अब त्रिविको सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट
–शरद शर्मा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अब विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ । नक्कली रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने भएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिवि प्राज्ञिक परिषद्बाट निर्णय गरी सो सम्बन्धी प्रक्रिया शुरु गरिएको जानकारी दिए ।
उनका अनुसार उक्त ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर जाँच गर्न पनि सकिने छ । त्यसको बीचमा छापसहितको सात प्रकारका विभिन्न फिचरको ढाँचा रहनेछ जसलाई ‘गुलुची’ भनिन्छ । त्यसैको आधारमा नै ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर पत्ता लगाइन्छ । ‘‘अहिले बजारमा त्रिविकै नक्कली ट्रान्सक्रिप्ट बनाउने गरिएको छ’, परीक्षा नियन्त्रक जोशीले भने, ‘‘त्यसलाई रोक्न सेक्युरिटी फिचर भएको ल्याउन लागिएको हो ।’ त्यो पानीमा नभिज्ने र नच्यातिने हुनेछ ।
सबैलाई एउटै किसिमको दिइने ती ट्रान्सक्रिप्टको बाहिरी गाता भने पाँच किसिमका हुनेछन् । अहिले वितरण हुने ट्रान्सक्रिप्ट समान छैनन् । अन्य सङ्कायभन्दा चिकित्सा र इञ्जिनीयरिङ विषयका भने फरक–फरक ट्रान्सक्रिप्ट छन् । सबैलाई समान खालको दिन सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट दिन लागिएको हो ।
परीक्षा नियन्त्रक जोशीले विसं २०७७ बाट परीक्षा दिने विद्यार्थीलाई उक्त ट्रान्सक्रिप्ट वितरण गरिने जानकारी र्दिए । ‘‘त्यसको ढाँचा तयारी गरिएको छ’ उनले भने, ‘‘अब केही दिनमा बोलपत्र आह्वान गर्ने तयारीमा छौं ।’ ट्रान्सक्रिप्टमा सम्बन्धित विद्यार्थीको फोटो हुन्छ । विसं २०१६ मा स्थापित त्रिविले विसं २०५४ बाट मात्र छापेर ट्रान्सक्रिप्ट दिन थालेको हो । नयाँ ट्रान्सक्रिप्टलाई हालको भन्दा बढी शुल्क तिर्नुपर्ने हुन्छ । वाक्लो गाता (फोल्डर) मा प्रोभिजनल सटिर्फिकेटसहित दिइने उक्त ट्रान्सक्रिप्ट अहिलेको भन्दा पाँच गुणा बढी शुल्क लाग्ने परीक्षा नियन्त्रक जोशीले बताए ।
पनिकाले तह अनुसारका रातो, हरियो, निलो, खैरो र बैजनी रङ्गका पाँच प्रकारका फोल्डरभित्र ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट राखेर दिनेछ । उनका अनुसार प्रविणता प्रमाणपत्र तहको लागि रु दुई हजार, स्नातकको रु दुई हजार २००, स्नातकोत्तर तह र एमफिललाई रु दुई हजार ५०० र विद्यावारिधीका लागि रु तीन हजार तोकिएको छ । अहिले त्रिविले स्नातक तहलाई रु ४५० र स्नातकोत्तर तहलाई रु ५०० शुल्क लिँदै आएको छ ।
यसैगरी त्रिविले चैत १५ गतेदेखि अब सबै सङ्कायका ट्रान्सक्रिप्ट २४ घण्टाभित्र उपलब्ध गराउने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले अब सबै सङ्कायको फाराम भरेको २४ घण्टाभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको परीक्षा नियन्त्रक जोशीले बताए । त्रिविले विसं २०७५ बाट त्रिवि परीक्षा व्यवस्थापन सूचना प्रणाली लागू गरेर मानविकी र शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र मन्त्री श्रेष्ठ र बिमस्टेकका महासचिव पाण्डेबिच भेटवार्ता
-
नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी
-
भारतमा बैतडीका दाजु बहिनीको शङ्कास्पद मृत्यु
-
४ सदस्यीय बक्सिङ टोली थाइल्यान्ड जाने
-
पक्राउ पुर्जी जारी भएपछि कैलाश सिरोहियाले भने– ब्याग, लुगाफाटो र औषधि गाडीमा हालेर आएको छु
-
सिरोहिया भेट्न कांग्रेस नेताको लर्को