ad
केन्द्रीय संस्करण
कोरोना फ्रन्टलाइन

मर्दाको मलामी : सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेना

शव चलाउँदा ११ सैनिकलाई सङ्क्रमण

person explore access_timeमाघ ४, २०७७ chat_bubble_outline0

काठमाडौँ । धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीले ज्यान गुमाउँदा सिङ्गो मुलुक आतङ्कित भएको थियो । सिन्धुपाल्चोक, राम्चेकी उनी कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने पहिलो नेपाली थिइन् । ०७७ जेठ ३ मा उनको निधन भयो ।

शव छुन त परको कुरा आसपास जाँदा पनि जिउ सिरिङ्ग हुने माहोल थियो । तर सैन्य जवानहरुले शव टपक्क टिपेर पशुपति आर्यघाटमा ल्याए अनि सैन्य सलामी दिएर दाहसंस्कार गरे ।

‘सलामी सैनिक चलन हो,’ नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीसँग भने– ‘कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेलाई हामीले सलामीसहित सम्मान गर्दै चिरशान्तिको कामना गर्छौं ।’

०७७ जेठमा मन्त्रिपरिषद्ले सङ्क्रमितको शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको थियो । सरकारले बनाएको निर्देशिकाअनुसार सेनाले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको समन्वयमा शव व्यवस्थापन गरिरहेको छ ।

काठमाडौँ उपत्यकामा केन्द्रीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको समन्वयमा उपत्यका पृतनाले शव व्यवस्थापन गर्दै आएको छ ।

काठमाडौँ बाहिर जिल्ला सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा पृतना मुख्यालयहरुले सङ्क्रमितको शव व्यवस्थापन गर्छन् । बाहिरको तुलनामा उपत्यकामा शव व्यवस्थापनको चाप बढी छ । जङ्गी अड्डाको रेकर्डअनुसार उपत्यकामा एक दिनमा ९ वटासम्म शव व्यवस्थापन गर्नुपर्छ ।

अस्पतालले जारी गर्ने कोभिड–१९ पोजेटिभ सर्टिफिकेट र डेथ सर्टिफिकेट हेरेपछि सेनाले शव व्यवस्थापनको प्रक्रिया सुरु गर्ने गरेको छ । सैन्य प्रवक्ता पौडेल भन्छन्– ‘ती दुईवटा डकुमेन्ट प्राप्त भएपछि हाम्रा सैनिकले शव व्यवस्थापन प्रक्रिया सुरु गर्छन् ।’

५ हजार सैनिक ‘मलामी’

समाजमा एउटा उखान छ– ‘पर्दाको जन्ती मर्दाको मलामी ।’ समाजमा कसैको निधन हुँदा चिरशान्तिको कामना गर्न मलामी जाने चलन हुन्छ । तर सङ्क्रमितको मलामी जाँदा सङ्क्रमण फैलने उच्च जोखिम हुने हुनाले सो परम्परामा ब्रेक लागेको छ ।

सङ्क्रमितको शवमा एकाघरका परिवारले पनि परैबाट फूलमाला चढाउँछन् । अनि सैनिकको जिम्मामा शव छाड्छन् ।

०७७ जेठपछि करिब ५ हजार सैनिक सङ्क्रमितहरुको मलामी बनेका छन् अर्थात शव व्यवस्थापनमामा करिब ५ हजार सैनिक जनशक्ति खटिएको छ । काठमाडौँ उपत्यकामा मात्रै २० युनिटमा शव व्यवस्थापनको तालिम पाएका सैनिक कर्मचारी तयारी हालतमा बस्छन् । सङ्क्रमितको मृत्यु भएको खबर आएपछि पायक पर्ने स्थानको शव उठाउँछन्, परिवारको मन्जुरीनामा लिन्छन् अनि दाहसंस्कार गर्छन् ।

‘काठमाडौँ उपत्यकामा हामी पशुपति आर्यघाट स्थित विद्युतीय शवदाह गृहमा लगेर व्यवस्थापन गर्छौं,’ सैन्य प्रवक्ता पौडेल भन्छन्– ‘उपत्यका बाहिर धर्म, परम्पराअनुसार जलाउने र गाड्ने गर्छौं ।’

काठमाडौँमा पनि धर्म, परम्पराअनुसार गाड्नुपर्ने शव सैनिक टोलीले गाडेर व्यवस्थापन गरिरहेको छ । शव गाड्दा थप कोरोना फैलने भयका कारण काठमाडौँस्थित स्वयम्भुमा विवाद भएको थियो ।

एकजना सङ्क्रमितको शव व्यवस्थापनमा चार सैनिक खटिन्छन् ।

२९ सय १४ शव

महामारी फैलिएपछि सेनाले २ हजार ९ सय १४ शव व्यवस्थापन गरेको छ । शव व्यवस्थानमा संलग्न सैनिकलाई नेपाली सेनाले ‘प्रधान सेनापति प्रशंसा निसान’ दिने गरिएको सैन्य प्रवक्ता पौडेल बताउँछन् ।

यस्तो छ, तथ्याङ्क :

 

शव व्यवस्थापन गर्न काठमाडौँ उपत्यकामा सेनासँग दुईवटा आफ्नै शव वाहन छन् । ती दुईवटाले नपुग्दा काठमाडौँ महानगरपालिकाले थप शव वाहन उपलब्ध गराउँदै आएको छ ।

‘उपत्यकामा महानगरपालिकाले शव वाहन उपलब्ध गराइरहेको छ,’ सैन्य प्रवक्ता सन्तोष बल्लभ भन्छन्– ‘उपत्यका बाहिर पनि स्थानीय निकायले शव वाहन उपलब्ध गराएका छन् ।’

शव व्यवस्थापन गर्ने सैनिक स्वास्थ्यकर्मी होइनन् । मन्त्रिपरिषद्ले जिम्मा दिनुअघि नै सेनाले आफ्ना जवानलाई शव व्यवस्थापनको तालिम दिन थालेको थियो ।

‘देशलाई अब्ठ्यारो परेको बेला हामीलाई जिम्मेवारी दिइएको छ,’ सैन्य प्रवक्ता पौडेल भन्छन्– ‘मर्दापर्दाको साथीको हैयिसतले हामीले जिम्मेवारी बहन गरेका छौँ ।’

स्वास्थ्यको दृष्टिले अत्यन्तै जोखिमपूर्ण मानिने सङ्क्रमितको शव व्यवस्थापनमा संलग्न ४ जना सैनिकलाई सुरुवाती चरणमा सङ्क्रमण देखिएको थियो । पछिल्लो दुई महिनाअघि थप सात जना सैनिक सङ्क्रमणको शिकार भएका छन् । दाहसंस्कार गरेपछि पीसीआर जाँच गराउँदा उनीहरुलाई सङ्क्रमण भएको हो ।

सैनिक प्रवक्ता पौडेले भन्छन्– ‘पीपीई लगाएर सुरक्षित तरिकाले शव व्यवस्थापन गर्दा पनि सर्ने सम्भावना चाहिँ छ ।’

एउटा शव व्यवस्थापनपछि सो काममा खटिने सैनिक अधिकारी १४ दिन क्वारेन्टाइनमा बस्छन् । त्यसपछि लक्षण देखिएको अवस्थामा उनीहरुको स्वाब परीक्षण गरिन्छ ।

कतिपय बेला मृतकका आफन्त सैनिक मलामी कुरेर घण्टौँ बस्न बाध्य हुने गरेका छन् । किन सैन्य टोली ढिला पुग्छ ? सैन्य प्रवक्ता पौडेल भन्छन्– ‘सकभर एक दिनमा एउटै टिमले व्यवस्थापन गरौँ भनेर एउटा शव व्यवस्थापन गरिरहेको बेला सीसीएमसीबाट खबर आउँछ, त्यस्तो बेला हाम्रो टोलीले तत्काल शव उठाउन भ्याउँदैन ।’

अब्बल महिला टिम

नेपाली समाजमा महिलाले शव छुुनु हुँदैन भन्ने मान्यता छ । तर साहसी महिलाले सो मान्यता क्रमशः तोड्दै गएका छन् ।

नेपाली सेनाका महिला सैनिकहरुले पनि सङ्क्रमितको शवलाई कुशलतापूर्वक व्यवस्थापन गरेर समाजलाई अर्को उदाहरण देखाए ।

‘काठमाडौँमा महिला सैनिकले तेस्रो पटक सङ्क्रमितको शव व्यवस्थापन गरेका छन्,’ सैन्य प्रवक्ता पौडेल भन्छन्– ‘महिला गुल्ममा कार्यरत ९ जना सैनिकको टिम बनाएर शव व्यवस्थापन गराएका छौँ ।’

कात्तिक २६, मङ्सिर २५ र पुसको अन्तिम साता महिला सैनिकले कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरेका हुन् । सिपाहीको जात र लिङ्ग नहुने सन्देश दिँदै सेनाले समानताको भावनालाई थप मजबुत बनाउन महिला सैनिकलाई शव व्यवस्थापनमा सहभागी गराएको हो । ‘महिला सशक्तीकरणको पाटो अघि बढाएका हौँ’ सैन्य प्रवक्ता पौडेलले रातोपाटीसँग भने ।

(फोटो : सुवास श्रेष्ठ)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.