बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

संघीय लोकतान्त्रिक गणतन्त्रको आवश्यकता छैनः अध्यक्ष लोहनी

शनिबार, १० माघ २०७७, २३ : ३२
शनिबार, १० माघ २०७७

जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले विदेशीको इशारामा राजसंस्थाको अन्त्य गरि ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको आवश्यकता नरहेको बताएका छन् । जनकपुरधाममा शनिबार राप्रपाको झण्डोत्तलन र चुनाव चिन्ह अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले सो कुरा बताएका हुन् ।

उनले तत्कालीन माओवादी र ७ दलले दिल्लीमा १२ बुँदे सम्झौता गरेर विदेशीको इशारामा राजसंस्था फालेको आरोप लगाए । उनले भने– ‘राजसंस्था नभई निरंकुश राजतन्त्र हटाउने भनिएको थियो तर, दलहरूले विदेशी शक्तिको इशारामा पुरै राजसंस्था नै फ्याले ।’

सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा राजसंस्था र हिन्दु धर्मले मात्रै बाँध्न सक्ने भएकाले आफूहरू सोही अभियानमा अगाडि बढेको उनले बताए । उनले भने– ‘अहिले आएर त्यही गणतन्त्र र धर्म निरपेक्षता नै ठूलो समस्याका रुपमा देखिएको छ ।’ संविधानको संरक्षण गर्नका लागि समेत अहिलेको तरल राजनीतिक अवस्थामा राजसंस्था आवश्यक भइसकेको उनको दावी छ ।

उनले भने– ‘राष्ट्रपतिले संविधानको रक्षा गर्न सक्नुभएन । प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको कुरा गरिरहनुभएको छ’ लोहनीले अघि थप्दै भने– ‘संवैधानिक अप्ठ्यारो आउँदा राजाले समेत कानुनविद्हरूसँग सल्लाह लिनुहुन्थ्यो ।’ नेकपा प्रचण्ड–माधव समूहतर्फ इँगित गदै उनले राजसंस्था फर्किनुलाई प्रतिगमन भन्नेहरु स्वयं प्रतिगमनकारी रहेको आरोप लगाए । प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरेको आरोप उनले लगाए ।

उनले भने– ‘प्रधानमन्त्री ओलीले गैरसंवैधानिक कदम चाल्नुभएको छ, प्रधानमन्त्री भइसकेकाहरू एक अर्कालाई खुलेर गाली गर्न व्यस्त हुनुहुन्छ’ उनले थप भने–‘गणतन्त्र र संविधान उहाँहरूलाई बाँदरको हातमा नरिवल भइसकेको छ ।’ उनले नेकपा र जसपातर्फ ईंगित गर्दै हिजो फाटेको चप्पल लगाएर अहिले एसीमा बस्न थालेकालाई गणतन्त्र फलिफाप भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप