मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

दशैंमा रिलिज होला त लक्ष्मीपूजा र लक्का जवान ?

बुधबार, ०७ असोज २०७७, १५ : ४९
बुधबार, ०७ असोज २०७७

काठमाडौं । कोरोनाको कहरका कारण विगत ६ महिनायता फिल्म हल बन्द छन् । अब कहिले खुल्छन् अझै टुंगो छैन । बिस्तारै सबै क्षेत्र खुल्दै गएकोले अब फिल्म क्षेत्र पनि खोल्नुपर्ने माग फिल्मकर्मीले गर्दै आएका छन् । 
हाम्रो ठूलो पर्व दशैं आउन एक महिना पनि बाँकी छैन । सरकारले अहिले फिल्म क्षेत्रमा लगाएको प्रतिबन्ध हटायो भने दशैंसम्ममा फिल्म रिलिजको वातावरण बन्ने अनुमान फिल्मकर्मीहरुले गरेका छन् । त्यसैले पनि उनीहरु फिल्म क्षेत्र खुलाउने कसरतमा छन् ।

दशैं नेपाली फिल्मले राम्रो व्यापार गर्ने पर्व पनि हो । फिल्म क्षेत्र खुलिहाले दशैंमा फिल्म रिलिज गर्नुपर्छ भनेर केही फिल्मकर्मी लागेका छन् । ती मध्येका एक निर्माता शोभित बस्नेत पनि हुन् । शोभित फिल्म ‘लक्ष्मीपूजा’ यही दशैंमा रिलिज हुने बताउँछन् । समिर मियाँको निर्देशन रहेको फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।

निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । उनले पारिवारिक प्रेमकथा रहने फिल्ममा दशैं र तिहारको परिवेश देखाइनेछ । फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायाँकन रहेको छ ।

सरकारले फिल्मक्षेत्रको प्रतिबन्ध हटाए ‘लक्ष्मी पूजा’ दशैंमै रिलिज गर्ने शोभितले बताए । त्यस्तै निर्देशक शिवहरी पौडेल पनि फिल्मी रिलिजको माहोल बन्यो भने ‘लक्का जवान’ दशैं, तिहारमा रिलिज हुने बताउँछन् । हाँस्य कलाकार शिवहरीको यो निर्देशनमा डेब्यु फिल्म हो । गत चैत्र २१मा सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म कोरोनाको कहरका कारण रोकिएको थियो ।

प्रदर्शनको वातावरण बने दशैं–तिहारमा, नत्र चैत्रमा ‘लक्क जवान’ सार्वजनिक प्रदर्शनमा ल्याइने फिल्मका निर्देशक शिवहरी पौडेलले बताए । ‘हामी फिल्म रेडी गरेर बसेका छौ’ पौडेलले भने– ‘प्रदर्शन वातावरण मिल्यो र सुरक्षित हुने महशुस हुने बितिकै रिलिज गर्छाै ।’

‘लक्का जवान’मा किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा शिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेतलगायतको अभिनय देख्न सकिन्छ । किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा सुरेन्द्र केसी र दिपेन्द्र खनिया हुन् । ‘लक्का जवान’ केही पाका उमेरका मानिसहरुको कथाको बिषयमा बनेको कमेडी फिल्म हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप