बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा कोरोना संक्रमणको ग्राफ उकालो लाग्यो

आइतबार, २० असार २०७८, १७ : ५२
आइतबार, २० असार २०७८

निषेधाज्ञा खुकुलो बनाएसँगै प्रदेश १ मा कोरोना संक्रमणको  ग्राफ उक्लिएको छ । पछिल्लो एक सातायता निषेधाज्ञा खुकुलो भएसँगै बजार लगायतका स्थानमा चहलपहल बढेसँगै दिनहुँ संक्रमित हुनेको दर बढेको हो । योसँगै अस्पतालमा बिरामीको चाप पनि बढ्न थालेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्याँक अनुसार गत असार १० गते १ हजार २ सय ८० जनाको कोरोना परीक्षण गर्दा ३ सय ८३ अर्थात् २९ दशमलव ९२ प्रतिशतलाई कोरोना संक्रमण पुष्टि भएको थियो । तर, असार १९ गते जम्मा परीक्षण ५ सय ७५ जना हुँदा २ सय ७१ अर्थात् ४७ दशमलव १३ प्रतिशत कोरोना संक्रमित भएको पुष्टि भएको छ ।

असार १० गते यताको तथ्याँक १९ गते एकैचोटी बढेको नभई दैनिक केही प्रतिशत कोरोना संक्रमण दर बढिरहेको छ । मन्त्रालयको तथ्याङ्कअनुसार कोरोना संक्रमण दर ११ र १२ गते ३४ प्रतिशत, १३ गते ३२, १४, १५ र १६ गते ३३ प्रतिशत, १७ गते ३५ प्रतिशत र १८ गते ३४ दशमलव ४५ प्रतिशत र १९ र २० गते संक्रमणको दर ४७ प्रतिशत पुगेको छ ।

आइतबार प्रदेश १ मा कुल ८०३ जनाको पीसीआर परीक्षण गरिएको ३१२ जना कोरोना संक्रमित थपिएका छन् ।  मोरङमा १३०, झापामा ९३, सुनसरीमा ५१, ताप्लेजुङमा ९, उदयपुरमा ५, पाँचथरमा ३, संखुवासभामा २, तेह्रथुम, इलाम, धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७२ हजार ७२६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ७२२ रहेको छ । 

प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि १ हजार २ सय ६१ पुगेको छ । कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुने मोरङका छन् । मोरङमा हालसम्म ३६१ जना, सुनसरीमा ३३२, झापामा २९२, धनकुटामा २७, भोजपुरमा २, उदयपुरमा ३४, संखुवासभामा ९, तेह्रथुममा ६, इलाममा २५, पाँचथरमा २७, ताप्लेजुङमा ६ जना र अन्य जिल्ला नखुलेका १४० जना रहेका छन् ।

हालसम्म प्रदेश १ का १४ जिल्लामध्ये सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा कोरोना संक्रमणकै कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । प्रदेशमा हाल विभिन्न अस्पतालको एचडियुमा २ सय ४७ जना, भेन्टिलेटरमा ३९ जना, आइसियुमा १३६ जना, जेनेरल बेडमा २५४ जना र आइसोलेसन बेडमा ५८ जना गरी ७०४ जना उपचाररत रहेका छन् ।

 यस्तै होम आइसोलेसनमा ५ हजार ८ सय २७ जना र अन्य आइसोलेसन केन्द्रहरुमा १९१ जनासहित गरी प्रदेश १ मा ६ हजार ७ सय २२ जना सक्रिय संक्रमित रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप