीबीसीले जनाएको छ ।

सो घटना भएलगत्तै जेएनयुकै विद्यार्थीहरूको एउटा समूहले दिल्ली पुलिस हेडक्वार्टर घेराउ गरेका छन् । यद्यपि अहिले क्याम्पसभित्रको अवस्था नियन्त्रणमा आइसकेको समाचार एजेन्सी पीटीआईले दिल्ली पुलिसलाई उद्धृत गर्दै भनेको छ । घटना भएलगत्तै मानव संसाधन मन्त्रालयले जेएनयू रजिस्ट्रारलाई क्याम्पसको स्थितिको बारेमा तुरुन्त रिपोर्ट मागेको थियो । 

घटना भएलगत्तै गृहमन्त्री अमित शाहले आवश्यक कार्वाही गर्न निर्देशन दिएका छन् । भारतीय गृह मन्त्रालयले आइतबार ट्वीट गर्दै भनेको छ, ‘गृहमन्त्री अमित शाहले जेएनयू हिंसाको बारेमा दिल्ली पुलिस कमिश्नरसँग कुरा गरेका छन् र आवश्यक कारबाही गर्न निर्देशन दिएका छन्।’ 

त्यस्तै विदेशमन्त्री एस जयशंकरले पनि विश्विद्यालयभित्र भएको घटनाको भर्त्सना गरेका छन् । ट्वीट गर्दै विदेशमन्त्री जयशंकरले भनेका छन्, ‘जेएनयू घटनामा भएका तस्बिरहरु हेरेँ। म स्पष्ट रुपमा यो  हिंसाको भर्त्सना गर्दछु। यो पूर्णतया विश्वविद्यालयको संस्कृति र परम्परा बिरूद्ध हो ।’  एस जयशंकर पनि जेएनयूका पूर्व छात्र हुन् । 

काँग्रेस नेता राहुल गान्धीले पनि घटनाको भर्त्सना गरेका छन् । उनले ट्वीट गरेर भनेका छन्, ‘जेएनयूमा नकाबधारी आक्रमणकारीहरूबाट विद्यार्थी र शिक्षकहरूमाथि भएको  कुटपिटबाट मलाई स्तब्ध बनाएको छ। सत्तामा रहेका फासिस्टहरू बहादुर विद्यार्थीहरूदेखि डराएका छन्। आजको हिंसा उनीहरूको डरको प्रतिबिम्ब हो ।’

भाकपा (मार्क्सवादी)का नेता सीताराम येचुरीले पनि घटनाको भर्त्सना गरेका छन् । विद्यार्थी संघका अध्यक्ष ऐशी घोषले घाइते अवस्थामा बोल्दै गरेको भिडियोमा ट्वीट गर्दै उनले भनेका छन्, ‘यस भिडियोले देखाउँदछ कि आरएसएस र भाजपाले यस देशलाई के बनाउँदैछ। तर हामी तिनीहरूलाई त्यसो गर्न दिदैनौं ।’

समाचार एजेन्सी एएनआईले आक्रमणकारीहरूको भिडियो सार्वजनिक गरेको थियो । जेएनयू विद्यार्थी युनियनका अध्यक्ष ऐशी घोषले घाइते अवस्थामा बोल्दै गरेको सो भिडियो सोशल मीडियामा भाइरल भैरहेको छ । 
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि यस आक्रमणको भर्त्सना गरेका छन् भने दिल्लीका उपराज्यपाल अनिल बैजलले पनि क्याम्पस भित्र भएको हिंसाको निन्दा गरेका छन्। उत्तर प्रदेशका पूर्व मुख्यमंत्री अखिलेश यादवले पनि घटनाको भर्त्सना गरेका छन् । 

घटनामा सख्त घाइते भएर टाउकोमा चोट लागेका १८ जनालाई दिल्लीकै एम्स ट्रामा सेन्टरमा भर्ना गरिएको समाचार एजेन्सी एएनआईले जनाएको छ । कांग्रेस नेतृ प्रियंका गान्धीले ट्रामा सेन्टरमा पुगेर घाइतेलाई भेटेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप