बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंका तीन स्थानमा स्थानान्तरण गर्न सकिने आकाशे पुल बन्दै

बिहीबार, १६ माघ २०७६, १२ : २७
बिहीबार, १६ माघ २०७६

काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षभित्रै सक्नेगरी तीन स्थानमा स्थानान्तरण गर्नसक्ने आकाशे पुल निर्माण कार्य थालेको छ ।

अत्यधिक मात्रामा पैदलयात्रुको चाप हुने गरेको माइतीघर, जयबागेश्वरी र चाबहिल चोकमा निर्माणको तयारी भइरहेको छ । ती तीन स्थानमा निर्माण हुने पुल ढिलोमा चालू आर्थिक वर्षभित्रै सकिने गरी योजना बनाइरहेको कामपाले जानकारी गराएको छ । 

ती तीन स्थानसँगै माइतीघर, टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर र गौशाला चोकमा पनि स्थानान्तरण गर्न सकिने पुल निर्माण कार्य गर्ने कामपाको योजना छ । यस्ता खालको पुल निर्माणकै लागि कामपाले चालू आवमा रु पाँच करोड बजेट विनियोजन गरेको छ ।  

महानगरले बनाउन लागेका सार्न मिल्ने पुलमध्ये माइतीघरको पुरातत्व विभाग अगाडि निर्माण शुरु भइसकेको छ । त्यसैगरी चाबहिल र जयबागेश्वरीमा पनि यही महिनाबाटै पुल निर्माण अगाडि बढ्ने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए ।  

कामपाले अघिल्लो आर्थिक वर्षमै १० स्थानमा सार्न मिल्ने पुल निर्माण गर्ने बताए पनि हालसम्म तीन ठाउँमा मात्र पुल बन्ने निश्चित भएको हो । आकाशे पुल निर्माणसँगै दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन कार्यमा ठूलो सहयोग पुग्ने कामपाले जनाएको छ ।  

नयाँ बन्ने पुल एक ठाउँबाट अर्को ठाउँमा आवश्यकताअनुसार सजिलै स्थानान्तरण गर्न सकिनेछ । यस्तो पुल पहिलो पटक बन्न लागेको हो । यसअघि परीक्षणका रूपमा पुरानो बसपार्क अगाडि स्थानान्तरण गर्न मिल्ने पुल बनेको थियो । 

कामपाभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल चालू छन् । रत्नपार्कमा एउटा सब–वे छ । 

भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छन् । अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको कामपा आफैँले स्वीकारेको छ । काठमाडोँ उपत्यकामा नयाँ र पुराना गरी ३० वटा आकाशे पुल रहेका छन् ।  –रासस
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप