शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाबारे दलका नेताको आक्रोश : खोप र राहत खोई ?

एमालेकै सांसद भन्छन्– ज्यानमारा सरकार भन्दा फरक पर्दैन
सोमबार, ०७ असार २०७८, १० : ०६
सोमबार, ०७ असार २०७८

सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाले डेढ महिना पार गरेको छ । कोरोनाको दोस्रो लहर उच्च भएपछि सरकारले गत बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउन सुरु गरेको थियो । काठमाडौंको निषेधाज्ञा असार १४ गतेसम्म थप्ने सरकारले निर्णय गरेको छ । अन्य जिल्लामा पनि धमाधम निषेधाज्ञाको अवधि थप्ने होडबाजी नै चलेको छ ।

जारी निषेधाज्ञामा उद्योग, कलकारखाना, शैक्षिक क्षेत्र, व्यापारिक, यातायात लगायतका क्षेत्रहरु ठप्प छन् । दैनिक ज्यालादारी काम गर्ने मजदुर बर्गको रोजीरोटी खोसिएको छ ।

छिमेकी मुलुक भारत र चीनले अनुदानमा दिएको खोपबाहेक यो अवधिमा सरकारले अरु खोप खरिद गर्न सकेको छैन । खोपमा ‘ब्रेक थ्रु’ हुने सरकारी आश्वासन गफैमा सीमित भएको छ । यसमा राष्ट्रपतिको सक्रियतासमेत निष्फल सावित भएको छ ।

 


कोरोना संक्रमण दर कम हुँदै गएपछि यतिबेला निषेधाज्ञालाई परिमार्जित गर्दै लैजानुपर्ने आवाज उठेको छ । विभिन्न राजनीतिक दलका नेताहरुले सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा असफल भएको बताएका छन् भने जारी गरिएको निषेधाज्ञालाई पनि सरकारले सत्ता रक्षाको दाउपेचका लागि प्रयोग गरेको आरोप लगाएका छन् ।

सत्तारुढ एमालेका निवर्तमान सांसद विरोध खतिवडाले त यो सरकारलाई ज्यानमारा सरकार भन्दा पनि फरक नपर्ने बताए ।

 

सरकारको गरेको डेढ महिने निषेधाज्ञालाई विभिन्न राजनीतिक पार्टीले कसरी लिएका छन् त ? प्रस्तुत छ, विभिन्न दलका नेताहरुले रातोपाटीलाई दिएको प्रतिक्रिया  ः

यो ज्यानमारा सरकार हो भन्दा फरक पर्दैन

–बिरोध खतिवडा, एमाले नेता

पछिल्लो समय बिरामीको संख्या र मृत्यु संख्या केही कमी भएको छ त्यसलाई सकारात्मक नै लिनुप¥यो । तर, गम्भीर कुरा, शहरी क्षेत्रमा मात्र कोरोना टेष्ट भइरहेको छ । ग्रामीण भागको स्थिति के छ, अहिलेसम्म यथार्थ विवरण आउन सकेको छैन । सरकारले ग्रामीण क्षेत्रमा पनि कोरोना परीक्षणको मात्रा बढाउन आवश्यक छ ।

६५ बर्षका जेष्ठ नागरिकलाई पहिलो मात्राको खोप लगाएको ३ महिना नाघिसक्यो, दोस्रो मात्राको खोप कहिले आउने, कहाँबाट आउने थाहा नभएपछि यतिको लापरवाह र यतिको गैरजिम्मेवार सरकारलाई हामीले के सल्लाह दिनु ? सरकारले थाहा नपाएको कुरामा पो सल्लाह दिनु । चीन र भारतले चन्दामा दिएको भन्दा अरु खोप आएको छैन भनेपछि यो सरकारको कति लापरवाही छ ।

अरुले दिने भनेको चन्दा पनि कहिले दिने हो, दिए पनि दुईचार लाखको मात्र हो । खरिद प्रक्रिया सुरु गरेको छैन । कोसँग खरिद गर्ने कुनै टुङ्गो छैन, सम्झौता भएपछि पनि खोप आइपुग्नका लागि एउटा अवधि लाग्छ । सरल भाषामा भन्ने हो भने यो ज्यानमारा सरकार भन्दा फरक पर्दैन । ६५ बर्षका जेष्ठ नागरिकलाई त खोपको व्यवस्था गर्न सक्दैन भनेपछि आफै कल्पना गर्नुस्, साढे ३ करोड नागरिकलाई बाँकी साढे ६ करोड खोप कहिले ल्याउने ?

अब निषेधाज्ञा खुकुलो गरेर अर्थतन्त्रलाई चलायमान नबनाउने हो भने यसको असर आगामी ५ बर्षसम्म पर्न सक्छ । यस्ता समस्या समाधान गर्नका लागि नै सरकार चाहिएको हो । तर, अहिले सरकार भएको अनुभूति कसले गरेको छ र ?

निषेधाज्ञा लगाएर सरकार राजनीतिक छलकपटमा व्यस्त भयो

डा. मिनेन्द्र रिजाल, काँग्रेस नेता

निषेधाज्ञाको प्रभाव त अलिअलि भयो होला जस्तो लाग्छ । तर, कोरोना संक्रमणलाई सरकारले हेर्ने दृष्टिकोण सुरुदेखि नै ठीक रहेन । निषेधाज्ञालाई दुरुपयोग गरेर कसरी राजनीति गर्न सकिन्छ, राजनीतिक छलकपट कसरी गर्न सकिन्छ, राजनीतिक फाइदा कसरी लिन सकिन्छ भन्नेमै सरकार केन्द्रित रह्यो ।

कोरोना संक्रमण उच्च भएका बेला केही कम गर्न निषेधाज्ञाले सहयोग ग¥यो होला जस्तो लाग्छ । काठमाडौं र तराईका क्षेत्रमा संक्रमणदर केही कम भए पनि पहाडतिर झन् बढ्दै गइरहेको छ ।

निषेधाज्ञा लगाएर सुतेको सरकारले न खोपको प्रवन्ध गर्न सकेको छ, न अस्पतालहरुमा सहज उपचारको व्यवस्था गर्न सकेको छ । निषेधाज्ञा लगाएर राजनीतिक छलकपट गर्न व्यस्त भएको सरकारले जनतालाई दुःख दिने काम बाहेक अरु केही गरेको छैन ।

निषेधाज्ञापछि देशमा आर्थिक संकट छाएको छ, कोभिड संक्रमण विरुद्धको खोपको आवश्यक छ । गएको डेढ बर्षदेखि कसरी छलकपट गरेर सत्ता जोगाउने भन्नेमा सरकार केन्द्रित भएको छ ।

देश जनताको दिमागमा कोभिडको त्रास भने हरेक दिन सरकारको दिमागमा राजनीतिक जालसाजीमा मेरो हात कसरी माथि पारूँ भन्ने छ । त्यसैले सरकारले राजनीतिक जालसाजी र दाउपेच छोडेर देश र जनताको पक्षमा काम गर्नुपर्छ । अहिले खोप मुख्य कुरा हो, सरकारले त्यसको प्रवन्ध गर्न सकेको छैन ।

सरकारले भ्याक्सिन ल्याएको खै ?

नारायणकाजी श्रेष्ठ, माओवादी नेता

कोरोना संक्रमण रोक्नका लागि लागि निषेधाज्ञामात्र समाधान हैन । हिजो निषेधाज्ञा आवश्यक थिएन पनि भन्न सकिन्न । यसलाई मात्र निरन्तरता दिने काम समस्याको समाधान हैन । अहिले कोरोनाको दोस्रो लहर ओरालो लागिरहेको छ । तेस्रो लहरको खतरा पनि त्यत्तिकै देखिराखेको छ । अब निषेधाज्ञालाई अन्त्य गर्दै तेस्रो लहरलाई रोक्नका लागि अर्को तयारी गर्नुपर्छ ।

मुख्य कुरा सरकारले भ्याक्सिन ल्याउन सकेको खै ? सम्पूर्ण जनताहरुलाई भ्याक्सिन चाहियो । यो बीचमा जनताहरुका लागि राहत प्याकेजमा पटक्कै केही काम गरिएन । यो अत्यन्तै गैरजिम्मेवारीपनको पराकाष्टा हो ।

जसले बिहान बेलुका छाक जुटाउन काम गर्नुपथ्र्यो, उनीहरुले काम गर्न पाएनन् । तिनीहरुलाई बेहाल बनाइएको छ । तिनीहरुलाई राहतको व्यवस्था गर्नुपर्छ भने अर्थतन्त्रमा देखापरेको शिथिलतालाई सम्बोधन गर्नुपनि र अर्थतन्त्रलाई फेरीपनि गतिशील बनाउनका लागि आवश्यक राहत प्याकेजमा सरकारको ध्यान जानुपर्छ ।

सरकारले अरु नाटक छोडेर नागरिकको जीवन बचाउनुपर्छ

–उपेन्द्र यादव, जसपा नेता

अहिले सबैभन्दा महत्वपूर्ण रहेको स्वास्थ्य सेवा क्षेत्रको सरकारले राम्रो व्यवस्थापन गर्न सकेको छैन । अहिले पनि अस्पतालहरुमा व्यवस्थित बेड छैन । पर्याप्त अक्सिजन छैन । कोभिड भ्याक्सिन दिन सकिरहेको छैन । भेन्टिलेटरको अझै पनि अभाव छ । सरकार स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा असफल भएको छ ।

लकडाउनले कोरोना संक्रमण अलिकति कम  देखिनु बेग्लै कुरा हो । तर, यसबाट मुक्त भइसकेको छैन । जबसम्म सबै नागरिकलाई भ्याक्सिन लगाइँदैन, जबसम्म स्वास्थ्य संस्थाहरुलाई साधनस्रोत सम्पन्न बनाइँदैन, सेवाको स्तरोन्नति गरिँदैन, तबसम्म यो समस्या रहिरहन्छ ।

सरकारले कोभिड विरुद्धको भ्याक्सिनको तुरुन्त व्यवस्था गर्नुपर्छ, अस्पतालहरुलाई सर्वसुलभ र व्यवस्थित बनाउनुपर्छ । नागरिकहरुको जीवनस्तर बचाउन लाग्नुपर्छ । सरकारले अरु नाटकहरू गर्न छोड्नुपर्छ ।

राहतको प्याकेज आएन, लकडाउन अव्यवहारिक हुँदै गइरहेको छ

–मोहन श्रेष्ठ, राप्रपा नेता

कोरोना संक्रमण उच्च भएका बेला निषेधाज्ञा जरुरी थियो, दोस्रो लहरको संक्रमणको चेन ब्रेक गर्नका लागि सरकारले बुद्धिमतापूर्ण काम गर्यो । तर, संक्रमणदर कम भइसकेपछि पनि लामो समय निषेधाज्ञा गरिरहँदा जनताले सास्ती पाइरहेका छन् । त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारेमा सरकारको ध्यान गएको छैन ।

विशेष गरी दैनिक ज्यालादारीमा काम गरेर छाक टार्ने मजदुर बर्गलाई साह्रै मर्का परेको छ । सरकारले कुनै राहतको प्याकेज पनि ल्याएन । यतिबेला लकडाउन अव्यवहारिक हुँदै गइरहेको छ ।

सरकारले अब कसरी संक्रमण कम गर्न सकिन्छ त्यसलाई ध्यान दिएर निषेधाज्ञा हटाएर जानुपर्छ । कोभिड खोप अहिलेको मुख्य आवश्यकता हो । सरकार यसमा चुकिरहेको छ । सरकारले कुन माध्यमबाट हुन्छ, खोपको व्यवस्था गरेर नागरिकको रक्षा गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप