शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा एमाले विभाजनका बाबजुद कार्यकर्ताहरू खुल्न बाँकी

आइतबार, १३ भदौ २०७८, १० : २१
आइतबार, १३ भदौ २०७८

विगतमा माधवकुमार नेपाल पक्षमा लागेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खरो उत्रिँदै आएका गुल्मीका अगुवा नेता र कार्यकर्ताहरू पार्टी विभाजनपछि भने कतै खुल्न सकेका  छैनन् ।

विगतमा माधव समूहका प्रमुख जिल्ला नेता ठानिएका मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले विगतदेखि नै नेतृत्वको गलत प्रवृत्तिविरुद्ध आफूहरूले आवाज उठाएको तर नेकपा एमाले नफुटोस् भन्ने पक्षमा रहँदै आएको प्रतिक्रिया दिए ।

विगतमा धेरै ठाउँमा पार्टीको समानान्तर कमिटी गठन गरे पनि आफूहरूले त्यसो नगरी पार्टी एकता कै पक्षमा उभिएको उनको भनाइ छ । सापकोटाले एमाले मात्रै नभई सबै कम्युनिस्टहरू बिच एकता हुनुपर्नेमा जोड दिए ।

विगतमा माधव समूह मै रहेका जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले पनि अझ केही दिन कतै नखुल्ने प्रतिक्रिया दिए । उनले भने, ‘१० बुँदे कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने कुरा हेरिरहेका छौँ, १० बुँदे कार्यान्वयन हुने कुरामा शङ्कै छ, त्यो कार्यान्वयन भयो भने एमाले मै छौँ, भएन भने केही दिनपछि सोच्नु पर्ला ।’

यी दुई जनासहित माधव नेपाल पक्षका खम्बा मानिने हिरा एसी र गणेश श्रीपाली पनि पार्टी फुटे लगत्तै कतै खुल्न सकेका छैनन् । उनीहरू नेकपा एमालेको एकता कै पक्षमा रहेको तर १० बुँदे कार्यान्वयन हुनुपर्ने अडानमा रहेको बुझिएको छ । नेकपा एमाले केन्द्रीय कमिटी सचिव गोकर्णराज विष्ट मन्त्री हुँदा एसी र श्रीपाली उनका स्वकीय सचिव रहेका नेताहरु हुन् । यसर्थ पनि ‘विष्ट जता, उनीहरू पनि उतै’ भनेर अन्य कार्यकर्ताहरुले भन्ने गरेका छन् ।

माधवकुमार नेपाललाई लामो समय साथ दिएर पनि गोकर्ण विष्ट अन्ततः एमालेमै रहे । एमालेमा उनको उपस्थितिले गुल्मी क्षेत्र नम्बर २ मा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई त्यति बलियो हुन दिएको छैन । विष्ट सो पार्टीमा लागेका भए क्षेत्र नम्बर २ मा एमालेको अवस्था निकै दयनीय हुन सक्थ्यो । किनकि सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने अर्की प्रभावशाली नेतृ रामकुमारी झाँक्री नेकपा एकीकृत समाजवादीमा छिन् ।

एमालेका अर्का प्रभावशाली नेता तथा पूर्व मन्त्री प्रदीपकुमार ज्ञवाली गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनको क्षेत्रमा पनि नेकपा एकीकृत समाजवादीको तुलनामा एमाले नै बलियो देखिन्छ ।

माधव समूहका भनेर चिनिँदै आएका विद्यार्थी नेता श्रीराम महत  पनि अहिले कतै नखुलेको बताए । आफूहरूको सिङ्गो टिम छलफल मै रहेको उनको भनाइ छ ।

विगतमा ओली समूहसँग कित्ता–काट गरेर माधव समूहमा खुलेकाहरू अहिले न यता न उताको रहुन्जेलसम्म गुल्मीमा एमाले वा एकीकृत समाजवादीमध्ये कुन पार्टी बलियो देखिन्छ भनेर किटान गर्न नसकिने जानकारहरू बताउँछन् ।

नेकपा एमालेका कार्यालय सचिव गणेश श्रेष्ठले विगतको नेकपा एमालेको जिल्ला कमिटी, गाउँ र वडा कमिटी नै कायम हुने बताए । उनका अनुसार नेकपा गठन नहुनु अघि तत्कालीन एमालेमा मधुकृष्ण पन्त जिल्ला कमिटी अध्यक्ष र सोमनाथ सापकोटा सचिव थिए । नेकपा छँदा अध्यक्ष मधुकृष्ण पन्त नै थिए भने हालका माओवादी केन्द्रका नेता वीर बहादुर कार्की सचिव थिए ।

नेकपा फुटेपछि ओली समूहको प्रदेश कमिटीले गुल्मीको पार्टी अध्यक्ष पन्तलाई नै तोकेको थियो । १० बुँदे सहमति कार्यान्वयनमा जाँदा सचिवमा सापकोटाले दाबी गर्नु स्वाभाविकै हुन्छ । तर कार्यालय सचिव श्रेष्ठ भन्छन्, ‘उहाँ मुसिकोट नगरपालिकाको मेयरको उम्मेदवार हुन जाँदा अर्का नेता बालसिंह काउछालाई सचिवको कार्यभार बुझाएर जानु भएको हो ।’

एमालेका जिल्ला अध्यक्ष तथा छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले हिजो दुई समूहमा विभाजित एमाले नेता कार्यकर्ताहरू अब एकै ठाउँ हुने विश्वास व्यक्त गरे । यद्यपि अन्य पार्टीमा जाने नजाने भन्ने उनीहरूको व्यक्तिगत स्वतन्त्रताको कुरा भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप