शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

१४ वर्षसम्म मुलुकमा गलत राजनीतिक अभ्यास भयो : कमल थापा

शुक्रबार, १३ चैत २०७७, २२ : ३४
शुक्रबार, १३ चैत २०७७

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक परिवर्तनका बहानामा कम्युनिष्टहरुले मुलुकको शान्ति र स्थायित्वको विपरीत काम गरेको आरोप लगाएका छन् । हेटौंडामा शुक्रबार आयोजित राप्रपा मकवानपुरको जिल्ला परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०६२/०६३ को जनआन्दोलन यताका १४ वर्षको अवधिमा कम्युनिष्टहरुले मुलुकको राज्यसत्ता हातमा लिएर गलत राजनीतिक अभ्यास गरिरहेको आरोप लगाए ।

‘२०६२/०६३ जनआन्दोलन पछिको १४ वर्षको अवधिमा मुलुकमा परिवर्तनको नाममा हिन्दु राज्यलाई पाखा लगाइयो, नयाँ नेपाल निर्माण, शान्ति र स्थायित्वको विपरित कम्युनिष्टहरुले मुलुकमा सत्ता सञ्चालनको गलत अभ्यास गरिरहे’ उनले भने ।

उनले वर्तमान सरकार भ्रष्टाचारको दलदलमा फसेको आरोपसमेत लगाए । अब देशले निकास खोजिरहेको उनको भनाइ थियो । कम्युनिष्टहरू आपसी विवादमा फसेर फुटको राजनीतिमा व्यस्त रहेको, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पनि लाचार बनेको भन्दै थापाले देशलाई सार्थक निकासको बाटोमा लैजान राप्रपा वैकल्पिक शक्तिका रुपमा अगाडि बढ्नुपर्ने अवस्था आएको बताए । विगत १४ वर्ष यता, मुलुकमा राजा विहीन प्रजातन्त्रको अभ्यासका कारण देश संकटमा आएको भन्दै उनले राप्रपाको नेतृत्वमा राजासहितको प्रजातन्त्र पुनःस्थापनामा लाग्न सबै नेता तथा कार्यकताहरुलाई आग्रह गरे ।

राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङले निकट भविष्यमै राप्रपाको मागअनुसार राजासहितको हिन्दु राज्य पुनःस्थापना हुने दावी गरे । वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै अब केही समयमै अन्य दलहरूको नेतृत्वले राप्रपाको एजेन्डालाई पूरा गरिदिने उनको भनाइ थियो ।

त्यस्तै राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डेले देश र जनताको हितका लागि पार्टीमा आवद्ध सबै नेता तथा कार्यकर्ताले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । वर्तमान सरकारले जनताको चाहना अनुसार काम गर्न नसकेको भन्दै उनले कम्युनिष्टहरुको कमजोरीलाई राप्रपाले एजेण्डाको रुपमा जनतामाझ लैजानुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप