बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा उपनिर्वाचनमा सहभागी मतदाताका लागि होटल सञ्चालन गरिने

सोमबार, ०३ जेठ २०७८, २० : ०१
सोमबार, ०३ जेठ २०७८

जिल्ला प्रशासन कार्यालय मकवानपुरले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा सहभागी हुने मतदाताहरूको लागि हेटौंडाको होटलहरु सञ्चालन गर्न दिइने भएको छ ।  जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरको सोमबार बसेको आकस्मिक बैठकले सिफारिस गरे अनुसार प्रशासन कार्यालयले आगामी जेठ ६ गते संचालन हुने राष्ट्रियसभाको एक रिक्त सदस्य पदको उप–निर्वाचनमा सहभागी हुने मतदाताहरूका लागि हेटौंडाको विभिन्न होटलहरूमा बसोबास र खानाको व्यवस्था मिलाउन होटलका सञ्चालकहरुलाई भोलिदेखि होटल खोल्न अनुमति दिने निर्णय गरेको हो ।

जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरको सिफारिस गरेअनुसार जिल्ला सुरक्षा समितिले मकवानपुरका होटल व्यवसाय सञ्चालनमा पूर्ण रुपमा रोक लगाएको थियो । 
निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका वडा नम्वर–४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालयको भवनमा मतदानको लागि ३ वटा मतदान केन्द्रको स्थापना गरिने जनाइएको छ । 
बैठकले संक्रमित मतदाताहरूका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरी आवश्यक शान्ति सुरक्षाको व्यवस्था पनि उपलब्ध गराउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी देवचन्द्र गर्तौलाले बताए ।
मतदान केन्द्रहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मतदान प्रक्रिया सञ्चालन गर्न र भिडभाड नियन्त्रणका लागि पनि आवश्यक सुरक्षाको व्यवस्था गरिने सूचना अधिकारी गर्तौलाले बताए ।  

राष्ट्रियसभाको रिक्त एक सदस्य पदको निर्वाचनमा बागमती प्रदेशसभाका १ सय ९ जना सदस्य र प्रदेशका १ सय १९ वटा स्थानीय तहका २ सय ३८ जना अध्यक्ष र उपाध्यक्ष गरी कुल ३४७ जनाले मतदान प्रक्रियामा सहभागी हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप