बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जो आफूले पाएको सम्पूर्ण तलब-भत्ता जनताको लागि खर्चिन्छन्

बुधबार, २३ पुस २०७६, १९ : २५
बुधबार, २३ पुस २०७६

पोखरा । ‘नेताहरु स्वार्थी हुन्छन् । जनता सम्झिने भनेको त चुनावको बेला मात्रै हो ।’ हामीले सुन्दै/भन्दै आइरहेको शब्द हो यो । नेपाली राजनीतिमा हुने पनि यही नै हो । तर, गोरखा २ ‘ख’ बाट प्रमुख प्रतिपक्ष काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले भने प्रतिनिधिको हैसियतले राज्यबाट पाउने सम्पूर्ण सेवा सुविधा जनताको सुविधाको लागि खर्चिन्छन् ।

गण्डकी प्रदेशसभा सदस्यको रुपमा निर्वाचित भएर आइसकेपछि  ०७४ माघ ७ मा सपथ ग्रहण लिएपछि सांसद दवाडीले आफ्ना सम्पूर्ण सेवासुविधा जनताको लागि खर्च गर्ने बताएका थिए । 

सांसद दवाडीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर पाएका सेवा सुुविधा जनताको लागि खर्चिएको बताए । प्रदेशसभा सचिवालयबाट खातामा जम्मा भएको बैंकिङ विवरण सांसद दवाडीले सार्वजनिक गरेका छन् । 
प्रदेशसभा सचिवालयबाट सांसदहरु एक वर्षमा ६ लाख ८० हजार रुपैयाँ पाउँछन् । तर, दवाडीले जनप्रतिनिधिको हैसियतले पाएको रकममा व्यक्तिगत २ लाख ६० हजार रुपैयाँ थपेर एक वर्षमा ९ लाख ४५ हजार रुपैयाँ खर्चेका छन् । 

जनप्रतिनिधिको हैसियतले प्राप्त रकम आफ्नो निर्वाचन क्षेत्रमा आमा समूह,क्लब,विद्यालय, गम्भिर प्रकृतिको बिरामीको उपचारमा सहयोग, संघसंस्था र विद्यालयको भवन निर्माण लगायतका काममा खर्चेको उनले जानकारी दिए ।

‘जनताहरु चिसोले कठ्याग्रिँएर खुला आकाशमुनि सुत्दा म कसरी चैनसँग निदाउन सक्छु ? परीक्षा शुल्क तिर्न नसकेर विद्यालय छोड्न बाध्य समाजमा राज्यबाट लिएको सुुविधाले म कसरी खुसी रहन सक्छु ? पैसा तिर्न नसकेर बिरामी छट्पटिदै मर्दा म जनप्रतिनिधिको हैसियतले सुविधा भोग गरेर के काम ?’ उनले भने, ‘म चुप बस्न सकिन, त्यसैले मैले पाएको सम्पूर्ण सेवा सुविधा मेरो क्षेत्रका नागरिकहरुको लागि खर्च गर्ने निर्णय गरे ।’ 

सांसद दवाडीले अघिल्लो वर्षमा पाएको सुविधाको खर्च विवरण पनि सार्वजनिक गरेका छन् । जापानमा १८ वर्ष व्यवसाय गरेका दवाडी अहिले सामाजिक क्षेत्रमा क्रियाशील छन् । आफ्नो आम्दानीको १० प्रतिशत हिस्सा सामाजिक क्षेत्रमा खर्चिने उनको भनाई छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप