बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अहिले सरकारको नेतृत्व परिवर्तनको कुरा उठाउनु उपयुक्त होइन : रघुजी पन्त

आइतबार, १८ फागुन २०७६, १७ : ४८
आइतबार, १८ फागुन २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्तले नेकपाभित्रको विवाद सचिवालय बैठकबाट सुरु भएकोले सचिवालयले नै समाधान गर्ने स्पष्ट पारेका छन् । 

उनले भने,‘हामी सचिवालयको निर्णयलाई पर्खिएर बसेका छौं ।’ उनले पार्टीभित्र पछिल्लो समय देखिएको परिदृश्य दुःखद् भएको टिप्पणी गरे । 

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पन्तले अहिले देखिएका समस्याहरुको समाधान पार्टीको सचिवालयको बैठकबाट यथाशक्य चाँडो गर्नसमेत माग गरे । उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट स्वास्थ्यलाभ गरेर डिस्चार्ज भएपछि अहिले देखिएका नेकपाभित्रका सबै समस्या हल हुने विश्वास दिलाए । 

उनले राष्ट्रिय सभा सदस्यपनि प्रधानमन्त्री हुनुपर्छ भनेर अहिले बेमौसममा संविधानको संशोधनको कुरा गरिएको भन्दै नेतृत्वको कडा आलोचना गरे । उनले भने,‘बास्तवमा यो सचिवालयको अपरिपक्वता थियो, हाम्रो सचिवालयले जनताको भावना नबुझेको कुराको परिणाम थियो, यो समयको आवश्यकता थिएन । त्यसैले यो एजेण्डा आउट भयो ।’ पार्टी उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा जाने सवालमा उनले निर्वाचनमा हारेकाहरु राष्ट्रियसभामा जान नहुने तर्क गरे । 

अहिले देखिएको पार्टी विवादले फुटको अवस्था नल्याउनेसमेत उनको दाबी छ । उनले थपे,‘पार्टीमा गुटबन्दी छ, त्यो भत्काउनको लागि दुई जना अध्यक्षले केपी ओलीजी अध्यक्ष हुँदा उहाँले पनि राम्रैसँग यो गुटबन्दी समाप्त गर्न भूमिका खेल्न सक्नुभएन । उहाँलेपनि फराकिलो छातीले सिंगो पार्टी र कार्यकर्ताहरुलाई बिना भेदभाव जिम्मेवारी दिने र उनीहरुलाई काखापाखा नगर्ने जुन काम गर्नुपर्दथ्यो, त्यो कामपनि गर्नुभएन । स्वयम् अर्का अध्यक्ष प्रचण्डजीबाट पनि एउटै पार्टी भैसकेपछि पूरानो पार्टीको मनोभावना त्यागेर एउटा नयाँ पार्टीमा जाउँ भन्नेमा उहाँको पनि भूमिका देखिएन । अहिलेसम्म के देखियो भने उहाँहरु दुई जनाले जे मा पनि भाग लगाउने,राष्ट्रियसभामा पनि भाग लगाउने । केन्द्रिय कमिटीका सदस्यहरु राख्दापनि योग्यताको आधारमा राखिएन् । बरु, भाग लगाउने ढंगले अघि बढियो । त्यसले पनि पार्टीमा असन्तुष्टी बढाएको हो । यो पनि एउटा कारण हो ।’

पन्तले पार्टी सञ्चालनमा नेकपाका अध्यक्षद्धय ओली र दाहालको कमजोरी देखिएको भन्दै कडा टिप्पणी गरे । 

उनले तत्काल सरकारको नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको पनि स्पष्ट पारे । ‘कतिपय मान्छेहरुको चाहना सरकारको नेतृत्व परिवर्तन होस् भन्ने होला, तर, अहिले नेतृत्व परितर्वनको कुरा उठाउनु अलिक उपयुक्त हुन्छजस्तो लाग्दैन । हो, निश्चयपनि सरकार यही ढंगले गयो र जनतासामू लोकप्रिय हुन सकेन भने सबैको विकल्प सोच्न सकिन्छ । सरकारको नेतृत्वको विकल्पपनि पार्टीले सोच्न सक्छ, पार्टीले नेतृत्वको विकल्पनि सोच्न सक्छ । र, हाम्रो पार्टीमा एकसे एक नेता हुनुहुन्छ । प्रधानमन्त्री हुनको लागि पनि, र पार्टी अध्यक्ष हुनको लागि पनि । प्रधानमन्त्री हुन चुनाव जितेर आएका तीन जना पूर्व प्रधानमन्त्रीहरु हुनुहुन्छ । त्यसकारण चिन्ता गर्नुपरेन । तर, अहिले एउटा त प्रधानमन्त्री उपचारको क्रममा हुनुहुन्छ । उहाँको अहिले स्वास्थ्यलाभको कामना गर्ने हो ।’

उनले अहिले नै मुलुकमा एउटा राजनीतिक अनिश्चितता र अस्थिरता उत्पन्न हुनेगरि प्रधानमन्त्री परिवर्तनको कुरा तत्काल उठाउनु उपयुक्त नहुने जिकिर गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप