आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

स्थापनाको ५१ औँ वर्ष : परिवर्तनका पक्षमा नेविसङ्घको भूमिका

शनिबार, ०६ वैशाख २०७७, १३ : ३६
शनिबार, ०६ वैशाख २०७७

विश्व इतिहासमा विद्यार्थी आन्दोलनको युगान्तकारी भूमिका दर्जनौँ छन् । नेपालमा समेत यस्ता थुप्रै युगान्तकारी परिवर्तन स्थापित भएको सर्वज्ञ छ । खासगरी विद्यार्थी आन्दोलनको औचित्य, भूमिका, योगदान र परिवर्तनकारी नेतृत्वको जति चर्चा गरे पनि कम हुन्छ । 

त्यसैको बलबुँतामा बुलेटदेखि ब्यालेटको राजनीतिक यात्राले विश्व राजनीतिमा नेपालले भिन्नै पहिचान बनाएको छ । नेपाली परिपेक्ष्यमा निष्पक्षरूपमा राजनीतिक र सामाजिक परिवर्तनहरूको समीक्षा गर्नुपर्दा नेपाल विद्यार्थी सङ्घको भूमिका स्वतः उल्लेख हुँदै आएको छ ।

विगत र वर्तमानमा नेपाली परिवेशको सामाजिक र राजनीतिक परिवर्तन र नेपाल विद्यार्थी सङ्घको नेतृत्व र भूमिकालाई समयको तुलामा तौलँदा न्यायोचित नै हुन्छ । विभिन्न समयमा नेपालमा रहेका विद्यमान कट्टरता, अराजकता, दुराग्रह र पञ्चायती व्यवस्था विरुद्ध लड्नुपर्ने अवस्था सिर्जना भएको हुँदा नेपाल विद्यार्थी सङ्घ विस २०२७ साल वैशाख ६ गतेका दिन स्थापना भएको थियो । स्थापना कालदेखि नै नेविसङ्घले अनवरत रूपमा लोकतान्त्रिक राज्य व्यवस्थाको निम्ति लड्दै आएको छ जहाँ सबै नागरिकले सुख, शान्ति र समृद्धि प्रत्याभूत गर्न पाउने अधिकार सुरक्षित हुन्छ ।

सङ्घर्षबाट प्राप्त शान्ति, संविधान, सुशासन, विद्यार्थीका अधिकार, प्रजातन्त्र, मौलिक अधिकार, न्याय र शून्य सहनशीलता लगायतका थुप्रै उपलाब्धिलाई संस्थागत गर्न नेविसङ्घ जहिले पनि अग्र पङ्क्तिमा उभिने गर्दछ ।
सङ्घर्ष र सहिदको बलिदानको प्रतीकका रूपमा रातो पृष्ठभूमिको बीचमा विश्व शान्तिको प्रतीक सेतो गोलाकारभित्र विद्यार्थीको पहिचान र सिर्जनाको प्रतीक कलम र चेतना र विद्रोहको प्रतीकका रूपमा मसाल क्रस भएको नेविसङ्घको झण्डाले थुप्रै क्रान्तिवीरहरूलाई राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकतालाई आदर्श रूपमा सञ्चार गरेको छ । 

नेविसङ्घ लोकतान्त्रिक संस्थाहरूको संस्थागत विकासको लागि सदैव कामना गर्दछ । विभिन्न कालखण्डमा नेविसङ्घले हरेक लोकतान्त्रिक आन्दोलनमा आफूलाई सहभागी गराउँदै आएको छ । १०४ वर्षे जहानिया राणा शासनको अन्त्य, २९  वर्षे पञ्चायती व्यवस्थाको अन्त्य, २३९ वर्षे राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको यात्रामा नेविसङ्घको अतुलनीय योगदान रहेको छ । विभिन्न चरणका आन्दोलन जस्तै २००७, २०३६, २०४६, र ६२र६३ मा नेपालका युवा तथा विद्यार्थी नेताहरूले अतुलनीय योगदान पुर्याएका छन् ।

आन्दोलनका क्रममा सहिद भएका छन् र हजारौँ अङ्गभङ्ग र घाइते भएका छन् । तिनकै रगतको डोब टेकेर आज मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रामा आइपुगेको हो । प्रजातन्त्र स्थापना अगावै राणाको प्रत्यक्ष शासन भएको बेलामा शैक्षिक मुद्दा उठाउन निकै कठिन थियो तर संस्कृत विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले पाठ्यक्रममा इतिहास, भूगोल, गणित र विज्ञानजस्ता विषय समावेश गरिनुपर्दछ भन्दै २००४ सालमा जयतु संस्कृतम् आन्दोलन गरेका थिए ।

नेपालको इतिहासमा यो आन्दोलन एउटा महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा स्थापित भएको छ । २०१५ सालमा भएको आम निर्वाचनमा नेपाली काँग्रेसको नेतृत्वमा गठन भएको प्रथम जननिर्वाचित सरकारले २०१६ सालमा त्रिभुवन विश्वविद्यालय गठन गरेको थियो ।

 वैज्ञानिक शिक्षाको अवधारणालाई प्रभावकारी बनाउने उद्देश्य अनुरूप अहिले नेपालमा १० वटा विश्वविद्यालय गठन भएका छन् । नयाँ शैक्षिक अवधारणा २०२८, तात्कालीन ६ बुँदे शैक्षिक माग र २०३६ साल लगायतको राजनीतिक यात्रामा नेविसङ्घले महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

विश्वपरिवेश अन्तर्गत प्रतिस्पर्धात्मक शिक्षा योजना र वैज्ञानिक शिक्षाका लागि नेविसङ्घले सदैव सरकार र सरोकारवालाको ध्यानाकर्षण गर्दै आएको छ । गरिब, पिछडिएको समुदाय र दुर्गमका विद्यार्थीहरूलाई निःशुल्क शिक्षाको लागि नेविसङ्घ लड्दै आएको छ र सरकारको नीति अन्तर्गत लागू पनि गराएको छ ।

समाजमा रहेका विभिन्न अन्धविश्वास, क्रियाकलाप, अन्याय र कुरीतिको विरुद्धमा नेविसङ्घ सदैव लड्दै आएको छ । नेविसङ्घ जहिले पनि न्याय, समानता, समावेशी र सानदार समाजको परिकल्पना गर्दछ जहाँ हरेक जात जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, वर्ण र समुदायका मान्छेले सम्मानजनक ढङ्गको जीवन यापन गर्न सकून् र त्यसैगरी दैनिक जीविकोपार्जनमा प्रत्यक्ष सरोकार राख्ने पेट्रोलियम मूल्य वृद्धि, दैनिक उपभोग्य सामानको मूल्य वृद्धि, कालो बजारीको विरुद्धमा नेविसङ्घ जहिले पनि लडेको छ । नेविसङ्घ उद्यमशील सहितको राजनीतिको पक्षमा सदैव उभिन्छ ।

सङ्क्षिप्त इतिहास 

वि.स. १९९१ मा भारतको बनारसमा अध्ययरत नेपालीहरूले नेपाल मा निरकुश जाहानीय राणा शासनको अन्याय, अत्याचारको विरुद्ध एक भई लड्न नेपाली छात्र सङ्घको स्थापना गरी प्ररम्भ गरे । यसै क्रममा वि।स। १९९७ साल माघ १६ गते त्रि–चन्द्र क्याम्पसका विद्यार्थी नेता गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा झुण्डाई राणा शासकले फाँसी दिए । यसरी विद्यार्थी आन्दोलनका क्रममा विस २००३ मा प्रजातन्त्र स्थापनाको प्रमुख लक्ष्य लिएर नेपाली काँग्रेस स्थापना भयो ।

नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा राणा शासन अन्त्य गर्ने आन्दोलनदेखि २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको घाँटी निमोठ्दासम्म विद्यार्थीहरू सङ्घर्षरत रहे ।
यसै क्रममा काँग्रेसको सिद्धान्त र नीतिलाई अवलम्बन गर्ने विद्यार्थी समुदायको आवश्यकता महसुस गरी राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र विद्यार्थी एकताको आदर्श बोकेर अनवरत सङ्घर्ष गर्ने तरुण विद्यार्थीले विद्यार्थीहरूको भेला भएर प्रजातन्त्रप्रति आस्था राख्ने तरुण विद्यार्थीहरूको साझा शैक्षिक सवालको बारेमा कुरा उठाउने एक विश्वसनीय सङ्गठनको आवश्यकता महसुस गरी २०२७ साल वैशाख ६ गते स्थापना भएको विद्यार्थी सङ्गठनको नाम हो– नेपाल विद्यार्थी सङ्घ । 

पृष्ठभूमि : क्रान्ति
सेतो गोलाकार : शान्ति
कलम : चेतना
मसाल : विद्रोह

पञ्चायतको विरुद्धमा सङ्घर्षरत अवस्थामा जेल परेका तरुणहरूले जेलभित्रै झण्डाको नक्सा तयार पारी २०२७ साल वैशाख ६ गते स्वयम्भु सतल वरिपरि भेला भएका र देशभरबाट आएका दुई सय प्रतिनिधिमाझ भर्खरै जेलबाट रिहा हुनुभएका नेपाली काँग्रेसका संस्थापक नेता श्री कृष्णप्रसाद भट्टराईले सम्मेलन उद्घाटन गर्नुभएको थियो ।
भोलिपल्ट दोस्रो दिन पशुपतिको राम मन्दिरमा भएको बन्दसत्रले सङ्गठनको घोषणापत्र विधान पारित गर्दै सङ्गठनको नाम नेपाल विद्यार्थी सङ्घ राख्ने निधो गर्यो । बीपीन कोइराला पहिलो अध्यक्ष निवार्चित हुनुभयो । 
प्रहरीको व्यापक धरपकडका बाबजुद पनि सम्मेलन सफल भएपछि गिरफ्तार गरिएका विद्यार्थीहरूलाई थुनुवा पुर्जी दिइयो । तर अदालतले विद्यार्थीहरूको पक्षमा फैसला दिएपछि सम्पूर्ण विद्यार्थीलाई रिहा गर्न कायर सरकार बाध्य भयो ।

नेविसङ्घ विशुद्ध कल्याणकारी समाजको परिकल्पनासहित गठन गरिएको विद्यार्थी सङ्घ हो । मूलतः नेविसङ्घ विद्यार्थीको हक, अधिकारका मुद्दा र गुणस्तरीय शिक्षामा सबै नेपालीको पहुँच हुनुपर्छ भनेर वकालत गर्दछ । मातृपार्टी नेपाली काँग्रेसको निर्देशनमा यसले लोकतन्त्रको रक्षाको निम्ति आन्दोलनको कार्यक्रम तय गर्दछ । 

मानव अधिकारको रक्षा, बलियो लोकतान्त्रिक संस्थाको परिकल्पना, सामाजिक न्याय, लैङ्गिक समानता र सुशासन जस्ता जनहितका विषय नेविसङ्घको प्राथमिकतामा पर्दछन् । लोकतान्त्रिक राज्यव्यवस्था र गुणस्तरीय शिक्षामार्फत समाजको आमूल परिवर्तन गरी समृद्ध नेपाल नेविसङ्घको उद्देश्य हो ।

जय नेपाल 

हरेक नेपालीको लागि जय नेपाल गर्वको विषय हो जसको अर्थ नेपालको जय भन्ने बुझिन्छ । महान सहिद शुक्रराज शास्त्रीले आफ्नो अन्तिम इच्छा स्वरूप प्रयोग गर्नुभएको वाक्य हो– जय नेपाल । यसलाई नेपाली काँग्रेस र सबै भातृ संस्थाहरूले एकअर्कामा अभिवादन आदानप्रदान गर्दा प्रयोग गर्दछन् ।

उपलब्धिहरू

नेविसङ्घको पहलकदमीमा निम्न मुद्दा र विषयहरूले ठोस रूप पाएका छन् ।
१) विद्यार्थीहरूले बैङ्क तथा वित्तीय संस्थामा शैक्षिक प्रमाणपत्र धितो राखेर बिनाब्याज ऋण ग्रहण गर्ने व्यवस्था ।
२) नेपाली काँग्रेसको सरकार छँदा र नेविसङ्घले नेतृत्व लिँदा यातायात सेवामा विद्यार्थीहरूलाई ४५ प्रतिशत सहुलियत ।

३) खुल्ला विश्वविद्यालयको अवधारणा लागू गर्ने व्यवस्था ।
४) ग्रेडिङ र सेमेस्टर प्रणालीको कार्यान्वयन ।
५) दलित, जनजाति, जेहनदार, विपन्न वर्ग र पिछडिएको क्षेत्रलाई शिक्षामा १० प्रतिशत छात्रवृत्तिको व्यवस्था ।
६) सबै प्रदेशमा अनिवार्य विश्वविद्यालय स्थापना ।
७) सबै प्रदेशमा अनिवार्य मेडिकल कलेज स्थापना हुने ।
८) सबै निर्वाचन क्षेत्रमा प्राविधिक शिक्षालय स्थापना हुने ।
९) हरेक नेपाली जनताको पहँुचमा वैज्ञानिक, सर्वसुलभ र रोजगारमूलक शिक्षा उपलब्ध हुने ।
१०) वि.स. २०३६ सालमा स्ववियुको स्थापना ।
११) नेविसङ्घले पञ्चायात विरुद्ध लडेर प्रजातन्त्र स्थापना, राजतन्त्रका विरुद्ध लडेर ६२÷६३ को आन्दोलनको नेतृत्व लिँदै मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश ।
१२) यसैको जगमा संविधानको निर्माण र सफलतापूर्वक संविधानको कार्यन्वयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको ।

अन्तर्राष्ट्रिय सम्बन्ध 

नेविसङ्घ इन्टरनेसनल युनियन अफ सोसलिस्ट युथको आजीवन सदस्य भई विभिन्न कन्फरेन्स, परिषद्, फेस्टिबल र सभामा सफलतापूर्वक सहभागिता जनाएको छ । नेविसङ्घले विभिन्न अन्तर्राष्ट्रिय मञ्च जस्तैः यूएन युवा सभा, मोडेल यूएन कन्फरेन्स, सांस्कृतिक क्याम्प र विभिन्न सेमिनारमा सहभागिता जनाउन अमेरिका, चीन, जापान, युरोप, ल्याटिन अमेरिका, अफ्रिका, एसिया लगायत अन्य ठाउँमा प्रतिनिधित्व गरेको छ ।
यसैगरी अन्तर्राष्ट्रिय मञ्चहरूमा हुने मानव अधिकार, दिगो विकास लक्ष, आतङ्कवाद विरुद्धको लडाइँ, समृद्ध विश्व निर्माण र उदार आर्थिक नीति र सफा वातावरण जस्ता थुप्रै अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत नेविसङ्घले सहभागिता जनाएको छ ।

विद्यार्थी आन्दोलनको उत्कर्ष 

२०२६ असार १२ मा त्रिभुवन विश्वविद्यालयको विद्यार्थी युनियनको चुनावमा प्रजातान्त्रिक पक्षका सम्पूर्ण पदाधिकारीहरू निर्वाचित भए । उक्त निवार्चित पदाधिकारीहरूमा अध्यक्ष देवेन्द्रलाल नेपाली, उपाध्यक्ष बालमकुन्द जोशी, महामन्त्री अर्जुननरसिंह केशी लगायत नेताहरू हुनुहुन्थ्यो ।

२३ असार २०२६ मा बसेको बैठकले त्रिविमा अध्ययनरत छात्र रामचन्द्र पौडेललाई बिनाकसुर नजरबन्धमा राखेकोमा खेद प्रकट गरी उहाँलाई तत्काल रिहा गर्न तत्कालीन शिक्षा मन्त्री बासुदेव ढुङ्गानासँग माग प्रस्तुत गर्यो । 
त्यसपछि ‘उत्तरी सिमानामा रहेका चेकपोस्टमा रहेका भारतीय अधिकारीहरू हटाउनु पर्छ, नवलपरासी जिल्लाको सुस्ता नेपालको हो र त्यसैले उत्तरी भागबाट बढ्दै आफ्नो सैनिक सुरक्षा र दक्षिण सिमाना रेखाङ्कन होस्’ भनी २०२६ असार २४ गते वक्तव्य जारी गर्यो ।

पञ्चे सरकारले यसलाई नै उपराध ठह्याई विद्यार्थीहरूलाई गिरफ्तार गर्यो । २९ असारमा त्रि–चन्द्र कलेजको कम्पाउन्डभित्र प्रवेश गरी प्रहरीले पाँच सयभन्दा बढी विद्यार्थीलाई लाठी प्रहार गरी घाइते बनायो । देशभरबाट यस घटनाको विरोधमा आन्दोलन भयो । श्रावण ७ गते राति ९ बजे गिरफ्तार भएका सम्पूर्ण विद्यार्थीलाई बिनासर्त रिहा गरियो ।

जननायक बीपी कोइरालाको मेलमिलापको नीतिले विदेश परस्त तत्वहरूमा हलचल, नेपाली काँग्रेसका क्रान्तिकारी योद्धाहरू नयापटेन यक्षबहादुर थापा र भीमनारायण श्रेष्ठलाई मारिएका कारण विद्यार्थी वर्गमा असन्तोष तथा आक्रोश र पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई दिएको फाँसी नै २०३५र०३६ सालको विद्यार्थी आन्दोलनको सूत्रपात एवं आधारशीला बन्यो ।

प्रजातन्त्र र मानव अधिकारमा विश्वास राख्ने विद्यार्थीहरूबाट पाकिस्तानको घोर अमानवीय कुकृत्वको विरोध जनाउन विभिन्न क्याम्पसका विद्यार्थीहरू सम्मेलित एक जुलुस राष्ट्रपति जनरल जियाउल हकको विरुद्ध नारा लगाउँदै लाजिम्पाटस्थित पाकिस्तानी दूतावासमा विरोध पत्र दिन लैनचौर पुग्यो । फाँसीका विरुद्ध नाराबाजी गर्दै अगाडि बढ्न लागेका प्रदर्शनकारीहरूलाई लैनचौरस्थित डेरी फर्म अगाडि लाठीधारी प्रहरीले रोके ।
विद्यार्थीहरूको जुलुस अगाडि बढ्ने प्रयास गर्ने वित्तिकै प्रहरी र विद्यार्थी बीच भिडन्त भयो । प्रहरीसँगको मुठभेडमा प्रहरीको आक्रमणमा धेरै विद्यार्थी घाइते भए । 

प्रहरीको लाठीबाट तितरवितर भएका विद्यार्थी अमृत क्याम्पसमा भेला भई निकै बेरसम्म दोहोरो ढुङ्गामुडा चल्यो । विद्यार्थीहरू अमृत क्याम्पसको कम्पान्डभित्र थिए भने प्रहरीहरू होटल मल्लको गेटनिर यो घटना अमृत क्याम्पसका सारा कर्मचारी प्रध्यापक एवं अन्य सामान्य विद्यार्थीहरूले हेरिरहेका थिए । 

प्रहरीद्वारा विद्यार्थीहरूमाथि ढुङ्गा बर्साउन थालेपछि सर्वसाधारण विद्यार्थीहरू पनि सामेल भई प्रहरीमाथि जवाफी ढुङ्गा बर्साउन थाले । निकैबेर यो भीषण युद्ध चलेपछि प्रहरीहरू ब्यारेक फर्किए । जियाउ कालका विरुद्ध नारा लगाउँदै रहेका प्रदर्शनकारी र प्रहरीबीच वीर अस्पतालनिर पुनः सङ्घर्ष चल्यो । दुवै स्थानमा भएको सङ्घर्षमा प्रहरीको निर्मम लाठी चार्जद्वारा धेरै विद्यार्थीहरू घाइते भए । यसको परिणाम स्वरूप विद्यार्थीहरूले विभिन्न क्याम्पसहरूमा हड्ताल गर्ने निहु पाई विभिन्न स्वरूपका आन्दोलन सुरु गरे । 

विद्यार्थी आन्दोलन अन्ततः व्यवस्था विरोधी आन्दोलनमा परिणत हुन पुग्यो । व्यापक प्रहरी दमनका बाबजुद पनि आन्दोलन दबाउन नसकेपछि राजा वीरेन्द्रबाट जनमत सङ्ग्रहको घोषणा भयो ।
२०३६ साल जेठ १० गते बिहीबार बिहान ६स्४५ बजे राजा वीरेन्द्रबाट भावि राजनीतिक व्यवस्थाको सम्बन्धमा नेपाल अधिराज्यभर बालिग मताधिकारको आधारमा सम्पूर्ण नेपालीको गोप्य जनमत लिने घोषणा गरे । जनमत सङ्ग्रह दुईवटा प्रश्न राखेर गरियो । हालकै पञ्चायत व्यवस्था कायम राखी त्यसमा सामाजिक सुधार गर्दै जाने ? त्यसको बदला बहुदलीय शासन व्यवस्था स्थापना गर्ने ?


देशको समग्र विकासको लागि बहुदलीय व्यवस्था अपरिहार्य छ भन्दै नेविसङ्घका विद्यार्थी एवं कार्यकर्ताहरू आआफ्नो जिल्ला, गाउँघरमा गई प्रचारमा लागेका थिए । नेपाली काँग्रेसको चारतारे झण्डालाई दलगत प्रचारहरू हुन्छ भनी कानुनी रूपमा निषेध गरिएको हुँदा बहुदलवादीहरूले घरघरमा निलो रङ्गका झण्डाहरू गाडिएका थिए । त्यस्तै निर्दलको पहेँलो थियो । 

तर अचानक षड्यन्त्रमूलक ढङ्गबाट निर्दल पक्ष विजयी भएको घोषणाले तमाम बहुदलवादी मर्माहित भए । त्यस किसिमको षड्यन्त्रप्रति घोर आपत्ति जनाउँदै नेविसङ्घले धाँधलीपूर्ण तरिकाबाट सरकारी स्रोत र साधनको दुरूपयोग गरी जबरजस्ती ढङ्गबाट निर्दललाई विजयी गराएको घोषणाप्रति घोर आपत्ति प्रकट गर्यो ।

सरकारी अराजकता विरुद्ध नेविसङ्घको खबरदारी

दुई तिहाइको सरकारले जनतालाई १५औँ योजनाको खाका, ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा, मन्त्रिपरिषद् पुनर्गठन, महँगी, भ्रष्टाचार, उदाङ्ग शासन, काण्डै काण्ड बाहेक सम्झन लायक केही दिएको छैन । 
सर्वोच्चको फैसला अटेरी गर्ने सरकार कत्तिको न्यायप्रेमी होला रु सरकारका प्रायः सबै निर्णय र विधेयक विवादित छन् । एउटा महिला नेत्री समेत नअटाएको नेकपा सचिवालय र उसको अधीनको सरकारलाई चुनावी सरगर्मीमा हुने चुनावी भाषणबाहेक अन्यत्र महिला अधिकार, समावेशिता जस्ता लोकतान्त्रिक कुराले सायदै महत्त्व राख्छ । 

सरकार नेकपाको मात्र नभई नेपाली जनताको हो भन्ने हेक्कासमेत छैन भन्दा सायदै अति उक्ति होला । वाइडबडी, न्यारोबडी, निर्मला बलात्कार तथा हत्या, भेनजुयला, सुनकाण्ड, बालुवाटार जग्गा, गुठी र मिडियासहित विभिन्न विधेयक, बजेट, लोकसेवा, विषादी, सर्लाही हत्या, आइफा लगायतका काण्डले गनाएको सरकारले नागरिकको स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा समेत अनियमितता र भ्रष्टाचार गर्न पछि नपर्नु निकै अमानवीय र अकल्पनीय कुरा हुन तर सत्य त्यही हो ।

 जनतालाई गुमराहमा राखेर सरकारले देशमा कम्युनिस्ट तानाशाहीवाद लाद्न खोजेको छ र त्यो आम नेपालीलाई कुनै पनि हालतमा स्वीकार्य हुँदैन । 

नेपालका कम्युनिस्टलाई जनताले देशको विकास गर्न दुई तिहाइ मत दिएका हुन् न कि कसैमाथि झुठा मुद्दा लगाउन । उनीहरू अन्ध राष्ट्रवादको नारा दिएर जनताको आँखामा छारो हाल्न सफल भए । 

सरकारमा छन्, राम्रो गर्नुपर्छ तर कम्युनिस्ट राज्य स्थापना गर्ने शैलीमा उनीहरू अघि बढ्न खोजेको भान हुँदैछ । जनताले ‘कम्युनिस्ट स्टेट’ बनाउन मत दिएका होइनन्, यो कुरा नेकपाले ख्याल गरोस् । होइन भने जनताको विद्रोहको ज्वालामा खरानी हुनु सिवाय अर्को विकल्प केही हुने छैन । यो अभियानमा नेपाली काँग्रेसले सदनबाट र नेपाल विद्यार्थी सङ्घले सडकबाट खबरदारी गर्नुपर्छ ।

सदनमा नेपाली काँग्रेसले जसरी नेकपा नेतृत्वको सरकारका सर्वसत्तावादी अभिष्ट पूरा नदिन सङ्घर्ष गरिरहेको छ नेपाल विद्यार्थी सङ्घले समेत सडकबाट सरकारका तमाम निर्णयलाई चुनौती दिएको छ । घुँडा टेकाएको छ । यो क्रम अझै सशक्तीकरण गर्न जरुरी छ ।

कोरोना भाइरस र नेविसङ्घको उत्तरदायित्व

अहिले विश्व कोरोना भाइरसबाट आतङ्कित भइरहेको छ । चिनको उहानबाट सङ्क्रमण फैलिएको कोरोना भाइरसले विश्वभर २१,९६,१०३ व्यक्तिमा सङ्क्रमण फैलाएको छ भने १,४९,०२४ जनाको मृत्यु समेत कोरोनाकै कारण भएको छ । 

नेपालमा यो लेख तयार गर्दासम्म ३० जना सङ्क्रमित भइसकेको अवस्था छ । जनजीवन बन्दाबन्दीका कारण अस्तव्यस्त छ । विश्वभरि नै फैलिएको यो महामारीको स्वास्थ्यमा पर्ने प्रभाव त छँदै छ । यसको सामाजिक, आर्थिक तथा राजनीतिक प्रभाव पनि पर्ने निश्चित छ । 

दिनहुँ जसो जनताहरू रहातको निम्ति सरकारको प्रतीक्षामा बसेका छन् । आफ्नो मुलुकभित्र प्रवेश गर्न उत्सुक लाखौँ नेपाली सीमानामा अलपत्र छन् । कतै माडले गुजारा हुँदैछ त कतै छाक काटेर । किसानको उत्पादन खेर जाँदैछ । अर्थतन्त्र ठप्प छ । मास्क र सुरक्षा उपकरणको अभावमै पनि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकार राष्ट्र सेवामा तल्लीन छन् । विदेशमा पढ्न गएको सन्ततीको जीवन र भविष्यको चिन्ता एकातर्फ छ र अर्कोतिर खाडीमा लकडाउनमा परेका पृयतमको सम्झना । 

विदेश जाँदा मागेको ऋणकै कारण भए पनि साहुजीले नेपालबाट सम्झना सन्देश पठाउँछन्, हाल खबर सोधपुछ गर्छन् तर सरकारले कुनै वास्ता गरेको छैन । 
सात समुद्र पारिका जनता र सीमापारका नेपालीलाई राष्ट्रियताले दुखाएको छ । नेपालको सरकार र सरकारको उदासिनताले दुखाएको छ । आफ्नो देशको सरकारले विदेशीलाई आफ्नै जहाजले उद्धार गर्दै व्यापार गरेको समाचार दुख्छ ।

 मुलुकभित्रका करदाताले आज आफूले तिरेको करको अस्तित्व र आफू करदाता हुनुको औचित्य माथि प्रश्न तेस्र्याएर बसेका छन् । 

सरकार पनि हात बाधेर कहाँ बसेको छ र रु सरकारले पटकपटक मन्त्रिपरिषद्को बैठक बसालेको छ । उच्च स्तरीय संयन्त्र बनाएर मात्र सरकार अघि बढेको छ । जिम्मेवार भएर अस्ति भर्खरै स्वास्थ सामग्री खरिदको भ्रष्टाचारको पाईपाई छनविन गर्दैछ । 

दुई तिहाइको जिम्मेवार सरकारले नागरिकको चिन्ता भएरै विश्व स्वास्थ सङ्गठनको मापदण्ड अनुसार नभएका स्वास्थ सामग्री समेत उपयोग गर्दैछ । लकडाउन सफल पार्न डन्डा बर्साएर भए पनि नागरिकलाई तह लगाएकै छ । दिन रात अर्बौंको रहात कोष खडा गर्दैछ ।

 मानवीयताभन्दा अगाडि सुशासन राखेको सरकारले एकद्वार प्रणालीबाट रहात दिन्छु भनेकै छ । भोकले व्याकुल किसान र मजदुरलाई पैदल हिँडडुल गर्न दिएकै छ । पत्रकार सम्मेलन र फेसबुक स्टेटस अपडेड गरेकै छ । चिन्ता व्यक्त गरेकै छ । नतिजा सटिक हँुदैन थाह हुँदाहुँदै रेपिड टेस्ट गरेको गर्यै छ । समय अभाव हुँदाहुँदै प्रयाप्त क्वारेन्टाइनको व्यवस्था गरेकै छ । 

अकोतिर लकडाउन कहिलेसम्म लम्बिने हो ठेगान छैन । भोकले कोरोनालाई पराजित नगर्ला भन्न सकिने अवस्था छैन । यो महामारीको कारणले विदेशमा बस्ने नेपालीहरूले पनि रोजगारी गुमाउनुपर्ने हुन सक्छ ।
किनभने विदेश जहाँ बहुसङ्ख्यक नेपालीहरू काम गरिराखेका छन् त्यहाँ पनि महामारी फैलिएको छ । यदि विदेशमा बस्ने आधा मात्र नेपालीले रोजगारी गुमाए भने पनि रेमिट्यान्स ९विप्रेषण० आधाले घट्ने छ । 

विप्रेषण घट्दा वैदेशिक रोजगारमा गएकाका परिवारलाई मात्र होइन देशलाई नै असर पर्ने छ । यदि ६ महिना मात्र पनि रोजगारी गुम्यो भने राष्ट्रले करिब चार खर्ब बराबरको लागत व्यहोर्नु पर्ने छ ।
घट्दो उत्पादन, बेरोजगारी तथा विप्रेषण र पर्यटकको कमीले गर्दा घट्ने विदेशी मुद्राको सञ्चितीले नेपालको अर्थ व्यवस्था निकै दयनीय अवस्थामा पुग्न सक्ने देखिन्छ । नागरिकको स्वास्थ्यका लागि अर्बौं बजेट खर्च गर्ने र उपचारको जिम्मा राज्यले नै लिने व्यवस्था भएका देशहरू समेत नराम्ररी सङ्कटको भुमरीमा फसिरहेका छन् भने नेपाल जस्ता कमजोर स्वास्थ्य सेवा प्रणाली रहेको मुलुकका लागि अतिरिक्त सङ्कट थपिएको छ । यस्तो बेला सिङ्गो नेपाल एक हुनु जरुरी छ । 


यस्तो सङ्कटासन्न अवस्थामा नेपाल विद्यार्थी सङ्घको भूमिका निश्चितै बढेर जान्छ । भोलिन्टेरिङका माध्यमले स्वास्थ सेवा प्रवाह र सचेतना प्रवाहमा टेवा पुग्नेमा दुई मत छैन । यसका निम्ति नेविसङ्घ अग्रसर हुन जरुरी छ । 

खाद्यान्न, औषधि, उपचार, अस्पताल आदि अभावका कारण सिर्जना हुन सक्ने सम्भावित खतराबारे सरकार बेलैमा सचेत हुन जरुरी छ । नागरिक र सरकारलाई सचेतना र खबरदारी गर्दै नेपाल विद्यार्थी सङ्घले कोरोना रोकथाम अभियानको नेतृत्व गर्नुपर्छ ।
नागरिकका तहमा आक्रोश उत्पन्न भएको समयमा विभिन्न विखण्डनकारी तत्त्वहरू सक्रिय हुन्छन् । नागरिकको आक्रोशलाई सहयोगमा बदल्न नेपाल विद्यार्थी सङ्घको भूमिका अहम् हुने देखिन्छ । 

नेपाल विद्यार्थी सङ्घको परिचालनले राहत वितरणमा उल्लेख सहयोग हुनसक्छ । सरकारी स्तरका घुम्ती पसलहरू प्रभावकारी हुनसक्छ । राज्यको आँखामा नपरेको विदेशबाट नेपाल फर्किएका नेपालीहरूलाई क्वारेन्टाइनसम्म डोर्याउन निकै सजिलो हुनसक्छ ।

अर्कोतिर लकडाउनको समयमा साइबर अपराध र घरेलु हिंसा बढ्दै गएको छ । त्रासदीपूर्ण अवस्थाको सहजीकरण गर्न र समाजको पुनः रूपान्तरण गर्न नेपाल विद्यार्थी सङ्घले तिनै तहको सरकार र नागरिकसँग सहकार्य गर्नसक्छ । सरकार र मुलुकलाई आवश्यक रहेको तथ्याङ्क सङ्कलन र व्यवस्थापन गर्नसक्छ । 

आफ्ना कार्यकर्ताको दक्षता र सङ्गठनको व्यापकताले आपतकालीन सेवा सञ्चालन र आम सरोकारका तमाम कुरामा नेपाल विद्यार्थी सङ्घको भूमिका हुनसक्छ । पीडितको आवाज सम्बन्धित राज्य संयन्त्रसम्म पुर्याउन सक्छ । यी तमाम विपद् व्यवस्थापनको कुरामा नेपाल विद्यार्थी सङ्घ टेवा पुर्याउन सामाथ्र्यवान छ ।
 युद्धमा भनिए जस्तै सबभन्दा राम्रो युद्ध त्यो हुन्छ, जुन नलडेरै जितिन्छ । के कोरोना विरुद्धको युद्धमा सरोकारवाला पक्षले नेपाल विद्यार्थी सङ्घलाई आवष्यक भूमिका दिन्छ त रु

अन्त्यमा
राजनीतिमा ऐसोसिएसनवाद हावी हुँदै गर्दा आज श्रमिक आन्दोलन, उपभोक्त आन्दोलन र नागरिक आन्दोलको धरातल कमजोर छ र अस्तित्व शून्य छ । नेपाल विद्यार्थी सङ्घले मिनि पाल्र्यामेन्ट र वाच डगको रूपमा स्वराज, मानव अधिकार, न्याय, सुशासन, विधिको शासन र पादर्शीताको वकालत समेत गर्दै जाँदा विद्यार्थी आन्दोलनकै माध्यमले सङ्घर्ष र सचेतनाद्वारा सुषुप्त भइसकेका किसान आन्दोलन, श्रमिक आन्दोलन, उपभोक्त आन्दोलन लगायतका नागरिक आन्दोलनको नेतृत्व अझै जिम्मेवारीपूर्वक निर्वाह गर्ने बेलासमेत भएको छ ।

बीपी कोइराला भन्नुहुन्थ्यो– जीवनको सार्थकता कुनै उद्देश्यमा निर्भर गर्दछ । हो, तपाईँको उद्देश्यपूर्ण यात्राका लागि नेविसङ्घ तपाईंको साथी र सहयात्री हुनेछ । तसर्थ गर्विलो इतिहास, गतिशील वर्तमान र सामाज रूपान्तरणसहित अनवरत यात्राको भविष्य हो नेविसङ्घ ।

राष्ट्रियताको संवद्र्धन, प्रजातन्त्रको स्थापना,आर्थिक समानता (समाजवाद), शैक्षिक रूपान्तरण र विद्यार्थी एकता, मानव अधिकार, प्रेस स्वतन्त्रता र सम्पूर्ण समाजमा रहेका विभेद अन्त्यका लागि २०२७ साल वैशाख ६ गते स्थापित नेपाल विद्यार्थी सङ्घको ५१औँ स्थापना दिवसको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना ।

कलम र मसालको झण्डा बोकेर आन्दोलनको मैदानमा ज्यान गुमाउनु हुने सम्पूर्ण सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, कोभिड–१९ विरुद्धको राष्ट्रिय र अन्तर्राष्ट्रिय लडाइँमा चिर स्मरणीय योगदान दिन सकौँ । हामी सबैलाई स्थापनाको स्वर्ण दिनको पुनः शुभकामना !
जयनेपाल !

(लेखक महर नेविसङ्घका पूर्वअध्यक्ष हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नैनसिंह महर
नैनसिंह महर
लेखकबाट थप