बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बारामा वडा अध्यक्षसहित ६५ जनामा कोरोना, भोलिदेखि अनिश्चितकालीन निषेधाज्ञा

आइतबार, ३२ साउन २०७७, १८ : ४३
आइतबार, ३२ साउन २०७७

रौतहट । एकैदिन वडा अध्यक्षसहित ६५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै बारामा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । दैनिक रुपमा संक्रमित बिरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

आम नागरिकको जीवनरक्षा तथा रोग संक्रमण नियन्त्रण गर्न आज बसेको कोभिड समन्वय समितिको बैठकको निर्णयअनुसार भोलि बिहान ५ बजेदेखि लागू हुनेगरी अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरिएको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम बाराका सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको सिडिओ रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

आईतबारको रिपोर्टअनुसार संक्रमित पुष्टि हुनेहरु जीतपुर सिमरा उपमहानगरपालिकामा ३५ जना, महागढीमाई नगरपालिकामा १७ जना, करैयामाई गाउँपालिकामा १० जना र कलैया उपमहानगरपालिकामा ३ जनामा कोरोनाको संक्रमण देखा परेको सिडिओ पण्डितले  जानकारी दिए ।

साउन २९ गते बिहिबार १०८ जनाको नमूना सङ्कलन गरी परीक्षण गर्न काठमाडौं पठाइएकोमा त्यसमध्ये ३५ जनामा कोरोनाको संक्रमण देखिएको सिमरा क्वारेन्टाईनका डा.दिपक गिरीले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंबाट आएको रिपोर्टमा महागढीमाई नगरपालिका वडा नम्बर ३ र १० गञ्जभवानीपुर टोलका १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । वडा नम्बर ३ का वडा अध्यक्षमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

त्यस्तै वडा नम्बर १० का  १ जना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ्गमा परेका ९७ जनाको स्वाव  पठाइएकोमा आईतबार  १७ जनामा संक्रमण पुष्टि भएको छ भने ७ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप