बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगन्जका औषधि सञ्चालकमाथि कुटपिट प्रकरण : प्रदेश प्रहरीद्वारा छानविन समिति गठन

बिहीबार, १३ जेठ २०७८, १५ : ५२
बिहीबार, १३ जेठ २०७८

बीरगंज । पर्सामा प्रहरी नायब उपरीक्षकले एकजना मेडिकल कर्मचारीलाई कुटपिट गरेको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले घटनाबारे विस्तृत रिपोर्ट तयार पार्नेगरी ३ सदस्यीय छानविन समिति गठन गरेको छ ।

बीरगंज महानगरपालिका वडा नम्बर ८ को पानीट्याङ्कीको प्यारो सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले लाठ्ठी, हात र लातले कुटपिट गरेको फुटेज भाईरल भएको छ । सामाजिक सञ्जालमा पर्सा प्रहरीको चर्को आलोचना हुन थालेपछि प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी उपरीक्षक कृष्ण प्रसाईको नेतृत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

छानविन समितिका संयोजक प्रसाईका अनुसार समितिले अनुसन्धान कार्य प्रारम्भ गरिसकेको छ । अनुसन्धानका क्रममा यदि कोही प्रहरी कर्मचारी दोषी देखिएमा प्रहरी नियमावली बमोजिम कारवाही गरिने उनले बताए ।

वीरगंजको आर्मी ब्यारेक पछाडि रहेको प्याथो सर्जिकल हाउस छेउको किराना पसल बन्द गराउने क्रममा अहमदले भिडियो बनाएको भन्दै पर्सा प्रहरी नायब उपरीक्षक कार्कीले मोबाइल लिन जाँदा हातपात गरेको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताएका थिए ।

बुधबार बिहान १० बजेर २१ मिनेटमा सर्जिकल हाउसमा प्रवेश गरी प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले कुटपिट गरेको बताइन्छ । छेउको किराना पसल बन्द गराउँदा अहमदले भिडियो खिचेको आरोपमा प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले सर्जिकल पसलका कर्मचारीमाथि कुटपिट गरेको सञ्चालक करण पटेलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप