बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योतिषलाई चिना हेराएरै उपप्रधानमन्त्री बनेका थिए राजेन्द्र महतो !

शनिबार, २६ असार २०७८, ०७ : ५०
शनिबार, २६ असार २०७८

जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता राजेन्द्र महतो १८ दिन उपप्रधानमन्त्री बने । तर, उनी जसपाको चिना हेराएर त्यसैका आधारमा उपप्रधानमन्त्री बन्न गएको रहस्य खुलेको छ ।

ज्योतिषले २०७८ जेठमा सत्ताप्राप्तिको राम्रो योग छ भनेपछि महतो हौसिएर ओली सरकारमा सहभागी हुन पुगेका थिए । तर, ज्योतिषको आश्वासन एक महिना पनि टिकेन ।

जसपा २०७७ बैशाख १० गते निर्माण भई २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । निर्वाचन आयोगमा दर्ता हुने वित्तिकै सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले यो पार्टी आगामी दिनमा पार्टीको भविष्य कस्तो हुन्छ, सरकारमा जाने सम्भावना कति छ, संगठन कस्तो हुन्छ, निर्वाचनमा पार्टीको अवस्था कस्तो हुन्छ लगायतका विषयलाई ज्योतिषशास्त्रअनुसार विश्लेषण गर्न लगाएर चिना बनाउन लगाएका थिए ।

२०७७ वैशाख १० गते राति ११ बजे पार्टीको नामाकरण तथा असार २४ गते ३ः२५ बजे निर्वाचन आयोगले पार्टी दर्ता गरेकोलाई आधार मानेर नेपाल संस्कृत विश्वविद्यालयका उपप्रध्यापक एवं ज्योतिषी नवीनकुमार झाले सो चिना बनाएका थिए ।

नेपाल संस्कृत विश्व विद्यालयका उपप्रध्यापकसमेत रहेका ज्योतिष नविन झाले नै पूर्वराजपा नेपालको पनि चिना बनाएका थिए । उनले बनाएको चिनाअनुसार नै राजपा अवस्था अगाडि बढेको भन्दै महतोले जसपा नेपालको पनि चिना बनाउन लगाएका हुन् ।

पार्टीमा देखिएको ग्रह कटाउनका लागि ज्योतिषी झाले दुईवटा जप गर्न पनि महतोलाई सुझाव दिएका थिए । पार्टीभित्रको आन्तरिक संघर्ष तथा आपसी खिचातानीलाई समाप्त गर्नका लागि केतु र प्रशासनिक अवरोध हटाउनका लागि ७ हजार पटक मंगल जप गर्न महतोलाई सुझाव दिएका थिए ।

चिना बनाउन संलग्न एक नेताले रातोपाटीसँग भने, ‘ज्योतिष झाले बडो गम्भीरपूर्वक भनेका थिए, पार्टीको भविष्य राम्रो छ, तर केही ग्रहहरु त्यसभित्र छन्, त्यसलाई कटाउनका लागि केही जप गर्नैपछर्, नत्र यसले पार्टीलाई असर गर्छ । तर, उहाँहरुले यो कुरामा ध्यान दिनु भएन र पार्टी विभाजन भयो ।’

२०७७ असार २४ गतेदेखि पुस ५ गतेसम्म पार्टीको आर्थिक क्षेत्रमा सुधार हुनुका साथै प्रभाव वृद्धि एवं समाजमा प्रतिष्ठा तथा स्थायित्वको लागि राम्रो समय रहेको चिनामा उल्लेख छ । त्यो समयमा पार्टी सरकारमा जाने अवस्था सामान्यता ठिकै रहेको तर समायोजनका लागि केही संघर्ष गर्नुपर्ने अवस्था चिनामा उल्लेख छ ।

चिनामा उल्लेख यी केही कुराहरुहरु पार्टीसँग ठ्याक्कै मिलेको ती नेताले दाबी गरे ।

त्यस्तै, २०७७ पुस ६ गतेदेखि २०७८ जेठ २ गतेको बीचमा पार्टीभित्र आन्तरिक कलह शुरु हुने चिनामा उल्लेख छ । पार्टीका नेताहरुमा पद प्राप्तिका लागि मनमुटाव हुने र त्यसका लागि पार्टीमा संघर्ष गर्नुपर्ने अवस्था रहने परिस्थिति चिनामा देखिएको छ । ग्रहगोचरले त्यो समयमा केही नेताहरुले पार्टी छाडेर जान सक्ने र नेताहरुको बीचमा मनमुटाव हुने देखाएको छ ।

२०७८ जेठ ३ गतेदेखि २०७९ साउन २ गतेसम्म पार्टीका लागि राम्रो समय रहेको चिनामा उल्लेख छ । पार्टीको कार्यक्षेत्रमा प्रगति एवं विस्तारका लागि धेरै राम्रो समय रहेको उल्लेख गरिएको छ । त्यो बेला सत्ता प्राप्तिका लागि पनि अनुकुल समय रहेको चिनामा देखिएको छ । यही अवधिमा पार्टी कार्यालयको स्थान परिवर्तन हुने भनिएको छ । तर, चिनाको यो कुरा पार्टीमा मेल खाएको छैन । पार्टीमा सबभन्दा बढी संघर्ष यही बीचमा हुने देखिएको छ ।

२०७९ साउन ३ गतेदेखि २०८० असार ८ गतेसम्म पार्टीका लागि चुनाव लक्षित ग्रहगोचर राम्रो रहेकोे चिनामा विश्लेषण गरिएको छ । यो अवधिमा पार्टीले चुनावमा भाग लियो भने राम्रो सफलता प्राप्त गर्ने बताइएको छ ।

चिनामा गरिएको विश्लेषण अनुसार २०८० सम्ममा यो पार्टीको अस्थित्व पनि रहनेछैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप