शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यादेशको चर्चासँगै बालुवाटार पुगेका महन्थ ठाकुरसहित पाँच नेताले के भने प्रधानमन्त्रीलाई ?

मङ्गलबार, ०१ भदौ २०७८, १२ : ५१
मङ्गलबार, ०१ भदौ २०७८

संसद्को अधिवेशन अन्त्य गरेसँगै सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने चर्चा चलिरहेको अवस्थामा जसपाका महन्थ ठाकुर, राजेन्द्र महतोसहित पाँच नेताले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लले प्रधानमन्त्री देउवासँग सामूहिक रूपमा भेट गरेका हुन् ।

जसपाको मूल धारबाट पाखा लागेका यी नेताहरू सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने चर्चासँगै बालुवाटार पुगेपछि विभिन्न खालका टिप्पणी भइरहेको छ । विद्यमान कानुनका कारण जसपा विभाजन गर्न असमर्थ भएको ठाकुर पक्षले सरकारलाई राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनकै लागि आग्रह गरेको त होइन भन्नेबारे पनि आशङ्का व्याप्त छ ।

तर भेटमा सहभागी नेता राजेन्द्र महतो र शरतसिंह भण्डारीले आफूहरूले त्यसबारे छलफल नै नगरेको दाबी गरे । उनीहरूले विगतमा आफूहरूले उठाएका माग तथा मुद्दा कसरी र कहिलेसम्म सम्बोधन हुन्छ भन्नेबारे जानकारी लिनका लागि प्रधानमन्त्रीसँग भेट गरिएको बताए ।

​राजेन्द्र महतोले रातोपाटीसँग कुरा गर्दै भने, ‘हिजो (सोमबार) संसद् अधिवेशन अन्त्य भयो, हाम्रा माग–मुद्दाका सम्बन्धमा के भयो ? सरकारले नीति तथा कार्यक्रममा त केही कुरा सम्बोधन गरेको छ, तर नागरिकता सम्बन्धी अध्यादेश संसदमा आए पनि अहिले संसद् अधिवेशन नै अन्त्य भएपछि अब नागरिकतासम्बन्धी मुद्दा के हुने हो भन्नेबारे चासो राखेका हौँ ।’

उनका अनुसार नागरिकता नपाएर लाखौँ जनता प्रभावित भएकाले यस विषयमा सरकार संवेदनशील भइदिनु प¥यो भनेर प्रधानमन्त्रीलाई आग्रह गरिएको छ । उनले, ‘अघिल्लो सरकारले ल्याएको नागरिकता सम्बन्धी अध्यादेशलाई संसदमा प्रवेश गराइए पनि अब संसद् अधिवेशन नै अन्त्य भएको अवस्थामा फेरि अध्यादेश ल्याएर निकास दिने कि के गर्ने भनेर हामीले प्रधानमन्त्रीसमक्ष कुरा राख्यौँ ।’

आफ्ना माग–मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धताका आधारमा आफूहरूले सरकारलाई विश्वासको मत दिएको र सदनबाटै प्रधानमन्त्रीले समेत ती माग–मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको अवस्थामा कहिले र कसरी तिनलाई सम्बोधन गर्ने भन्नेबारे छलफल गरिएको उनले सुनाए ।

​जवाफमा प्रधानमन्त्री देउवाले सरकारको साझा न्यूनतम कार्यक्रममा पनि धेरै विषय समेटिएको भन्दै आगामी दिनमा ती माग–मुद्दालाई सम्बोधन गर्दै जाने विश्वास दिलाएको महतोको भनाइ छ । उनले भने, ‘हाम्रा कुरालाई प्रधानमन्त्रीज्यूले सकारात्मक रूपमा लिनु भएको छ, सरकारलाई स्थिर हुन दिनुस्, कार्यान्वयनमा पनि जोड दिँदै जानेछौँ भनेर उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।’

उनले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे भने केही चर्चा नभएको बताए । उनले भने, ‘हाम्रो दलले उठाएका सवाल र माग–मुद्दाबारे मात्र कुरा भएको हो । राजनीतिक दलसम्बन्धी अध्यादेश हामीसँग सल्लाह गरेर ल्याउने विषय पनि होइन । उहाँहरूको आफ्नै आवश्यकताका आधारमा ल्याउन सक्ने कुरा हो त्यो ।’

अर्का नेता शरतसिंह भण्डारीले पनि सरकारलाई विश्वासको मत दिँदा नै सत्ता पक्षले जनाएको प्रतिबद्धता अनुसार आफूहरूका माग–मुद्दा सम्बोधन गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराइएको बताए । ‘तपाईहरुले हाम्रा माग–मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो, त्यसबारे के भयो, कहिले पूरा हुन्छ भनेर प्रधानमन्त्रीलाई सोध्यौँ,’ उनले भने, ‘नागरिकतासम्बन्धी अध्यादेश के हुन्छ भनेर पनि सोध्यौँ ।’

जवाफमा प्रधानमन्त्रीले विगतमा जनाएका प्रतिबद्धता अनुसार माग पूरा गर्न आफू प्रतिबद्ध रहेको बताएको उनले सुनाए । दल विभाजनसम्बन्धी अध्यादेशबारे छलफल नभएको उनले पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप