शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

वामदेवको संवैधानिक नियुक्ति ‘होल्ड’ मा

बिहीबार, २० कात्तिक २०७७, ०६ : ०७
बिहीबार, २० कात्तिक २०७७

काठमाडौं - सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन हुन नसक्दा नेकपा नेता वामदेव गौतमको राष्ट्रिय सभा मनोनयनविरुद्धको रिट सुनुवाइ अनिश्चित बनेको छ । अदालतमा नियमित सुनुवाइ प्रक्रिया नहुँदा गौतमविरुद्धको मुद्दा हेर्दाहेर्दैमा रोकिएको छ ।

गौतमको मुद्दा तत्काल किनारा नलाग्दा संवैधानिक नियुक्ति रोकिएको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले नियुक्ति ‘होल्ड’ मा परेको हो । सर्वोच्चको प्रारम्भिक सुनुवाइले गौतमलाई राष्ट्रिय सभामा मनोनयनको विषयमा संवैधानिक प्रश्न उठाएपछि संवैधानिक नियुक्ति ‘होल्ड’ भएको हो ।

१६ असोजदेखि संवैधानिक इजलासमा हेर्दाहेर्दैमा रहेको सो मुद्दा एक महिनादेखि स्थगन भएको छ । सर्वोच्चका न्यायाधीश र कर्मचारीमा कोरोना भाइरस संक्रमणको कारण नियमित प्रक्रियाका मुद्दा प्रभावित हुँदै आएको छ ।

गौतमको सांसद पदसम्बन्धी विवादमा पहिलो दिन रिट निवेदक पक्षका कानुन व्यवसायी र महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहस गरिसकेका छन् । 

बाँकी रहेका कानुन व्यवसायीको बहसका लागि पेसी तोकिए पनि कोरोनाका कारण सुनुवाइ प्रभावित हुँदै आएको छ । गौतमका तर्फबाट बहस सकिएपछि रिट निवेदकका तर्फबाट कानुन व्यवसायीहरूले प्रतिउत्तर दिएपछि मुद्दाको सुनुवाइ सकिनेछ । तर, कोरोनाका कारण लामो समयदेखि सुनुवाइ प्रभावित भएको छ । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप