केन्द्रीय संस्करण
अर्थतन्त्र

बैङ्कले दिने ब्याजदर फेरि घट्यो, अब कुन बैङ्कमा कति पाइन्छ ?

person explore access_timeमाघ १, २०७७ chat_bubble_outline0

काठमाडौं । वित्तीय संस्थामा तरलताको अवस्था सुधार हुँदै गएको अवस्थामा वाणिज्य बैङ्कहरुले भने निक्षेपमा दिने ब्याजदर झनै घटाएका छन् । यसअघि नै ज्यादै कम भएको मानिएको बचत तथा मुद्दती निक्षेपको ब्याजदर माघ महिनादेखि लागु हुनेगरी झनै घटाइएको हो । राष्ट्र बैङ्कले प्रत्येक महिनाका लागि लागु हुने ब्याजदर महिना सुरु हुनुभन्दा अघि नै प्रकाशित गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेसँगै माघ महिनाका लागि सबैजसो बैङ्कहरुले यस्तो ब्याजदर प्रकाशन गरेका हुन् ।

अहिले बैङ्कहरुले प्रकाशित गरेको ब्याजदर तालिका अनुसार बचत खातामा न्यूनतम १.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । त्यस्तै, १ वर्षे मुद्दती व्यक्तिगत निक्षेप खाताका लागि ५ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।

कुन बैङ्कको ब्याजदर कति ?

बैङ्कहरुले प्रकाशन गरेको ब्याजदर तालिका अनुसार बचत निक्षेपमा सबैभन्दा कम ब्याजदर नेपाल एसबीआई बैङ्कको छ । यो बैङ्कले बचत खातामा १.५ प्रतिशतदेखि ३ प्रतिशतसम्म मात्रै ब्याज दिने जनाएको छ । त्यस्तै नबिल बैङ्क र एनआईशी एशिया बैङ्कले बचतमा खातामा दिने ब्याजदर १.५ प्रतिशत देखि ३.५ प्रतिशतसम्म रहेको जनाइएको छ ।

सनराइज बैङ्क र बैङ्क अफ काठमाण्डूले २ प्रतिशतदेखि ३.५ प्रतिशतसम्म तथा नेपाल इन्भेष्टमेन्ट बैङ्क, हिमालयन बैङ्क, ग्लोबल आईएमई बैङ्क, एभरेष्ट बैङ्क, कुमारी बैङ्क, लक्ष्मी बैङ्क, सानिमा बैङ्क, माछापुच्छ्रे बैङ्क, प्रभु बैङ्क, सिद्धार्थ बैङ्क र मेगा बैङ्कले बचत खातामा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेका छन् ।

उता, नेपाल बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कले २.५ प्रतिशतदेखि ४ प्रतिशतसम्म, सिटिजन्स बैङ्कले २.५ प्रतिशत देखि ४.५ प्रतिशतसम्म, नेपाल बंगलादेश बैङ्कले २.७५ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याजदर तोक्दा प्राइम कमर्शियल बैङ्क, सिभिल बैङ्क र एनसीसी बैङ्कले ३ देखि ५ प्रतिशत ब्याजदर तोकेका छन् ।

सेञ्चुरी कमर्शियल बैङ्कले यसअघि तोकेको ३.५ देखि ४.५ प्रतिशतको ब्याजदरमा कुनै फेरबदल गरेको छैन । कृषि विकास बैङ्कले भने न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बचत निक्षेपमा सर्वाधिक ब्याजदर भने एनएमबि बैङ्कको छ । एनएमबि बैङ्कले बचत निक्षेपमा ३.१ प्रतिशतदेखि ५.१ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

उता, मुद्दती निक्षेपतर्फ सबैभन्दा कम ब्याजदर नेपाल एसबीआई बैङ्कको छ । सो बैङ्कले १ वर्षे मुद्दती निक्षेपमा ५ प्रतिशत मात्रै ब्याज दिने उल्लेख गरेको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ६ प्रतिशत र एनसीसी बैङ्कको ब्याजदर ६.२५ प्रतिशत छ । त्यस्तै, नबिल बैङ्क, एभरेष्ट बैङ्क, सानिमा बैङ्क, एनआईशी एशिया बैङ्क, ग्लोबल आईएमई बैङ्क र प्रभु बैङ्कले ६.५ प्रतिशत तथा नेपाल बंगलादेश बैङ्क र कुमारी बैङ्कले ६.७५ प्रतिशत ब्याज दिने जनाएका छन् ।

१० बैङ्कहरुले भने एकवर्षे मुद्दति निक्षेपमा ७ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन् । नेपाल बैङ्क, नेपाल इन्भेष्टमेन्ट बैङ्क, हिमालयन बैङ्क, लक्ष्मी बैङ्क, सनराइज बैङ्क, माछापुच्छ्रे बैङ्क, बैङ्क अफ काठमाण्डू र राष्ट्रिय वाणिज्य बैङ्क यसअन्तर्गत परेका छन् ।

त्यस्तै, कृषि विकास बैङ्क र एनएमबि बैङ्कले ७.२५ प्रतिशत ब्याज दिँदा सिटिजन्स बैङ्क, सेञ्चुरी बैङ्क र प्राइम बैङ्कको ब्याजदर ७.५ प्रतिशत रहेको छ । सबैभन्दा बढी ब्याजदर भने सिभिल बैङ्कको ८ प्रतिशत छ । उल्ल्ेखित ब्याजदरमा शाखा प्रबन्धकले ०.५० प्रतिशतसम्म थप गरेर दिनसक्ने भएकोले वाणिज्य बैङ्कको मुद्दती निक्षेपमा अधिकतम ८.५ प्रतिशतसम्म ब्याज पाउन सकिन्छ ।

कुन बैङ्कको बढ्यो, कसको घट्यो ?

यसपटक पनि ब्याजदर बढाउने भन्दा घटाउने क्रम नै बढि देखिएको छ । तर धेरैजसो बैङ्कको ब्याजदर भने यसपटक स्थिर नै रहेको छ ।

माघ महिनाका लागि बचततर्फ ९ वटा बैङ्कहरुले आफ्नो ब्याजदरको तल्लो तथा माथिल्लो सीमामा घटाएका छन् । १४ वटा बैङ्कको ब्याजदर स्थिर रहँदा ४ वटा बैङ्कको ब्याजदर भने बढेको पाइएको छ । त्यस्तै, मुद्दती निक्षेपतर्फ १४ बैङ्कको ब्याजदर घट्दा १२ वटा बैङ्कको ब्याजदर स्थिर छ । एउटा बैङ्कले भने मुद्दती खाताको ब्याजदर बढाएको छ ।

बचत खातातर्फ नेपाल इन्भेष्टमेन्ट बैङ्कले ब्याजदरको तल्लो र माथिल्लो सीमालाई एकैपटक १ प्रतिशतले घटाएको छ । यसअघि ३ देखि ५ प्रतिशतको ब्याजदर अहिले २ देखि ४ प्रतिशतमा झारिएको हो ।

कुमारी बैङ्क, सिटिजन्स बैङ्क, माछापुच्छ्रे बैङ्क, ग्लोबल आईएमई बैङ्क र मेगा बैङ्कले भने आफ्ना बचत खाताको ब्याजदरको माथिल्लो र तल्लो सीमालाई ०.५० प्रतिशतले घटाएका छन् ।

त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले बचत खातामा दिने ब्याजदरको माथिल्लो सीमालाई ०.५० प्रतिशतले कम गरेको छ, तल्लो सीमा भने यथावत राखिएको छ । सानिमा बैङ्क र नेपाल बंगलादेश बैङ्कले माथिल्लो र तल्लो सीमालाई ०.२५ प्रतिशतले घटाएको छ ।

यसपटक बचत खाताको ब्याजदर बढाउने बैङ्कहरु भने सरकारी स्वामित्वका नेपाल बैङ्क, कृषि विकास बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्क तथा निजी क्षेत्रको एनएमबि बैङ्क मात्रै रहेका छन् । तीनवटै सरकारी बैङ्कले बचत खातातर्फ ब्याजदरको तल्लो सीमालाई ०.५० प्रतिशतले बढाएका छन् । एनएमबि बैङ्कले भने दुईवटै सीमालाई ०.१ प्रतिशतले बढाएर ३.१ देखि ५.१ प्रतिशत कायम गरेको छ ।

मुद्दती निक्षेपतर्फ स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले १ प्रतिशत ब्याजदर बढाएर ६ प्रतिशत पुर्याएको छ । नेपाल इन्भेष्टमेन्ट बैङ्क, हिमालयन बैङ्क, लक्ष्मी बैङ्क र सिटिजन्स बैङ्कले ०.७५ प्रतिशत,  नबिल बैङ्क, एभरेष्ट बैङ्क, कुमारी बैङ्क, सानिमा बैङ्क, ग्लोबल आईएमई बैङ्क, एनएमबि बैङ्क र मेगा बैङ्कले ०.५ प्रतिशत, नेपाल बंगलादेश बैङ्क र माछापुच्छ्रे बैङ्कले ०.२५ प्रतिशत, तथा सनराइज बैङ्कको ०.१ प्रतिशत विन्दुका दरले ब्याजदर घटाउँदा बाँकी १३ वटा बैङ्कले भने ब्याजदर स्थिर राखेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.