बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विश्व

अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?

बुधबार, ०६ साउन २०८३, १५ : ०३
बुधबार, ०६ साउन २०८३

सारांश

  • अमेरिका र इरानबीचको युद्धले विश्वव्यापी तेल प्रशोधन उद्योगको पुनरुत्थानलाई जोखिममा पारेको छ जसले गर्दा कच्चा तेलको आपूर्ति अनिश्चित बनेको छ ।
  • पश्चिम एसियामा बढ्दो सैन्य तनावका कारण स्ट्रेट अफ होर्मुज र बाब अल-मन्देब जस्ता महत्वपूर्ण समुद्री मार्गहरूबाट हुने तेल ढुवानी प्रभावित भएको छ ।
  • युक्रेनमा ड्रोन आक्रमणपछि रुसले डिजेल निर्यातमा प्रतिबन्ध लगाएको र विश्व बजारमा इन्धनको आपूर्ति थप सीमित भएको छ ।

सिङ्गापुर । अमेरिका र इरानबिच चर्किँदै गएको युद्धले विश्वव्यापी तेल प्रशोधन (रिफाइनिङ) उद्योगको पुनरुत्थानलाई गम्भीर जोखिममा पारेको छ । 

विशेषगरी एसियाली रिफाइनरीहरूले अगस्टदेखि उत्पादन बढाउने योजना बनाएका भए पनि पश्चिम एसियामा बढ्दो सैन्य तनावका कारण कच्चा तेलको आपूर्ति अनिश्चित बनेपछि ती योजना प्रभावित हुने देखिएको छ । यसले विश्वभर पेट्रोल, डिजेल र हवाई इन्धनको आपूर्ति लामो समयसम्म सीमित रहन सक्ने र अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उच्च रहने सम्भावना बढाएको विश्लेषकहरूले बताएका छन् ।

रोयटर्सका अनुसार विश्वको इन्धन बजार यसअघि स्थिर आपूर्तिको अपेक्षामा पुनः सुधारतर्फ उन्मुख थियो । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले पनि तेस्रो त्रैमासिकमा विश्वभर दैनिक ८ करोड १६ लाख ब्यारेल तेल प्रशोधन हुने अनुमान गरेको थियो ।

 यो वृद्धि दोस्रो त्रैमासको तुलनामा चार प्रतिशतभन्दा बढी हो । तर अमेरिका–इरान युद्धले उक्त अनुमानलाई चुनौती दिएको छ । युद्ध सुरु हुनुअघि विश्वभर खपत हुने झन्डै २० प्रतिशत कच्चा तेल स्ट्रेट अफ होर्मुज हुँदै विश्व बजारमा पुग्ने गरेको थियो । अहिले अमेरिकी आक्रमण र इरानी प्रतिकारका कारण यो समुद्री मार्गबाट हुने ढुवानी उल्लेखनीय रूपमा घटेको छ । यसले विशेषगरी एसियाली रिफाइनरीहरूको कच्चा तेल आपूर्तिमा ठुलो असर पारेको छ ।

स्थिति थप जटिल बनाउने अर्को कारण यमनका इरान समर्थित हुथी विद्रोहीहरूको चेतावनी बनेको छ । हुथीहरूले स्ट्रेट अफ बाब अल–मन्देब हुँदै हुने साउदी अरेबियाको तेल निर्यात रोक्ने घोषणा गरेका छन् । ऊर्जा अनुसन्धान संस्था इनर्जी एस्पेक्ट्सका अनुसार यसबाट प्रतिदिन ३० लाख ब्यारेलभन्दा बढी साउदी कच्चा तेलको ढुवानी प्रभावित हुन सक्छ ।

मंगलबार चीन र भारततर्फ जाँदै गरेका साउदी कच्चा तेल बोकेका तीनवटा ट्यांकर बाब अल–मन्देब पार नगरी बिच बाटोबाट फर्केर स्वेज नहरतर्फ मोडिएको घटनाले यो जोखिम व्यवहारमै देखाइसकेको छ । यदि यो अवस्था लामो समय कायम रह्यो भने जहाजहरूले अफ्रिकाको पश्चिमी तट घुमेर जानुपर्नेछ, जसका कारण ढुवानी समय करिब एक महिना बढ्न सक्छ । यसले अगस्टका लागि कच्चा तेल खरिद गरिसकेका एसियाली रिफाइनरीहरू अहिले ढुवानी ढिलो हुने चिन्तामा छन् । उनीहरूले उत्पादन बढाउने तयारी गरिरहेका बेला आपूर्ति अनिश्चित बनेपछि योजनामा पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ ।

यसैबीच, रूसले पनि आफ्ना रिफाइनरीहरूमा युक्रेनी ड्रोन आक्रमण बढेपछि डिजेल निर्यातमा प्रतिबन्ध लगाएको छ । यसले विश्व बजारमा डिजेल, पेट्रोल र जेट इन्धनको आपूर्ति थप सीमित बनाएको छ । अमेरिका–इरान युद्ध र रूसको निर्यात प्रतिबन्धले विश्व इन्धन बजारमा एकैपटक दोहोरो दबाब सिर्जना गरेको विश्लेषकहरू बताउँछन् । स्पार्टा कमोडिटिजका विश्लेषक निल क्रस्बीका अनुसार हालको अवस्थामा विश्वसँग पर्याप्त प्रशोधन क्षमता छैन । उनका अनुसार स्ट्रेट अफ होर्मुजमा अवरोध र रूसको डिजेल निर्यात प्रतिबन्ध दुवैले एकैसाथ असर गर्दा आपूर्ति सहज बनाउन सकिने अवस्था छैन। त्यसैले माग घटाउन मूल्य अझै बढ्नुपर्ने परिस्थिति सिर्जना हुन सक्छ ।

युद्धअघि एसियामा डिजेल र जेट इन्धन प्रशोधनबाट हुने नाफा प्रतिव्यारेल करिब २० डलर थियो । अहिले त्यो बढेर ६५ डलरभन्दा माथि पुगेको छ । युरोपमा डिजेल प्रशोधनको नाफा प्रतिव्यारेल ६६.२५ डलर पुगेको छ भने अमेरिकामा पनि रिफाइनरीहरूको नाफा ऐतिहासिक उच्च स्तरमा पुगेको छ । अमेरिका र युरोपका अधिकांश रिफाइनरीहरू अहिले लगभग पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन् । उनीहरूले तेस्रो त्रैमासभर अधिकतम उत्पादन गरेर उच्च नाफा कमाउने प्रयास गरिरहेका छन् । तर उत्पादन अझै बढाउने पर्याप्त क्षमता उनीहरूसँग छैन ।

इनर्जी एस्पेक्ट्सका विश्लेषक राउल काल्जादाका अनुसार अमेरिकी गल्फ कोस्टका रिफाइनरीहरू यसअघि कहिल्यै नभएको स्तरमा सञ्चालन भइरहेका छन् । तेस्रो त्रैमासिकमा त्यहाँ दैनिक थप दुई लाख ब्यारेल प्रशोधन हुने अनुमान गरिएको छ । यद्यपि इन्धनको माग र कच्चा तेल आपूर्तिको अवस्थाले उत्पादन थप विस्तार गर्न कठिन बनाएको छ । अमेरिकी विश्लेषक ट्रे ह्याम्बलेटका अनुसार अमेरिकी गल्फ क्षेत्रमा पेट्रोलको मौज्दात निकै कम भए पनि रिफाइनरीहरूले पेट्रोलभन्दा डिजेल उत्पादनमा बढी ध्यान दिइरहेका छन् । अहिले सबैभन्दा धेरै नाफा डिजेलबाट प्राप्त भइरहेकोले उनीहरूले यस्तो गरेको बुझिएको छ । यसको अर्थ विश्व बजारमा सबै प्रकारका पेट्रोलियम पदार्थको आपूर्ति कडा रहने सम्भावना रहेको उनी बताउँछन् ।

यता एसियामा भने चीनलाई सम्भावित समाधानका रूपमा हेरिएको छ । अन्य एसियाली देशका रिफाइनरीहरू युद्धअघिको ९३ देखि ९५ प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन् भने चीनका रिफाइनरीहरू जुन महिनामा केवल ५८ प्रतिशत क्षमतामा सञ्चालन भएका थिए । त्यसैले चीनसँग उत्पादन उल्लेखनीय रूपमा बढाउने पर्याप्त अवसर रहेको विश्लेषण गरिएको छ । चीनसँग ठुलो परिमाणमा कच्चा तेल भण्डारण भएकाले अन्य देशजस्तो आयातमा पूर्ण रूपमा निर्भर रहनुपर्दैन । वुड म्याकेन्जीका अनुसार चीनको दैनिक प्रशोधन क्षमता अगस्टमा १ करोड ३९ लाख ६० हजार ब्यारेल पुग्न सक्छ र यो जुन महिनाको १ करोड २६ लाख ३० हजार ब्यारेलभन्दा धेरै हुनेछ ।

व्यापार स्रोतहरूका अनुसार चीनका स्वतन्त्र रिफाइनरीहरूले पश्चिम एशियाबाट सस्तो कच्चा तेल खरिद गरेका कारण आगामी महिनामा उत्पादन बढाउने तयारी गरिरहेका छन् । जियाङ्सु प्रान्तस्थित शेङहोङ पेट्रोकेमिकलको दैनिक ३ लाख २० हजार ब्यारेल क्षमता भएको रिफाइनरी पनि ठुलो मर्मतपछि अगस्टको मध्यतिर पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ । यद्यपि चीनले निर्यात बढाएर विश्व बजारको अभाव पूर्ति गर्न सक्ने वा नसक्ने विषय अझै स्पष्ट छैन । बेइजिङले जुलाईका लागि इन्धन निर्यातमा केही सहजता ल्याएको भए पनि त्यो नीति अगस्टमा पनि जारी रहने वा नरहने निश्चित भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप