बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा बुटवलमा  अधिकारकर्मीद्वारा प्रदर्शन

बिहीबार, २५ मङ्सिर २०७७, १४ : ५१
बिहीबार, २५ मङ्सिर २०७७

बुटवल । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा देशका विभिन्न भागमा मानव अधिकारवादी संघसंस्थाले विविध कार्यक्रम आयोजना गरेका छन् ।
यसै क्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा बिहीबार प्लेकार्ड प्रदर्शन गरेको छ । बुटवलको पुष्पलाल पार्कमा अधिकारकर्मीहरुले ४५ मिनेटसम्म प्रदर्शन गरेका हुन् ।

आणविक अस्त्र रहेसम्म यो प्यारो धर्तीमा कोही सुरक्षित छैन भन्ने मूल नारासहित आणविक होडमा रहेका देशहरुलाई दबाब दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको अभियन्ताहरुको भनाइ छ ।
बुटवलमा भएको कार्यक्रममा सहभागी अधिकारकर्मीहरुले ‘युद्ध रोकौँ, शान्ति प्रवर्द्घन गरौँ,’ ‘युद्धमा सबैको क्षय हुन्छ, शान्तिमा सबैको जय हुन्छ,’ ‘युद्ध निषेध, शान्ति विशेष’, ‘आणविक अस्त्र चाहिँदैन, शान्ति मास्न पाईदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

शान्ति समाजका रुपन्देहीका पूर्वसभापति तथा केन्द्रीय अनुशासन विभागका सदस्य लालहरी पाण्डेले शान्तिप्रेमीहरु फेरि एकजुट बन्नुपर्ने बेला आएको बताए । उनले अब युद्ध गरेर कोही पनि अघि बढ्न नसक्ने भन्दै आणविक अस्त्र त्याग्न शक्तिशाली मुलुकहरुलाई आग्रह गरे । 

सभापति डिपी खनालले नेपाल आणविक हतियार निषेध सन्धिको हस्ताक्षरकर्ता भएकाले सो सन्धिलाई शीघ्र अनुमोदन गर्नुपर्ने बताए ।
हरेक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झना स्वरुप यो दिवस मनाइन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप