आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

‘...के ल्याइदिउँ कोसेली भिर्ने झोलामा’ भन्दै आए कुवेतबाट नेपाली चेली (भिडियो)

बिहीबार, २९ जेठ २०७७, २१ : १५
बिहीबार, २९ जेठ २०७७

काठमाडौं । बिहिबार बिहान ११ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतबाट आइपुगेका नेपाली महिला सेना र पत्रकारहरुको बाक्लो उपस्थिति देखेर छक्क परे । सेनाले उनीहरुको नाम टिपोट गर्दै प्रदेश अनुसार छुट्टयाइएको बसमा चढाइरहेका थिए भने पत्रकारको बाक्लो भीडले उनीहरुतर्फ क्यामेराको लेन्स सोझ्याइरहेका थिए । फोटो भिडियो धेरै खिचेको देखेर कतिले मुख लुकाए भने कतिपयले भने– ‘कति धेरै फोटो खिच्नुपरेको, घरमै लगेर सजाउन लागेको हो कि क्या हो ।’

उनीहरुलाई सम्बन्धित प्रदेशको होल्डिङ स्टेशन पु¥याउन साझा बसको ब्यवस्था गरिएको थियो । उनीहरुको लागि ८ वटा साझा बस र नेपाली सेनाको एउटा बसको व्यवस्था गरिएको थियो ।  कुवेतबाट एउटै प्लेनमा एयरपोर्ट झरेका दिदीबहिनी आफ्नो प्रदेश अनुसारको बसमा छुट्टाछुट्टै चढ्दै गर्दा राम्रोसँग जानुहोला भन्दै विदाई गरिरहेका थिए । 

बसुन्धाराको एक पार्टी प्यालेसमा बाग्मती प्रदेशको होल्डिङ स्टेशन बनाइएको थियो, जहाँ बाग्मती प्रदेशमा ५७ जना र काडमाडौंमा बस्ने अन्य प्रदेशमा ११ गरी ६८ जनालाई लगिएको थियो । साझा बसको अगुवा सेनाको गाडी थियो भने सशस्त्र प्रहरीको पछुवा गाडीले स्कर्टिङ गर्दै उनीहरुलाई होल्डिङ स्टेशनसम्म पु¥याएको थियो । 

नेपाली सेनाको व्यवस्थापनमा प्रदेश १ देखि क्रमशः ७ वटै प्रदेशका लागि छुट्टाछुट्टै साझा बसको ब्यवस्था गरिएको थियो ।  एयरपोर्टबाट होल्डिङ स्टेशनतर्फ लागेपछि बाग्मती प्रदेश अन्तर्गतका जिल्लामा जाने महिलाहरु खुसी हुँदै बसमा गीत गाइरहेका थिए– ‘आँधी खोलामा, के ल्याइदिउँ कोशेली भिर्ने झोलामा...’

नेपाल सरकारसँग दुःखी, कुवेत सरकारसँग खुसी 

कुवेतमा विभिन्न माध्यमबाट घरेलु कामदारका रुपमा पुगेका महिनाहरु काठमाडौ उत्रिदासम्म पनि नेपाल सरकारसँग खुसी देखिएनन् । धेरैजसो गैरकानूनी रुपमा कुवेतमा काम गरेका उनीहरुलाई त्यहाँको सरकारले झन्डै २ महिनाअघि आममाफी दिएपछि छिट्टै घर फर्किने आशामा थिए । तर सरकारले उद्धार गर्लाकी भन्ने आशामा उनीहरुले त्यहाँको क्वारिन्टिनमा ४५ दिन बस्नुपरेपछि सरकारप्रतिको उनीहरुको रिस मरेको थिएन् । कतिपय प्रधानमन्त्री केपी शर्मा ओली अर्को पटक चुनावमा उठे भोट नदिने भनेर रिस पोखिरहेका थिए । 

नाम बताउन नचाहने सिन्धुपाल्चोककी एक युवतीले कुवेत सरकारले धेरै राम्रोसँग क्वारिन्टिननमा राखेको तर नेपाल सरकारले एयरपोर्टमा पानी समेत खान नदिएको भन्दै गुनासो गरिन् । उनले नेपाल फर्काउन कुवेत सरकारले गरेको पहलका लागि पनि धन्यवाद दिइन् । 

कुवेतमा क्वारिन्टिनमा टाइममा खाना, खाजा खान दिएको, बस्न राम्रो सुविधा दिएको बताउँदै नेपाल सरकारले कुनै कुरामा सहयोग नगरेको भन्दै उनको गुनासो थियो ।   नेपाल सरकारले उद्धार गर्ला कि भनेर डेढ महिनासम्म कुर्दा पनि उद्धार नगरेको भन्दै आक्रोस व्यक्त गरिन् । 

दोलखाकी लक्ष्मी श्रेष्ठ, ५ बर्षदेखि कुवेतमा घरेलु कामदारको रुपमा थिइन् ।  उनले कुवेत सरकारले सबैलाई क्वारिन्टिनमा सुरक्षित ठाउँमा राम्रोसँग राखेको बताइन् । अब नेपाल नै बस्नेगरी आएको बताउदै दोलखा घरमा जान हतारिएको बताइन् । 

रामेछाप दीर्घमाया सुनुवार १२ बर्षदेखि कुवेतमा घरेलु कामदारको रुपमा थिइन् । अवैध रुपमा काम गरेकी उनी कुवेत सरकारको आम माफीपछि घर फर्केकी छिन् । कुवेतमा अझै धेरै नेपालीहरु नेपाल फर्कने प्रतिक्षमा रहेको उनले बताइन् । त्यहाँ खान बस्न राम्रो सुविधा दिएको र नेपालमा आउन पनि प्लेन उपलब्ध गराएर सहयोग गरेकोमा कुवेत सरकारलाई धन्यवाद ज्ञापन गरिन् । 

कुवेतमा त्यहाँको एउटा स्कूलमा दुई सय देखि चार सय जनासम्मलाई राखेको उनीरुले बताए ।  होल्डिङ स्टेशनमा उनीहरुको ब्यक्तिगत विवरण लिदा अधिकांशको पासपोर्ट थिएन् भने कतिपयले आफ्नो जन्म मिति तथा आफ्नो स्थायी बसोबास भएको स्थानीय तहको नाम पनि भन्न सकेका थिएनन् । नेपाल आइपुगेका उनीहरुले नेपालमै रोजगारीको अवसर पाए फेरि विदेश नजाने बताए । 

कुवेत सरकारको सहयोगमा बिहिबार झन्डै ३ सय हाराहारी नेपाली महिला कामदारलाई उद्धार गरेर नेपाल ल्याइएको हो । 
हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप