पुष्प व्यवसायीको दुःख : २० रुपैयाँको पनि व्यापार नभएपछि फूल फाल्न बाध्य
काठमाडौँ । पुष्प व्यवसायीहरुले उत्पादन गरेका फूलहरु धमाधम फाल्न थालेका छन् । जाडो सिजन सकिएर गर्मी सुरु हुँदै गर्दा फक्रिएका फूलहरु बिक्री नभएपछि फूलहरु चुँडेर फाल्न थालेका हुन् ।
पुष्प व्यवसायमा वैशाख महिना सबैभन्दा बढी फूल बिक्री हुने सिजन हो । विवाहको लगन प्रशस्त हुने र जाडोका कारण कक्रिएका फूलहरु फक्रेर उत्पादन समेत प्रशस्त हुने भएपछि वर्षभरी हुने बिक्रीको २० प्रतिशत व्यापार यही समयमा हुन्थ्यो । तर वैशाखको १० दिन बितिसक्दा २० रुपैयाँको पनि फूल नबिकेको रामकोटका पुष्प व्यवसायी उद्धवराज गिरीले बताए ।

‘वैशाख र असारको दुई महिनामामात्रै हाम्रो ३५ प्रतिशत व्यापार हुन्थ्यो । त्योमध्ये वैशाखमा २० प्रतिशत फूल खपत हुन्थ्यो, अहिलेसम्म एक थुँगा पनि बिक्री गर्न सकेका छैनौँ,’ उनले भने । बजारमा माग नै नभएपछि फूलहरु त्यतिकै फाल्नुपरेको उनको भनाइ थियो ।
गिरी १८ वर्षदेखि यो व्यवसायमा संलग्न छन् । उनले नेपालको बजारमा खपत हुने सबै फूल उत्पादन गरिरहेका छन् । तर १८ वर्षको अवधिमा यो क्षेत्रमा यति ठूलो संकट नदेखेको उनले बताए ।
‘भूकम्पको बेलामा केही असर गरेको थियो, तर त्यो १८–२० दिनको लागि मात्रै थियो । यो वर्ष चौपटै भयो । सरकारले सहुलियत नदिने हो भने यो घाटा उठाउन कम्तिमा पनि २ वर्ष लाग्छ,’ उनले भने । फूलको बिक्री नभएपछि कामदारलाई पनि पूरा तलब दिन नसकिएको उनको भनाइ छ ।

७७ सालमा आशै छैन
त्यसो त २०७७ सालमा अरु महिनामा राम्रो व्यापारको सम्भावना छैन । अहिलेको अवस्था हेर्ने हो भने असारसम्म पनि विवाहलगायतका शुभकार्य र ठूला पूजापाठ हुने सम्भावना छैन । साउन र भदौमा त्यस्तो शुभकार्य हुँदैन ।
यो वर्ष असोजमा ‘मलमास’ छ, त्यसैले त्यो महिनामा पनि शुभकार्य हुँदैन । कात्तिकमा दशैँ र मंसिरमा तिहार परेको छ । तिहार कात्तिकमा परेको भए राम्रो बिक्री त्योबेला हुन सक्थ्यो । तर मंसिरसम्म मौसमी फूल ओइलाइसक्ने पुष्प व्यवसायी गिरीको भनाइ थियो ।

‘अर्को राम्रो व्यापार हुने फागुनमा हो, यो वर्ष त्यो महिनामा विवाहको लगन नै छैन, त्यसैले यो वर्ष राम्रो व्यापारको आशै छैन,’ उनले भने ।
सरकारले राहत प्याकेजमा पुष्प व्यवसायीको माग सम्बोधन गर्नेमा उनी आशावादी छन् । उनी भन्छन्, ‘अरुजस्तै हामी पनि लोनमै चलिरहेका व्यवसायी हौँ । सरकारले राहत प्याकेज ल्याएर यो व्यवसायलाई उकास्यो भने अर्कै कुरा नत्र ७५ प्रतिशत व्यवसायी पलायन हुन्छन् ।’












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण