रुकुम घटना : राजनीतिक दाउपेचको मुद्दा नबनाइ निष्पक्ष छानबिन गर्न क्रान्तिकारी माओवादीको माग
काठमाडौँ । शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न नेकपा (क्रान्तिकारी माओवादी) ले सरकारसँग माग गरेको छ ।
गत जेठ १० गते भेरी नगरपालिका वडा नं ४ रानागाउँ जाजरकोटका नवराज वि.क. र चौरजारी नगरपालिका वडा नं ८ रुकुमकी किशोरी बीचको प्रेम सम्बन्धका कारण भड्किएको विवादमा नवराज वि.क., टीकाराम वि.क. र गणेश बुढामगरको हत्या भएको छ । सोही घटनामा परेका सञ्जु वि.क., लोकेन्द्र सुनार र गोविन्द शाही वेपत्ता अवस्थामा रहेका छन् ।
महासचिव, मोहन वैद्य ‘किरण’ द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आजको वैज्ञानिक युगमा पनि मनुवादी मान्यतामा आधारित जातपात तथा छुवाछुतको प्रभावका कारण नेपालमा यस प्रकारको घटना घटनु सामन्तवादी संस्कृति र पश्चगामी चेतनाको निकृष्ट अभिव्यक्ति हो । दलित र गैरदलितका बीचको प्रेम सम्बन्धका कारण पैदा भएको यस दुःखद घटनाप्रति हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ ।’
पार्टीले यस घटनालाई कसैको राजनीतिक दाउपेचको मुद्दा नबनाइ निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
यता, घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुन मगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
