मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा पुग्यो : नेतृ शाक्य

शुक्रबार, ०३ वैशाख २०७८, १९ : ०९
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौं ।  नेकपा (एमाले) माधवकुमार नेपाल समूहकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा पुगेको टिप्पणी गरेकी छन् । नेकपा (एमाले) नेपाल समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको सपथ ग्रहण समारोहमा बोल्दै नेतृ शाक्यले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको सत्ता लिप्साका कारण ठूलो संघर्षपछि स्थापित गणतन्त्र समाप्त हुने स्थितिमा पुगेको बताएकी हुन् । अध्यक्ष ओलीले गणतन्त्र ल्याउनका लागि योगदान गरेका योद्धाहरुलाई कारवाही गरेर आफू सत्ता र कुर्सी जोगाउने खेलमा लागेको आरोप समेत लगाइन् ।

अध्यक्ष ओलीका कारण अहिले पार्टी मात्रै नभई मुलुक नै अप्ठेरो स्थितिमा परेको पनि नेतृ शाक्यले बताइन् । उनले भनिन्, ‘कम्युनिष्ट पार्टी मात्रै होइन, मुलुक अप्ठेरोमा परेको छ । सङ्कटमा परेको छ । गणतन्त्र, लोकतन्त्र कमजोर बनाउने उहाँकै कारणले भइराखेको छ र देशको आर्थिक रुपान्तरण, सामाजिक रुपान्तरणको दिशातिर जसरी अगाडि बढ्नु पर्ने हो उहाँकै कारणले भइराखेको छैन । सत्ता लिप्सा, सत्ता लिप्सा, कुर्सी लिप्सा मात्रै, अनि गणतन्त्र ल्याउनका लागि बलिदान गर्ने योद्धाहरु, अनि एक जना व्यक्ति सत्ता लिप्सा भएर कुर्सी लिप्सा गरेर गणतन्त्रलाई नै समाप्त गर्ने खालको दुस्साहस गर्ने यो सुहाउने कुरा होइन ।’

अध्यक्ष ओलीमा आफू ठूलो पदमा पुगे भन्ने दम्भ रहेको पनि नेतृ शाक्यले बताइन् । त्यही दम्भका कारण अहिले देश अप्ठेरोमा परेको पनि बताइन् । उनले भनिन्, ‘मलाई लाग्छ उहाँ सच्चिनुहोला जस्तो लाग्दैन । उहाँमा दम्भ छ, घमण्ड छ, उहाँलाई ठूलो पदमा पुगे अब जिन्दगीमा कहिल्यै पुग्ने छैन, त्यसैले अब मैले कोसँग माफी माग्ने, कोसँग मैले आफ्नो कमजोर स्थिति बनाउनुपर्छ ? पर्दैन, म ठूलो ठाउँमा पुगेँ प्रधानमन्त्री जस्तो ठूलो ठाउँमा, पार्टी अध्यक्ष जस्तो ठूलो ठाउँमा पुगे भनेर उहाँमा जे दम्भ छ त्यो दम्भले आज मुलुक अप्ठेरोमा परेको छ ।’

नेतृ शाक्यले आफूहरु नेकपा एमाले कमजोर भएको हेर्न नचाहेको पनि स्पष्ट पारिन् । तर अहिले अध्यक्ष ओलीले पार्टीलाई विचार विहिन, विधि मिचिएको र विधि समाप्त पार्टीको रुपमा खडा गर्न खोजेको आरोप पनि लगाइन् । उनले भनिन्, ‘नेकपा एमालेलाई हामी कमजोर भएको हेर्न चाहँदैनौँ । शक्तिहिन भएको हेर्न चाहँदैनौँ, ध्वजा ध्वजा भएको हेर्न चाहँदैनौँ, विचार शून्य भएको हेर्न चाहँदैनौँ, विधि मिचिएको र विधि समाप्त भएको हेर्न चाहँदैनौँ । यो कम्युनिष्ट पार्टी हो । कमरेड पुष्पलालले जन्माएको कम्युनिष्ट पार्टी हो । त्यसो भएको हुनाले हामीले नेकपा एमाले सबै हिसाबले बलियो बनाएर यो मुलुकको नेतृत्व गर्ने बामपन्थीहरुलाई नेतृत्व गर्ने, कम्युनिष्ट आन्दोलनलाई नेतृत्व गर्ने अनी यो मुलुकमा आर्थिक सामाजिक रुपान्तरण गरेर समाजवादको लक्ष्य प्राप्त गर्ने दिशाका साथ हामी अगाडि बढिराखेका छौं ।’

कार्यक्रममा नेता सुरेन्द्र पाण्डेले अहिले आई लभ यु केपी बा भन्नेहरु यसअघि हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्नेहरु जस्तै हराएर जाने बताए । अवसर खोज्दै हिँडनेहरु अहिले केपी ओलीको पछि लागेको र केही समयपछि उनीहरुले छाडेर जाने निश्चित भएको पनि बताए । त्यस्तो अवस्था एक वर्ष भित्रमै आउने पनि बताए । उनले भने, ‘आई लभ यु केपी बा, बडो मजा लाग्छ । त्यो सुन्दैमा मजा लाग्छ । त्यस्तो सुन्नमा मजा लाग्ने राजर्षि शैली होइन ? हिजो राजालाई राजाका मन्छे के भन्थे, हाम्रो देश प्राण भन्दा प्यारो छ भनेर नारा लगाउँदैन थिए ? तर अहिले तपाईले कहीं देख्नु भएको छ हाम्रो राजा हाम्रो देश भनेर प्राण भन्दा प्यारो छ भनेर कहिं सडकमा प्राण दिन तयार हुने राजका लागि छन र कोही ? छैनन् । यी आई लभ केपी बा भन्ने पनि यो अवस्थाबाट बाहिरिने वित्तिकै ओली जी बाहिरिने वित्तिकै ती सबै पहिल्यै टाप कस्छन् । किनभने हामीले धेरै यस्ता मान्छे देख्दै पनि आएका छौं । हि ।’

नेता पाण्डेले पार्टीलाई बलियो बनाउने दृढ सङ्कल्पका साथ काम गर्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिए । उनले पार्टीलाई बलियो बनाउँदै बामपन्थीबीच, कम्युनिष्टहरूबीच एकता गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप