बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

वायु सेवा निगमले नेतृत्व पायो, कार्यकारी पाएन

संरचना फेरि फेरिने निश्चित, कमजोर ऐनले अस्थिर बनायो
आइतबार, १९ माघ २०७६, ११ : १६
आइतबार, १९ माघ २०७६

काठमाडौँ । नेपाल वायुसेवा निगममा फेरि संरचना परिवर्तन गरिने भएको छ । तात्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा पछि नयाँ कार्यकारी प्रमुख अध्यक्ष नरहने गरी संरचनागत परिवर्तन गरिएको हो । 

खरेलको राजीनामा सँगै सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई निगमको अध्यक्षको कार्यभार सम्हाल्नेगरी तोक्यो । सोमबारको मन्त्रिपरिषद् बैठकले भने सचिव अधिकारीलाई नै अध्यक्षको जिम्मेवारीमा निरन्तरता दिएको छ । पर्यटन सचिव अधिकारीलाई अध्यक्ष बनाएपछि उनी नै निगमको कार्यकारी प्रमुख हुने सम्भावना छैन । सोही कारण निगममा अध्यक्ष इतरबाटै कार्यकारी प्रमुख तोक्ने यसअघिकै व्यवस्था दोहोरिने निश्चित भएको हो । 

पर्यटन मन्त्रालयका प्रवक्ता सुरेश आचार्य पनि नेपाल सरकारको सचिव एउटा निगमको अध्यक्ष भएर जानसक्ने सम्भावना नभएको बताउँछन् । ‘नेपाल सरकारको एउटा सचिव जस्तो मान्छे एउटा संस्थानको अध्यक्ष भएर ‘फुलटाइम’ काम गर्न जाने भन्ने हुँदैन । उहाँ निगमको अध्यक्ष भए पनि सञ्चालक समितिको बैठकका मात्रै सहभागी हुनुहुन्छ, अब निगमको कार्यकारी प्रमुखमा अध्यक्ष बाहेकको आउँछ’ आचार्यले भने । तर त्यसबारे मन्त्रालय स्तरमा औपचारिक रूपमा कुनै छलफल नभएको उनको भनाइ थियो । 

ऐनमै भद्रगोल
नेपाल वायुसेवा निगम अहिले पनि २०१९ सालको कानुनमा अडिएको छ । नेपाल वायुसेवा निगम ऐन २०१९ ले सरकारलाई कार्यकारी प्रमुखकका रूपमा महाप्रबन्धक वा अध्यक्ष जोकोहीलाई तोक्नसक्ने असाधारण अधिकार दिएको छ । ऐनमै कार्यकारी प्रमुखबारे स्पष्ठ व्याख्या नभएपछि निगमको नेतृत्व कहिले महाप्रबन्धक त कहिले कार्यकारी अध्यक्षमा सर्दै आएको छ । सरकार परिवर्तन हुने बित्तिकै अघिल्लो सरकारको नियुक्तिलाई असफल देखाउन संरचना नै परिवर्तन गर्ने प्रवृत्ति देखिएको हो । 

यही प्रवृत्तिका कारण निगममा संरचनागत परिवर्तनको यो क्रम दोहोरिएको दर्जनभन्दा बढी पटक भइसक्यो । सुगतसत्न कंसाकार महाप्रबन्धक हुँदै गरेको अवस्थामा अध्यक्ष रहेका खरेललाई कार्यकारी अध्यक्षको रुपमा तोकेको थियो । अध्यक्षलाई कार्यकारी तोकेर कंसाकारलाई हटाए पनि अदालतबाट स्टेअर्डर लिएर कांसाकारले निष्क्रिय अवस्थामै आफ्नो कार्यकाल पूरा गरेका थिए ।

अबको विकल्प के ?
अध्यक्ष नै कार्यकारी प्रमुख बन्ने सम्भावना सकिएपछि अब सरकारसँग तीनओटा विकल्प रहन्छ । पहिलो, सञ्चालक समितिको उपाध्यक्षलाई कार्यकारी प्रमुख तोक्ने, दोस्रो सञ्चालक समितिका कुनै सदस्यलाई त्यस्तो जिम्मेवारी दिने वा तेस्रो महाप्रबन्धकको नियुक्त गर्ने । नेपाल वायुसेवा निगम अहिले पनि २०१९ कोे दफा ६ मा ‘निगमको कार्यकारी अध्यक्ष, कार्यकारी उपाध्यक्ष वा कार्यकारी सञ्चालक नियुक्त नगरेको अवस्थामा नेपाल सरकारले महाप्रबन्धक नियुक्त गर्नसक्नेछ’ भन्ने व्यवस्था गरिएको छ । तर अहिलेसम्म कुन संरचनाअनुसार अघि बढ्ने भन्ने निश्चित भइसकेको छैन ।

निगमको अध्यक्षको जिम्मेवारी पाएका पर्यटनसचिव अधिकारी पनि अहिलेसम्म यसबारे कुनै निर्णय नभएको बताउँछन् । ‘हामी छललफल गर्ने क्रममा छौं तर के गर्ने भन्ने निर्णय भइसकेको छैन, अब केही समयमै निर्णय होला’, अधिकारीले भने । नेपाल भ्रमण वर्ष चलिरहको छ, निगमको व्यवस्थापन आफैं भद्रगोल छ, अझै कार्यकारी प्रमुखपनि नहुँदा त असर गर्ला नि ? भन्ने प्रश्नमा सचिव अधिकारीले भने – ‘केही दिन प्रमुख नहुँदैमा केही असर गर्दैन ।’ 

अध्यक्ष तोके पनि सरकारले तत्कालको लागि निगमको व्यवस्थापनको जिम्मेवारी कसैलाई पनि दिएको छैन । तर तात्कालिन अध्यक्ष खरेल विदेश जाँदा निमित्तको जिम्मेवारी दिएर गएका गणेश बहादुर चन्दले निगमको दैनिक व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप