बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

५ हजार आइशोलेशन बेड तयारीबारे अन्यौलमा काठमाडौं महानगर

शुक्रबार, ०५ भदौ २०७७, १४ : ३३
शुक्रबार, ०५ भदौ २०७७

काठमाडौं । भदौ ३ गतेबाट एक साताभित्र ५ हजार आइशोलन बेड तयार पार्ने घोषणा गरेको काठमाडौं महानगरपालिका अन्यौलमा परेको छ ।  काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेका बेला आइसोलेशन बेडको अभाव हुँदा पनि राजधानीका स्थानीय तहले यसबारे पर्याप्त तयारी गरेका छैनन् । २ दिनअघि एक सातामा ५ हजार बेड तयार पार्ने घोषणा गरेपनि केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर मात्र काम अघि बढ्ने भएकोले केही समय लाग्ने महानगरपालिका प्रवक्ता ईश्वरमान डंगालले बताए । 

उनले यसबारे अहिलेसम्म कुनै तयारी नभएको उल्लेख गरे । २ दिन पहिले नगरपालिका मेयर फोरमको अध्यक्षको तर्फबाट महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ५ हजार आइशोलेशन तयार पार्नेबारे विज्ञप्ति जारी गरेपनि हालसम्म प्रक्रिया अघि नबढेको उनले बताए । 

उनले भने– ‘त्यसको लागि तयारी गर्नुपर्ने छ । अहिले सुरु भएको छैन । कतिपय कुराहरु, केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहहरुबीच समन्वय हुनुपर्ने हुन्छ । केन्द्र सरकारले २ ठाउँमा सुरु गर्ने भनेको छ । केन्द्र सरकारले अहिलेसम्म १ हजार वटा बेड तयार गरिसकेको छ । प्रदेश सरकार र महानगरपालिका मिलेर ५ हजार बेड तयार पार्ने भनेको छ त्यो पनि उपत्यकाका सबै स्थानीय तह मिलेर गर्ने भन्ने कुरा भएको छ । किनभने यो उपत्यकालाई नै कोरोना मुक्त गर्न सक्यो भने सफल हुन्छ ।’ 

उनले महानगरपालिकाले मात्र गरेर नहुने भएकोले सबै स्थानीय तह मिलेर गर्नुपर्ने काम भएको उल्लेख गरे । २ दिन पहिला विज्ञप्ति जारी गर्दै मेयर शाक्यले भनेका थिए– ‘संघ प्रदेश र उपत्यका नगरपालिकाहरुको सम्बन्ध र सहभागितामा आगामी एक हप्ताभित्र करिब ५ हजार क्षमताको एकिकृत आइशोलेशन निर्माण गरिने ब्यहोरासमेत जानकारी गराउन चाहन्छु ।’  तर कहाँ कसरी आइशोलेशन बेड तयार पार्ने भन्नेमा महानगरपालिकाले कुनै गृहकार्य सुरु गरेको छैन ।  

महानगरपालिका अहिले जनचेतना जगाउने, पसल व्यवस्थापन गर्ने, डिस्इन्फेक्सन स्प्रे गर्ने जस्ता काममा व्यस्थ रहेको छ ।   दैनिक २ सय हाराहारीको दरमा संक्रमित भेटिन थालेको काठमाडौं उपत्यकामा अहिले ६ सय ४७ आइसोलेशन बेड रहेको स्वास्थ्य मन्त्रालयको भनाई छ । अहिलेको गतिमा उपत्यकामा संक्रमणदर बढ्दै जाने हो भने क्वारेन्टाइन र आइशोलेनका लागि समस्या पर्ने स्वास्थ्य मन्त्रालयको भनाई छ । अस्पतालमा खडा गरिएका बेडहरु भरिएपछि थप गर्ने तयारी रहेको मन्त्रालयको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप