बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘कोभिसिल्ड’ खोप लगाएकाहरु भन्छन्, ‘स्वास्थ्यमा सामान्य समस्या देखियो, गम्भीर छैन’

आइतबार, १८ माघ २०७७, १७ : ०८
आइतबार, १८ माघ २०७७

पोखरामा कोरोनाभाइरसविरुद्धको ‘कोभिसिल्ड’ खोप लगाएकाहरुमध्ये केहीमा साइडइफेन्ट (प्रतिअसर) देखिएको छ । खोप लगाएकाहरुमा टाउको दुख्ने, ज्वरो आउने, चक्कर लाग्ने लगायतका समस्या देखिएका हुन् । 

भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोपको गत बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले औपचारिकरुपमा उद्घाटन गरेपछि फ्रन्टलाइनमा खटिनेलाई लगाउन शुरु गरिएको थियो । 
बुधबार उद्घाटनपछि खोप लिएकी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकी प्याथालोजिस्ट डा.मोनी सुवेदीले खोप लगाएपछि ज्वारो आउने, थकान महसुस हुने र टाउको दुख्ने लगायतका समस्या देखिएको बताइन् । उनले ज्वरो र दुखाइ बढेपछि प्यारासिटामोल खाएपछि समस्या हटेको बताइन् । ‘खोप लगाएपछि ज्वरो बढ्ने, शरीर दुख्नेजस्ता समस्या देखिएपछि सिटामोल खाएँ, विस्तारै आराम भयो’ उनले भनिन्, ‘अहिले भने मलाई कुनै समस्या छैन । पूर्णरुपमा स्वस्थ छु ।’

डा. सुवेदीले खोप लगाएको पहिलो दिनमा सामान्य असरहरु देखिएपनि विस्तारै समस्या घट्दै जाने बताइन् ।

मेट्रोसिटी अस्पतालमा कार्यरत डा. अमृत पोखरेलले खोप लगाएको दिन र भोलिपल्ट शरीर दुख्ने, जाडो हुने, थकाइ लाग्नेलगायतका समस्या देखिएको बताए । ‘खोप लगाएको पहिलो र दोस्रो दिनमा स्वाथ्य समस्या देखिएपनि क्रमशः समस्या हट्दै गयो’ उनले भने, ‘खोप लगाएपछि सामान्य समस्या देखिएपनि ठुलो समस्या केही देखिएन ।’ अहिले भने आफूमा कुनै समस्या नभएको उनले बताए । 

सेवा अस्पतालका फार्मेसी निर्देशक गोपाल अधिकारीले अस्पतालका ९० जना स्टाफहरुले कोभिसिल्ड पोख लगाएकोमा १४–१५ जनालाई मात्र सामान्य स्वास्थ्य समस्या देखिएको बताए । ‘हामीले ठुलो संख्यामा खोप लगाएपनि थोरैलाई मात्र केही समस्या देखियो,’ उनले भने, ‘समस्या देखिएका स्वास्थ्यकर्मीहरुमा पनि ठुलो समस्या छैन । सामान्यरुपमा शरीर दुख्ने, ज्वरो आउने र जाडो आउने जस्ता समस्या मात्र देखिएको छ ।’

निर्देशक अधिकारीले खोप लगाएछि समस्या देखिएका स्वास्थ्यकर्मीको स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको बताए । उनले अहिलेसम्म गम्भीर खालको समस्या भने नदेखिएको बताए ।

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले गण्डकी प्रदेशमा खोप लगाएकाहरुमा सामान्य समस्या बाहेक ठुलो असर नदेखिएको बताए । 

‘हामीले खोप लगाएको ४ दिन सम्ममा कसैलाई पनि गम्भीर खालको समस्या देखिएको छैन’ उनले भने, ‘खोपको असर समस्या लगायतका वारेमा हामीले प्रदेशका खोप केन्दहरुमा नियमित सम्पर्कमा छौँ, तर कसैलाई त्यस्तो गम्भीर साइडइफेन्ट देखिएको छैन।’

दुई मात्रामा दिइने खोप पहिलो पटक लगाएको एक महिनापछि पुनः दोस्रो मात्रा दिइने गण्डकी स्वास्थ्य निर्देशनालका निर्देशक डा.विनोद विन्दु शर्माले बताए । 

पहिलो चरणमा कोरोनाविरुद्धको लडाइमा रहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वास्थ्य स्वयंसेविका, संक्रमितको शव व्यवस्थापन गर्ने सुरक्षाकर्मीलगायतले खोप लगाउन थालिएको हो । गण्डकीमा पहिलो चरणमा पाँच दिनमा १७ हजार फ्रन्टलाइनरलाई खोप लगाउने प्रदेश सरकारको लक्ष्य छ । गण्डकीलाई संघ सरकारले ३९ हजार डोज खोप उपलब्ध गराएको छ ।

यसैबीच गण्डकी प्रदेशमा कोरोना विरुद्धको खोप लगाउनेको संख्या शनिबारसम्म १० हजार २ सय ५५ पुगेको छ । आइतबारको संख्या भने स्वास्थ्य निर्देशनालले साँझमात्र अध्यावधिक गर्ने गर्छ ।
गण्डकी प्रदेश स्वास्थ्य स्वास्थ्य निर्देशनालयका अनुसार कास्की जिल्लामा ४ हजार १ सय ४ जना, गोरखामा ७ सय ७, तनहुँमा ७ सय ८, नवलपुरमा ७ सय ३०, पर्वतमा ६ सय ४५, बागलुङमा ८ सय १८, मनाङमा १ सय २६, मुस्ताङमा १ सय ३९, म्याग्दीमा ४ सय १३, लमजुङमा १ हजार ४, स्याङजामा ८ सय ६१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप