सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक उपलब्धि जोगाउन लाखौंले बलिदानी दिनुपर्ने अवस्था आउन सक्छः बाबुराम भट्टराई

सोमबार, २७ पुस २०७७, १८ : ०३
सोमबार, २७ पुस २०७७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान उपलब्धि जोगाउन फेरि लाखौंको बलिदानी गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।  संविधानसभा सदस्य मञ्च नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘संविधानको मर्मविपरित प्रतिनिधिसभा विघटन र अबको निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा भट्टराईले  ‘अहिलेको संविधानको हत्या गरेर लोकतन्त्र जोगिँदैन। म त यसपछिको अवस्था झनै डरलाग्दो देखिरहेको छु। उपलब्धि जोगाउन फेरि लाखौंको बलिदानी गर्नुपर्ने अवस्था आउनसक्छ। अहिलेसम्मको उपलब्धि धरापमा परेको छ ।’ 


पूर्वप्रधानमन्त्री समेत रहेका उनले अहिलेको संविधान जनताले जन्माएको संविधान भएकाले यसलाई जोगाउनुपर्ने बताए । उनले भने, ‘नेपाली जनताले पहिलोपटक बनाएको संविधान हो अहिलेको संविधान। यसअघिको संविधान राजा–महाराजाले बनाएका थिए। हामीले बच्चा त जन्मायौँ । हुर्काउने काम पनि हाम्रै हो ।

प्रधानमन्त्री ओलीले संविधानलाई मुर्छित बनाए । उनले भने,  ‘ओलीले संविधानलाई मुर्छित बनाएका छन् । यसलाई बचाउने जिम्मा हाम्रो हो ।’ लोकतन्त्र नै चुनाव भन्ने बुझाइ गलत भएको उनको भनाइ छ ।   ‘केहीले लोकतन्त्र नै चुनाव भन्ने अर्थमा लिएको बुझिन्छ । चुनावमात्रै लोकतन्त्र होइन। संसारभरका तानाशाहले आफ्ना गल्ती ढाकछोप गर्नका लागि चुनावको कुरा गर्छन् । तानाशाहहरुले यसरी नै लोकतन्त्रको हत्या गरेका छन् । प्रतिनिधिसभाको विघटन गरेका छन्। चुनावमा गएर लोकतन्त्र ट्रयाकमा आउँछ भनेर बुझ्नु गलत हुन्छ’ उनले भने ।

अहिले संसद् विघटनमात्रै नभएर लोकतन्त्रकै विघटन भएको भट्टराईले बताए । उनले भने,  ‘यो प्रतिनिधिसभा विघटनमात्र होइन । प्रकारान्तरले लोकतन्त्रकै विघटन हो । यो प्रतिगमनतर्फको यात्रा हो ।’ इतिहासबाट मिल्काइनुपर्ने पात्रको हातमा सत्ता चलाउने जिम्मेवारी पुग्दा अहिलेको अवस्था आएको उनको बुझाइ छ ।

भट्टराईले भने,  ‘क्रान्ति परिवर्तन भएको कालखण्डमा परिवर्तनकारीहरुले नै नेतृत्व पाउनुपर्ने हो तर त्यसो हुन सकेन। संविधानसभापछिको नेतृत्व गलत मानिसको हातमा गयो। अहिले पहिरो गइसकेको छ। अझै खतरापूर्ण हुने अवस्था देखिन्छ। ओलीले प्रतिशोध साँध्न चाहेका छन्।’

क्रान्ति पूरा नै गर्न नपाउँदा परिवर्तनलाई संस्थागत नै गर्न नसकिने अवस्था बनेको उनले बताए ।भट्टराईले भने, ‘अब हामीले नयाँ हिसाबले अगाडि बढ्नु जरुरी छ। यस्तो भइराख्छ भनेर हामी चुप लागेर बस्यौं भने झनै असहज हुन्छ। अब जनतालाई सडकमा उतारेर अर्को जनआन्दोलन जरुरी छ।’

आफूले केपी ओलीको भस्मासुर प्रवृत्तिको पहिलेदेखि नै विरोध गर्दै आएको उनले बताए। उनले भने, ‘यो फासीवादी प्रवृत्ति, भष्मासुर प्रवृत्ति हो मैले भनेको भनै छु । आखिर  त्यही त गयो ।’ केपी बाहेकका राजनीति शक्ति एक ठाउँमा नआएसम्म आन्दोलन सफल नहुने उनको भनार्इ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप