मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश सरकारका तीन वर्षे उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

प्रतिपक्ष दलको प्रतिक्रिया : सरकारले जनचाहना अनुसार काम गर्न सकेन
मङ्गलबार, ०४ फागुन २०७७, २२ : २२
मङ्गलबार, ०४ फागुन २०७७

पोखरा । गण्डकी प्रदेश सरकारले आफ्नो तीन वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गरेको छ । गण्डकी प्रदेश सरकारद्वारा मंगलबार आयोजित तेस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन वर्षमा प्रदेश सरकारले गरेका मूख्य उपलब्धि सार्वजनिक गरेका हुन् । प्रदेश सरकारले तीन वर्षको अवधिमा ४६ वटा ऐन र १० वटा नियमावली बनाएको मुख्यमन्त्री गुरुङले जानकारी दिए । उनले तीन वर्षमा प्रदेशभित्र कालोपत्रे सडक १ सय ३७ किलोमिटर र ग्राभेल डिक २ सय ९२ किलोमिटर निर्माण सम्पन्न भएको जानकारी दिए । 

त्यसैगरी आर्थिक वर्ष २०७५÷०७६मा प्रदेशको कूल ग्रार्हस्थ उत्पादन ३ खर्ब ८अर्ब ९१ करोड रहेकोमा आर्थिक वर्ष २०७६÷०७७ मा ३ खर्ब २६ अर्ब ८७ करोड पुगेको उनले बताए ।
प्रदेशमा वित्तीय संस्थाको लगानी आर्थिक वर्ष २०७५÷०७६ मा १६.८६ प्रतिशतले र आर्थिक बर्ष २०७६÷०७७ मा १९.८७ प्रतिशतले वृद्धि भएको उनको भनाइ थियो । 

यो अवधिमा प्रदेशमा झोलुङ्गे पुल १० वटा निर्माण भएको, एक घर एक धारा कार्यक्रम अन्तर्गत २ सय ४३ खानेपानी आयोजना निर्माण सम्पन्न भई ५५ हजार ६० निजी धारा जडान गरिएको उनले बताए ।
विद्युतका काठेपोल प्रतिस्थापन गर्ने नीति अनुरुप हालसम्म २९ हजार ८ सय ११ काठेपोल हटाएर स्टिलका पोल राखिएको, प्रदेशका १५ स्थानमा १ हजार ९ सय २९ रोपनी खेतीयोग्य भूमिको चाक्लाबन्दी गरिएको, प्राथामिकता प्राप्त बाली तथा वस्तुहरुका १ हजार ४ सय ८९ मोडल फार्म प्रवर्द्धन गरिएको उनले बताए ।


यस्तै, ८५ स्थानीय तहका ८७ स्थानमा मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रम संचालन गरी ८ हजार पाँच सय कृषक घरपरिवारलाई सहयोग गरिएको उनले जानकारी दिए ।
तीन वर्षको अवधिमा सहलगानीमा २ कोल्ड स्टोर, ४५ कोल्ड रुमको निर्माण, ८ पशुपंक्षी बजार, कुखुरा ह्याचरी तथा ब्रिडिङ केन्द्र, ३ बधशाला, ३१ दुग्ध चिस्यान केन्द्र, ३४ कृषि बजार केन्द्र, २ टिस्युकल्चर ल्याव, २ प्रिसिजन फार्म र ८ प्रशोधन केन्द्रको निर्माण गरिएको उनले बताए ।

त्यसैगरी प्रदेशमा ५३ फ्रेस हाउस सुदृढीकरण गरिनुको साथै ३ हजार नौ सय ५२ सामुदायिक वन, १ हजार १ सय १९ कबुलियती वन, १ साझेदारी वन र ३४ धार्मिक वन मार्फत ८ लाख ६१ हजार हेक्टर वन क्षेत्रको संरक्षण गरिएको प्रदेश सरकारको उपलब्धिका रुपमा उनले सुनाए ।

प्रदेशमा ३ सय ८ घरबास प्रवर्द्धन, ११ हजार ५ सय ४७ साना तथा घरेलु उद्योग स्थापना, एक स्थानीय तह, एक उद्योगग्राम अन्तर्गत सम्भाव्य देखिएका ५१ स्थानीय तहमध्ये छनौट भएका २० उद्योगग्राम स्थापना कार्य अगाडि वढाइएको पनि मुख्यमन्त्री गुरुङले बताए ।

५६ पृष्ठ लामो प्रगति
गण्डकी प्रदेश सरकारले स्थापना भएको तेस्रो वर्षसम्म हासिल गरेको उपलब्धि भन्दै ५६ पृष्ठ लामो पुस्तिका प्रकाशन गरेको छ । उक्त पुस्तिकामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास निर्माणदेखि विदेश भ्रमण, कूटनीतिक नियोगका प्रतिनिधिसँगको भेटघाट र पत्रकारको क्षमता अभिवृद्धिका लागि दिएका तालिम समेतलाई मुख्य उपलब्धिका रुपमा समावेश गरेका छन् । त्यसमा मुख्यमन्त्री गुरुङले अमेरिका, बेलायत, हङकङ र चीनका लागि गरेको भ्रमण तथा पोखरा भ्रमणमा आएका विदेशी नियोगका प्रतिनिधिहरुको भेटलाई पनि उपलब्धिका रुपमा ब्याख्या गरेका छन् ।

प्रदेश सरकारको उपलब्धिमा भारत, चीन, जापान, अमेरिका, कोरिया, युरोपियन युनियन,अष्ट्रेलिया, स्वीट्जरल्याण्ड, इजरायललगायत देशका राजदूत तथा कूटनीतिज्ञसँग भेट गरेको उल्लेख छ ।
गण्डकी प्रदेशको अगुवाइमा पोखरामा आयोजनामा भएको सातै प्रदेशका मुख्यमन्त्रीको भेला र मुख्यन्यायाधिवक्ताको भेला पनि प्रदेश सरकारको उपलब्धि भएको भन्दै पुस्तिकामा समावेश गरिएको छ ।
 

सरकारले जनचाहना अनुसार काम गर्न सकेन : प्रतिपक्ष 
नेपाली काँग्रेस, गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले तीन वर्षको अवधिमा सरकारले जनचाहना अनुसारका कार्य गर्न नसकेको बताए । उनले गण्डकी प्रदेशलाई देशकै धनी र उत्कृष्ट प्रदेश बनाउने भनिएको भए पनि त्यो अनुसार प्रदेश सरकारले कार्य गर्न नसकेको बताए ।

तीन वर्षमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने भनिए पनि अहिलेसम्म त्यसले कुनै आकार लिन नसकेको बताउँदै पोख्रेलले सरकारले एक स्थानीय तहमा एक औद्योगिक ग्रामको नारा पनि सेलाएको जनाए । 
उनले नेकपालाई जनताले पत्याएर दुई तिहाई मत दिए पनि अहिलेको अवस्था आउनु दुःखद भएको बताए । देशको केन्द्रीय राजनीतिका कारण प्रदेश सरकारले गर्ने काममा समेत चुनौती आउन सक्नेतर्फ संकेत गर्दै उनले माथिको राजनीति जे भए पनि त्यसको प्रभाव प्रदेशमा नपार्न सुझाव दिए ।

देश संघीयतामा जाँदा समेत मालपोत र नापी कार्यालयमा काम गर्ने पुरानै शैली देखिएको भन्दै उनले जनताले संघीयताको महसुस गर्न नसकेको बताए । प्रदेश सरकारले यतिलामो प्रतिवेदन तयार पार्दा प्रदेशमा यतिजनालाई रोजगारी दियौं भन्ने दावी गर्न नसक्नुले प्रदेश सरकारको वास्तविकता प्रष्टिएको उनको भनाइ छ ।

कार्य प्रगति विवरण यस्तो छ-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप