नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोग नगरौं: शिक्षामन्त्री पोख्रेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिन नहुने बताएका छन् । विश्व निकेतन माध्यमिक विद्यालय काठमाडौँको ७४औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले दक्षिण एशियाको पुरानो भाषाका रुपमा रहेको नेपाली भाषालाई बलियो बनाउँदै अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनुपर्ने बताए ।
‘अङ्ग्रेजी मात्र होइन, चिनियाँलगायतका अन्य भाषाको सिकाइ र प्रयोग गर्दै जानुपर्छ’ उनले भने, ‘अङ्ग्रेजी भाषाको प्रयोग बढ्दै जाँदा नेपाली भाषा कमजोर बन्दै जाने सम्भावना बढेर गएको छ ।’
मन्त्री पोखरेलले शिक्षाले देशको समग्र विकासको खाका तयार पार्ने बताउँदै शिक्षा क्षेत्रको विकास बिना सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराले सार्थकता नपाउने बताए । उनले नयाँ–नयाँ प्रविधिको उपयोग गर्न नसके मुलुकले विकासमा फड्को मार्न नसक्ने औँल्याउँदै राज्यले प्रविधिमैत्री शिक्षामा जोड दिएको बताए ।
‘पहिले÷पहिले शिक्षक र पुस्तकलाई ज्ञानको केन्द्र मानिन्थ्यो’ उनले भने, ‘प्रविधिको विकाससँगै अहिलेका विद्यार्थीले इन्टरनेटको प्रयोगले आफैं पनि धेरै सिक्न थालेका छन् ।’ उनले शिक्षालाई उत्पादनशील, सभ्य र सुसंस्कृत बनाउन विद्यालयलाई सबल बनाउनुपर्ने बताए । सामुदायिक विद्यालयमा सिकाइ केन्द्रीत सुधारकोे आवश्यकता रहेकामा उनले जोड दिए ।
मन्त्री पोखरेलले काठमाडौँ उपत्यकामा दश प्रतिशत सामुदायिक र ९० प्रतिशत निजी विद्यालय रहेको जानकारी दिँदै सामुदायिक विद्यालयले निजी विद्यालयलाई पछि पार्नुपर्ने बताए ।
‘अधिकांश सामुदायिक विद्यालय भौतिकरुपमा सबल छन्’ उनले भने ‘तर शैक्षिक गुणस्तर वृद्धि गर्न सकिरहेका छैनन् ।’ उनले गणित र विज्ञानको नजिता सन्तोषजनक आउन नसकेको बताउँदै सरकारले विज्ञान विषय सञ्चालनका लागि पर्याप्त बजेट विनियोजन गर्न लागेको जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले विश्व निकेतनमा अध्ययन गरेका विद्यार्थी राष्ट्रियस्तरमा प्रतिष्ठित बन्न पुगेको बताए । उनले कम्प्युटरलाई अतिरिक्त विषयका रुपमा अध्ययन गराउनेमा यस विद्यालय नेपालकै पहिलो भएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
-
साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’
-
इन्स्पेक्टरलाई ‘सचेत’ गराउने निर्णय, पैसा लिएको जवानले स्वीकारेनन्
-
स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
चैते धानले उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबिच छलफल, आवश्यक पहल गर्ने निर्णय
-
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश