सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा एक हप्तामा एक लाख ३७ हजारले पाए कोरोनाको खोप

बुधबार, ०१ पुस २०७७, २२ : ३९
बुधबार, ०१ पुस २०७७

एजेन्सी । बेलायतमा कोरोनाभाइरस विरुद्धको खोप अहिलेसम्म एक लाख ३७ हजारभन्दा बढीले लगाउन पाएका छन् ।  पहिलो खोप लगाएको एक हप्ताको अवधिमा यति मानिसले खोप लगाएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका हुन् । 

बेलायतमा अघिल्लो हप्ताको मङ्गलबार ९० वर्षीय एक वृद्धालाई खोप लगाइदिएर कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको थियो । औपचारिक रूपममा कोरोनाविरुद्धको खोप लगाउने कार्य पनि बेलायतबाटै शुरु भएको हो । बेलायतको सरकारी निकायले फाइजर बायोएनटेकको खोप आपत्कालीन अवस्थाका सङ्क्रमितलाई प्रयोग गर्न स्वीकृति दिएको थियो ।

स्वास्थ्य तथा सामाजिक सेवा विभागले दिएको जानकारीअनुसार देशभरी अहिलेसम्म एक लाख ३७ हजार ८९७ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ । तीमध्ये झण्डै एक लाख आठ हजार जना इङ्ग्ल्याण्डका मात्रै रहेका छन् । प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाविरुद्धको खोप दिने कार्य उत्साहजनक रूपमा अगाडि बढीरहेको बताउँदै यसलाई “राम्रो शुरुआत”को रूपमा लिन आह्वान गरेका छन् । 

बेलायतले चार करोड खोप माग गरिसकेको छ भने त्यसले दुई करोड मानिसलाई पुग्ने छ । यो खोप हरेक व्यक्तिलाई २१ दिनमा दुई पटक दिनुपर्ने खोप निर्माताहरूको सिफारिस छ । पहिलो चरणमा आठ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने बेलायतको योजना रहेको पनि प्रधानमन्त्री जोनसनले जानकारी दिएका छन् ।

बेलायतमा सबैभन्दा बढी प्राथमिकता ८० वर्ष माथिका ज्येष्ठ नागरिक र स्वास्थ्यकर्मीहरूलाई दिइएको छ भने अन्यलाई प्राथमिकता निर्धारण गरेर दिइने भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएर बेलायतमा अहिलेसम्म झण्डै ६५ हजारको मृत्यु भएको छ भने कूल झण्डै १९ लाख मानिस सङ्क्रमित भएका छन् ।  विश्वभरी अहिलेसम्म सात करोड ३९ लाख ६७ हजारभन्दा बढी सङ्क्रमित हुँदा १६ लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप