सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेलायतमा कोरोना संक्रमण मापन दर जुलाई पछिकै कम

शुक्रबार, ३० माघ २०७७, २३ : २९
शुक्रबार, ३० माघ २०७७

लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमणको तह निरन्तर रुपमा घट्दै गएको सरकारी तथ्याँकले देखाएको छ । पछिल्लो तथ्याँकअनुसार संक्रमण मापन दर (आर)  ०.७ देखि ०.९ को बीचमा रहेको छ । जुन जुलाइयताकै सबैभन्दा कम हो । हाल जारी लकडाउनका कारण संक्रमण दरमा कमी आएको अधिकारीहरुले बताएका छन्  । यद्धपि संक्रमण दर अझै उच्च रहेको विज्ञहरुले चेतावनी दिएका छन् ।

गएको २४ घन्टामा थप १५ हजार १४४ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । बेलायतमा कोरोना संक्रम दर  लगातार बीस हजार भन्दा कम भएको यो आठौँ दिन हो  यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या चार मिलियन नाघेको छ ।

शुक्रबारसम्म संक्रमितको संख्या  ४० लाख १३ हजार ७९९ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप ७५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख १६ हजार पुगेको सरकारी तथ्याँकले देखाएको छ ।

संक्रमण दरमा कमी आएसँगै बेलायतका अस्पतालमा उपचार गराउनेको संख्या पनि घटेको स्वास्थ्य विभागले जनाएको छ ।हाल बेलायतको अस्पतालमा २४ हजार ३५२ जनाको उपचार भइरहेको छ भने करिब तीन हजार कोरोना संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा एक करोड ४० लाख बढीले लगाए खोप

बेलायतमा एक करोड ४० लाख  भन्दा बढीले कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को पछिल्लो तथ्याँकअनुसार हालसम्म एक करोड ४० लाख १२ हजार २४४ जनाले खोपको पहिलो डोज लिएका हुन् । जसमध्ये पांच लाख ३० हजार ९४ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप