बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुटवलका सडक डिभाइडरमा हरियालीसँगै विभिन्न प्रतिमा राखिने

बुधबार, २४ मङ्सिर २०७७, १६ : ५८
बुधबार, २४ मङ्सिर २०७७

बुटवल । पछिल्लो समय विभिन्न सहरका सडक किनारमा हरियाली अनिवार्यजस्तै छ । तर अब बुटवलको सडक  डिभाइडरमा हरियालीसँगै विभिन्न प्रतिमा राखिने भएको छ ।  बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको हरियाली प्रवर्द्धन र सहरी सौन्दर्यकरणमा यहाँका वित्तीय संस्था, सामाजिक संघसंस्था तथा क्लबहरुले साझा प्रतिबद्धता जनाउँदै यस्ता प्रतिमा राख्ने भएका हुन् । 

मुख्य सहरका सडकमा रहेका डिभाइडरलाई सजाएर हरियाली बनाइने छ । पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा पर्ने सडक डिभाइडरमा हयिालीसहित बुद्धका प्रतिमा, रामापिथेकश र उजिरसिंहका आकृति राख्न उपमहानगरसँग ती संघसंस्थाले सहकार्य गर्ने भएका हुन् ।  एक समारोहका बीच यहाँका वित्तीय संस्था, सामाजिक संघसंस्था तथा क्लबहरुले साझा प्रतिबद्धता जनाएका हुन् ।

सडक डिभिजन कार्यालय बुटवल र बुटवल–वेलहिया व्यापारिक मार्ग विस्तार आयोजना कार्यालय मणिग्रामको जिम्मेवारी र क्षेत्राधिकारमा रहेका बुटवल उपमहानगरपालिका क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्ग र पूर्व–पश्चिम राजमार्गको डिभाइडरमा हरियाली प्रवर्द्धन गरिने छ । बुटवलमा पर्ने राजमार्ग खण्डको सडकको बीचको भागलाई एकरुपतामा अनेक सुन्दरता कायम गर्नेगरी सहकार्यको सम्झौता भएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए । 

गोलपार्कदेखि योगिकुटीसम्म र लुम्बिनी प्रादेशिक अस्पताल चोकदेखि कृषि उपज थोक बजार केन्द्र चोकसम्म राजमार्गको बिचमा रहेको मेडियनमा फुलका बिरुवा लगाइने छ भने त्यहीँ व्यवस्थित रुपमा बुद्ध प्रतिमा, रामापिथेकशको आकृति र कर्णेल उजिरसिंहको शालिक राखिने छ । हरियालीका लागि रोपिने बिरुवा, फुल, तारजाली र प्रतिमा सबै एकै साइजका हुनेछन् । 

बुटवलको हरियाली प्रवर्द्धनका साथै ‘बुद्धावलीको बुटवल’ भनेर चिनाउने प्रयासमा यहीँका सामाजिक संघसंस्था, वित्तीय संस्था र क्लबहरुको सहकार्य मोडलको नयाँ अभियान सुरु गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।  हरियाली प्रवर्द्धनसहितको सहरी सौन्दर्यकरणको यो नौलो अभियानमा उपमहानगरका तर्फबाट महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेल र सम्बन्धित संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गर्दै अभियान अगाडि बढाएका छन् । 

गोलपार्क चोकदेखि बहुमुखी पथसम्म सहस्रनगर युवा क्लब, बुटवल बहुमुखी पथदेखि क्याम्पस गेटसम्मको ‘बल्क ए’मा हिमालय बैंक लिमिटेड, ट्राफिक चोकदेखि दुर्गा मन्दिर उत्तरसम्म लायन्स क्लब अफ बुटवल मिलनले सहरी हरियाली प्रवर्द्धनका काम गर्नेछन् ।  यस्तै दुर्गा मन्दिर उत्तरदेखि दुर्गा मन्दिर दक्षिणसम्म सनराइज बैंक लि, सहिद पार्क (महेन्द्रपार्क) देखि प्रादेशिक अस्पताल गेटसम्म बुटवल सुनचाँदी व्यवसायी संघले सौन्दर्यकरणमा सहकार्य गर्ने भएको छ । प्रादेशिक अस्पताल गेटदेखि भुड्की चोकसम्मको क्षेत्रमा लायन्स कल्ब अफ बुटवल डाइनामिक लेडिज, भुड्की चोकदेखि बसपार्कसम्म लायन्स कल्ब अफ बुटवल क्षितिज तथा मिलनचोकदेखि पश्चिमाञ्चल फाइनान्ससम्मको क्षेत्रमा रोटरी क्लब अफ बुटवल डाउनटाउनले सहकार्य गर्ने भएका छन् । 

प्रादेशिक अस्पताल इमरजेन्सी गेटदेखि होटल राजदुतसम्म लायन्स क्लब अफ बुटवल देउराली, बस टर्मिनल परिसरमा शाइन रेशुङगा बैंक र लक्ष्मीनगर प्रवेशद्वार अगाडिदेखि कस्तुरी मिष्ठान्न भण्डारसम्मको क्षेत्रमा समाजसेवी नरिश्वर पौडेल, भुवनेश्वरी टोलविकास संस्था र पश्चिम नेपाल बस व्यवसायी प्रालिले सहकार्य गर्नेगरि सम्झौता भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप