बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अदालतको फैसलापछि मिलिजुली सरकार गठनको अवस्था आयोः मुख्यमन्त्री गुरुङ

बुधबार, २६ फागुन २०७७, १८ : ०३
बुधबार, २६ फागुन २०७७

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सर्वोच्च अदालतले दुई पार्टीलाई अलग हुने फैसला गरेपछि मिलीजुली सरकार गठन गर्नुपर्ने अवस्था सृजना भएको बताएका छन् । बुधबार पोखरा महानगरपालिकाको ५ औं स्थापना दिवसको अवसरमा बोल्दै मुख्यमन्त्री गुरुङले मिलीजुली सरकारको नेतृत्व पनि एमालेले गर्ने बताए ।

उनले नेकपा माओवादीले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको अवस्थामा उनीहरुको हैसियत समाप्त हुने बताए । विश्वासको मत फिर्ता लिएको अवस्थामा प्रदेश सरकारविरुद्ध एमालेले माओवादीलाई हटाएर अन्य दलसँग सहकार्य गर्ने भएकाले सबै भन्दा बढी असर उनीहरुलाई पर्ने मुख्यमन्त्री गुरुङले दावी गरे ।  

मुख्यमन्त्री गुरुङले माओवादीसँग एकता गरेकाले एमाले अगाल्दै आएको लोकतन्त्र बाटो छाडेको बताउँदै अब एमालेले पूर्णरुपमा लोकतान्त्रिक पद्धतिलाई अगाल्ने बताए । ‘विश्वभरका मानिसहरु लोकतन्त्रमा विश्वास गर्छन्’ उनले भने । ‘एमाले पनि लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो,राष्ट्रिय स्वाधिनताका लागि कुनै बाहिरी शक्तिसँग झुक्दैन ।’ 

उनले दुई पार्टी एकीकरणपछि ६४ प्रतिशत मत प्राप्त शक्तिशाली सरकार गठन भएको भएपनि माओवादी सत्ता संघर्षमा केन्द्रीत भएकाले सरकारले गरेका राम्रा कामको प्रचार हुन नसकेको बताए । ‘स्थिर सरकारका लागि दुई पार्टीबीच एकीकरण गरेर अगाडि बढ्यौ तर, उनीहरुले केपी ओलीलाई सँधै असहयोग मात्र गरिरहे’ उनले भने । ‘माओवादीहरूले अरुले गरेको भ्रष्टाचार पनि केपी ओलीले नै गरेको आरोप लगाउँदै आए, निरन्तर बन्दामकै अस्त्र प्रयोग गरिरहे ।’

मुख्यमन्त्री गुरुङले अदालतको फैसलापछि माओवादीका सांसद पनि एमालेकै भएको बताए । माओवादीका सांसदहरुले सूर्य चिन्हबाट चुनावमा जितेर आएकाले उनीहरु सबै एमालेकै सांसद भएको उनले दाबी गरे । पार्टी बेग्लाबेग्लै भएपनि चुनाव चिन्ह एमालेको लिएर जितेपछि माओवादीले दायाँबायाँ गर्न नमिल्ने उनको तर्क छ ।

मुख्यमन्त्री गुरुङले पार्टी नेतृत्वले पार्टी भित्रको विवादलाई मिलाएर अगाडि बढ्नुपर्ने बताउदै माओवादीसँग एमालेले छुटकारा पाएकाले पार्टीले अब विकास र समृद्धिलाई अगाडि बढाउनुपर्ने बताए । उनले देशको विकास र सम्मृद्धिमा सोचअनुसार हुन नसकेको बताउदै अब बाँकी समयमा समृद्धिको यात्रामा अगाडी बढ्नुपर्ने बताए ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप