बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘असफल’ कार्यदललाई फेरि दिइयो काँग्रेस विवाद समाधानको जिम्मा

सोमबार, २८ पुस २०७६, १५ : २३
सोमबार, २८ पुस २०७६

काठमाडौँ । काँग्रेसमा पछिल्लो समय उत्पन्न विवाद समाधानको फेरि कार्यदललाई दिइएको छ । आइतबार साँझ सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको शीर्ष नेताहरुको छलफलले विवाद समाधानको जिम्मा कार्यदललाई दिएको हो ।

सभापति देउवाको पहलमा भएको छलफलमा देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य रमेश लेखक सहभागी थिए ।

पार्टीभित्र देखिएका विवाद समाधानका लागि उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वको कार्यदलले छलफल र सहमति गरी दिएको सुझावका आधारमा अघि बढ्ने शीर्ष नेताहरुबीच सहमति भएको छ । यद्यपि यसअघि १४औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभागको गठन, नेवि सङ्घको तदर्थ समिति निर्माण र तरुण दलको म्याद बढाउने विषयमा प्याकेजमा सहमति जुटाउन निधि र सिंह नेतृत्वको कार्यदल असफल भएको थियो ।

सहमति जुटाउन कार्यदलले असफल भएपछि  पुस ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पौडेल र सिटौला पक्षको उपस्थितिबिना महाधिवेशनको कार्यतालिका, कार्यविधि, केन्द्रीय कार्यसमिति र तरुण दलको म्याद थप, विभागको सङ्ख्या थप र विधानका केही दफा निलम्बन गर्ने निर्णय लिन पुगेको थियो ।

सोही विषयबाट काँग्रेसभित्र आन्तरिक विवाद चुलिएको छ । त्यसको समाधान गर्ने जिम्मेवारी त्यही असफल कार्यदललाई सुम्पिइएको छ ।

पार्टी राजनीतिसम्बन्धी ११ गतेको बैठकले लिएको निर्णय सच्याएर केन्द्रीय महाधिवेशन मङ्सिरमा गर्ने गरी फेरि महाधिवेशनको तालिका ल्याउन पौडेल पक्षले भनेको छ ।

देउवा भने केन्द्रीय महाधिवेशनको तालिका यथावत् राखेर तल्ला तहका अधिवेशनको तिथि मिति मात्र हेरफेर गर्ने पक्षमा छन् । यता क्रियाशील सदस्यताको छानबिन समिति निर्माण गर्न र विधानका दफा निलम्बनको निर्णय सच्याउने कुरामा देउवाले लचकता देखाएको पाइन्छ ।  

आइतबार साँझको छलफलबारे वरिष्ठ नेता पौडेलले रातोपाटीसँग भने, ‘११ गतेको निर्णय सच्चिनुपर्छ भन्ने नै मुख्य कुरा हो । नेपाली काँग्रेसको क्रियाशीलता वा प्रतिनिधित्व प्रणाली फेयर (निस्पक्ष) हुनुपर्छ, पारदर्शी हुनुपर्छ । यिनै कुरा हुन् हाम्रा । यसबारे कार्यदलका साथीहरु बसेर सहमतिको प्रयास गर्नुहुन्छ ।’

आफू स्वास्थ्य परीक्षणका लागि तत्काल भारततर्फ जानुपर्ने भन्दै कार्यदलले आन्तरिक गृहकार्य गरी सहमतिको खाका बनाउने र भारतबाट फर्किएपछि कार्यदलको सुझावका आधारमा सहमति कायम गरी अघि बढ्ने पौडेलले बताए ।

महामन्त्री खड्काले सहमति गरेर अगाडि बढ्ने कुरामा नेता त्रय एक मत भएकाले चाँडै विवाद समाधान हुने विश्वास व्यक्त गरे । 

उनले भने, ‘पार्टीको वृत्त हितका लागि नेताहरुबीच एकता आवश्यक छ । त्यो कुरा उहाँहरुले पनि फिल गर्नुभएको छ । विभाग, नेवि सङ्घ र तरुण दलका विषयमा न्यायोचित ढङ्गबाट अघि बढ्ने कुरा भएको छ । ११ गतेको केन्द्रीय समिति बैठकका निर्णय पनि औचित्य र आवश्यकताका आधारमा सच्याउन सकिन्छ ।’ 

महामन्त्री खड्काका अनुसार पौडेल स्वास्थ्य उपचारका लागि सोमबार दिल्ली जाने र कार्यदललाई उनी फर्किंदासम्म सहमतिमा पुग्न निर्देशन दिइएको छ ।

देउवा पक्षीय कार्यदका संयोजक निधि यतिबेला राष्ट्रिय सभा निर्वाचनका लागि जनकपुरमा केन्द्रित छन् । भोलि काठमाडौँ फर्किने र त्यसपछि कार्यदलबीच छलफल हुने निधिले बताए । 


यसरी भयो संवादहीनताको अन्य
पुस १३ गते देउवाले आफू पक्षीय नेताहरुलाई आफ्नो निवासमा बोलाएर पार्टीभित्रको धुवीकरणबारे परामर्श बैठक गरेका थिए ।

त्यसको भोलिपल्ट सभापति देउवाले आफ्नो समूहको परामर्शपछि पौडेलसँग कुराकानी गर्न उपसभापति निधिलाई उनको बोहोराटार पठाएका थिए ।

तर पौडेलले निधिसँगको भेटमा देउवाबाहेकसँग छलफल गर्नुको तुक नरहेको प्रक्रिया दिएका थिए । 

यता सिटौलाले पुस १५ गते पार्टीको विवाद समाधानका लागि  देउवाको निवासमै पुगेर ध्यानाकर्षण पत्र बुझाएका थिए ।

पत्रमा पुस ११ गतेको केन्द्रीय कार्यसमितिको निर्णय अविलम्ब सच्याउन माग गरिएको थियो । त्यसपछि पार्टीका तेस्रो तहका दुवै पक्षीय नेताहरुले पुस २० गते शीर्ष नेताबीच संवादको वातावरण निर्माणका लागि पहल थालेका थिए । 

आन्तरिक विवाद समाधानका लागि केन्द्रीय सदस्य चन्द्र भण्डारी र धनराज गुरुङको सुझाव तथा एनपी साउदको अग्रसरतामा युवा नेताहरुले देउवा र पौडेललाई भेटेर दबाब दिएका थिए ।

यस्तै पौडेल पक्षसँग तीन दिनसम्म पार्टी कार्यालय सानेपामा परामर्श बैठक गरेरका जिल्ला सभापतिले पनि संवादबाट समाधान खोज्न सुझाव दिएका थिए । 

उनीहरुले सभापति देउवा निवास पुगेर ५ बुँदे ज्ञापनपत्र पनि बुझाएका थिए । यता पार्टीमा चर्केको विवाद निरूपणका लागि आग्रह गर्न प्रजातान्त्रिक विचार समाजका पदाधिकारीले पनि अग्रसरता देखाए । 

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसी नेतृत्वको टोलीले शुक्रबार सभापति देउवाको ध्यानाकर्षण गराएको थियो । 

समाजले काँग्रेसभित्रको विवादबाट सरकारलाई लोकतान्त्रिक संस्था र उपलब्धिलाई कमजोर बनाउने काममा थप बल पुग्ने भन्दै पार्टीको बृहत् एकताका लागि तत्काल पहल गर्न देउवालाई आग्रह गरेको थियो ।
यस्तै केसी नेतृत्वको टोलीले आइतरबार वरिष्ठ नेता पौडेललाई पनि काँग्रसभित्रको भागबण्डाको राजनीति अन्त्य गर्न ध्यानाकर्षण गराएका थिए । 

उनले भनेका थिए, ‘पार्टीभित्रको ६०–४० मा म जाँदिनँ भनेर तपाईं (पौडल)ले घोषणा गर्नुपर्छ । कार्यकर्ता निराश छन्, प्रजातन्त्रप्रति आस्थावान् मान्छेलाई समेट्नुपर्छ ।’ हिजोको संवादका लागि केन्द्रीय सदस्य लेखकले मध्यस्थता गरेका थिए । उनले भने, ‘संवाद र वार्तालाई जारी राख्ने कुरा भएको छ  । सहमतिका लागि पहल भइरहेको छ । चाँडो गृहकार्य गरेर विवाद टुङ्ग्याउने भन्ने कुरा भएको छ ।’

 

 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप