मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कमलपोखरी पुनर्निमाणबारे गगन थापा र पुरातत्वलाई महानगरपालिकाको पत्र

शुक्रबार, १६ माघ २०७७, १५ : ५१
शुक्रबार, १६ माघ २०७७

काठमाडौँ । कमलपोखरी पुनर्निर्माणका क्रममा समन्वय नगरेको भन्दै पुरातत्व विभागलाई काठमाडौँ महानगरपालिकाले ध्यानाकर्षण गराएको छ ।  काठमाडौँ महानगरपालिकाका प्रशासन विभाग प्रमुख महेश काफ्लेले पुरातत्वलाई पत्र नै पठाएर ध्यानाकर्षण गराएका हुन् । कमलपोखरी पुनर्निर्माणका सन्दर्भमा पछिल्लो समय देखिएको विवादको विषयमा पुरातत्व विभागले महानगरपालिकासँग समन्वय नै नगरी महानगरपालिकालाई पठाएको भनिएको पत्र एकपक्षीय रुपमा पहिल्यै विभिन्न सञ्चारमाध्ययमलाई उपलब्ध गराएको महानपालिकाको आरोप छ ।

‘काठमाडौँ महानगरपालिकाबाट टेण्डर प्रक्रियामार्फत विगत दुई वर्षदेखि भैरहेको कमलपोखरी निर्माणको कामको बारेमा काठमाडौँ महानगरपालिकासँग कुनै राय–परामर्श नगरी एक पक्षीय रुपमा त्यहाँबाट भएको पत्राचारले सरकारी निकायहरुबीच समन्वय नभएको सन्देश प्रवाह हुने तथा पुरातात्विक तथा धार्मिक महत्वका स्मारकहरुको संरक्षण गर्न यस महानगरपालिकाको अभियानमा अवरोध सिर्जना हुने देखिन्छ’ पत्रमा लेखिएको छ, ‘यस प्रकारको समन्वयको अभावले कमलपोखरी समयमा निर्माण हुन नसकी खर्चमा समेत बढोत्तरी हुने हुँदा कुनै पनि पत्राचार पूर्व समन्वय, छलफल र सहकार्य गर्नुहुन अनुरोध छ ।’ 

काठमाडौँ महानगरपालिका र वडा नम्बर–१ काठमाडौँ महानगरपालिकाको नाममा लेखेको  पत्र संख्या ०७७÷०७८ चलानी नम्बर ७९९ को पत्र प्राप्त गर्नुअघि नै विभिन्न अनलाइनमार्फत सार्वजनिक भएको विषयमा विभागलाई महानगरपालिकाले लेखेको पत्रमा ध्यानाकर्षण गराएको छ । 

त्यसैगरी काठमाडौँ ममानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि तत्कालिन संघीय सांसद गगनकुमार थापालाई समेत पत्र लेखी कमलपोखरीको विकास तथा सुधारका लागि उनले गरेका कार्यको विवरण उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरेका छन् ।  

‘कमल पोखरी पुर्नर्निमाणका सन्दर्भमा तपाईँबाट प्रेषित काठमाडौँ महानगरपालिकाका प्रमुखलाई सम्वोधन गरिएको मिति २०७७/०९/२६ को पत्र प्राप्त भयो’ पत्रमा भनिएको छ, ‘सम्वत् २०७६ असारबाट निर्माण प्रारम्भ भएको कमलपोखरीको डिजाइन तपाईँसमेतसँग पटक–पटक भएको छलफल तथा अन्तरक्रियाबाट अन्तिम भई कार्यान्वयनमा आएको प्रष्ट छ । पोखरीको विकास तथा सुधारमा तपाईँबाट समेत विगतमा धेरै कार्यहरु गरिएको भन्ने छलफलका क्रममा तपाईँबाट नै अभिव्यक्त भएको थियो । तपाईको पहलबाट विगतमा कमलपोखरी परिसरमा भएका विकास तथा सुधारका कार्यहरुको विवरण उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध छ ।’ 

काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले प्रस्तावित ढाँचा सो क्षेत्रका तत्कालीन संघीय सांसद  गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ–संस्था सबैसँग पटक–पटक छलफल गरेर सबैको सहमतिमै  कमलपोखरी पुनर्निर्माण अघि बढाएको पुनः दोहोर्याएका छन् । ‘कमलपोखरीको विकास तथा सुधारका लागि माननीय गगनकुमार थापाले विगतमा गरेका कार्यको विवरण उपलब्ध गराई सहयोग गर्न हामीले उनलाई पत्र पठाएका छौँ,’ शाक्यले भने, ‘उहाँले सबै विवरण पठाई सहयोग गरे लगत्तै कमलपोखरी पुनर्निमाणबारे सकेसम्म कमलपोखरीमै पत्रकार सम्मेलन गर्ने तयारीमा छौँ ।’ 

काठमाडौँ महानगरपालिका पुरातात्विक तथा धार्मिक महत्वका स्मारकहरुको संरक्षणको अभियानमा रहेको उनले बताएका छन् । ‘हामीले कमलपोखरी मासेर अन्य संरचना बनाउन खोजेका होइनौँ । कमलपोखरीमा पोखरी नै बनाउन खोजेका हौँ,’ शाक्यले भने, ‘काम गर्ने सिलसिलामा केही कमजोरी भएको रहेछ भने हामी छलफल गरेर अघि बढ्न तयार छौँ ।’ पोखरीको प्रस्तावित ढाँचा तयार गर्ने सन्दर्भमा कमलपोखरी क्षेत्रकै तत्कालिन सांसद थापासँग महानगरपालिकाले सहरी योजना आयोगको कार्यालय, अग्रवाल भवनलगायतका स्थानमा विभिन्न चरणमा छलफल गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप