सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भाटभटेनी ग्रुपले भाटभटेनी मन्दिरमा २ करोड लागतमा सत्तल निर्माण गर्ने, उप–प्रधानमन्त्रीले गरे शिलान्यास

सोमबार, १५ असार २०७७, १३ : ४८
सोमबार, १५ असार २०७७

काठमाडौं– भाटभटेनी ग्रुपले नक्सालस्थित भाटभटेनी मन्दिर परिसरमा २ करोड लागतमा सत्तल निर्माण गर्ने भएको छ ।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भाटभटेनी माताको मन्दिर परिसरमा स्वर्गीय बुबा बृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन निर्माण गर्न लागेको जानकारी दिए ।

उक्त भवनको शिलान्यास उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार बिहान गरेका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले मीनबहादुर गुरुङ धन मात्रै होइन मन पनि भएको व्यक्ति भएको र मीनबहादुरजीलाई धन र मन दुवै भएको व्यक्तिका रुपमा चिन्ने गरेको भन्दै प्रशंसा गरे ।

उनले सरकारले व्यवसायीलाई सहजीकरण गरिदिने बताउँदै भने, “हाम्रापुर्खाहरुले निर्माण गरेको चिजहरुलाई नष्ट हुनबाट हामीले नै बचाउनुपर्छ । हाम्रा पुर्खाहरुले धेरै कुरा निर्माण गरे । हाम्रा कारणले नष्ट हुँदैछन् । तर मीनबहादुरजीले त्यसको निर्माण गर्दै हुनुहुन्छ । सत्तलमा विगतमा जस्तो कोही यात्रुहरु आएर नबसे पनि यसले संकेतको काम गर्छ । दृष्टान्तको रुपमा यो सत्तल रहन्छ । हाम्रा पुराना चिजहरुको संरक्षण हामी आफैँले नै निर्माण गर्नुपर्ने हुन्छ ।”

त्यसैगरी, मन्त्री पोखरेलले कोरोनासँग भाग्ने नभइ लड्ने बताए । “कोरोनासँग भाग्ने होइन लड्ने हो । यो आयो भनेर त्रसित भएर भाग्यौं भने कहाँ जाने ?आज हामी भागौंला भोलि भोकमरीबाट मर्ने अवस्था आयो भने के गर्ने ? हामीले हाम्रो आर्थिक गतिविधि बढाउनैपर्छ । कोरोनासँग लड्नु व्यक्ति व्यक्तिको जिम्मेवारी हो । हामी बचेर देश र समाजलाई बचाउने हो ।”

कार्यक्रममा प्रदेश सांसद नारायण सिलवालले पनि गुरुङले गरेको योगदानको चर्चा गर्दै प्रसंशा गरेका थिए ।उक्त वडाका अध्यक्ष रमेश डंगोलले पनि भाटभटेनी मन्दिरमा सत्तल निर्माण गरिनु राम्रो काम भएको बताएका थिए ।
उक्त सत्तल भाटभटेनी ग्रुपका अध्यक्ष मीनबहादुर गुरुङ र भाइपहल गुरुङले निर्माण गर्न लागेका हुन् ।

गुरुङले भने, “भाटभटेनी मन्दिरकै नामबाट हामीले सुपर मार्केट्स खोल्यौं,” उनले भने, “अहिले देशका विभिन्न स्थामा भाटभटेनी खुलेका छन् । यहाँको मन्दिरको हामीले पहिलेदेखि नै संरक्षण गर्दै आएका थियौं । अहिले यसको आडैमा नयाँ भवन बनाउन लागिएको हो ।”

सोमबार नयाँ भवन निर्माणका लागि भूमि पुजन गर्दै उनले भने, “यस मन्दिरको संरक्षण गर्ने दायित्व हाम्रै हो । त्यसैले यहाँ भवन निर्माणको काम थालिएको हो ।”

काठमाडौंमा बाँच्न र भविष्य सुनिश्चित गर्नका लागि आफूले सुरु गरेको व्यवसाय अहिले यहाँसम्म विस्तार भएको अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले बताएका थिए । उनले भने, “अहिले हामीसँग सात हजार भाइ बहिनी आवद्ध हुनुहुन्छ । निर्माणका लागि १५ सय व्यक्तिहरु आवद्ध हुनुहुन्छ ।”


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप