शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देशभर वर्षा, मध्य क्षेत्र बढी प्रभावित, मङ्गलबारपछि वर्षा कम हुने

आइतबार, १३ भदौ २०७८, १७ : ४३
आइतबार, १३ भदौ २०७८

विगतमा हिमाली र पहाडी क्षेत्रमा वर्षाले ठूलो क्षति गरायो । विभिन्न जिल्लामा पहिरो खसेर खोला र नदीसमेत थुनिँदा तल्लो तटीय क्षेत्रका बासिन्दाको उठीबास लाग्यो । कति मानिसको अकालमै ज्यान गयो भने अझै धेरै हराइरहेका छन् । 

वर्षापछिको बाढी, पहिराले सिन्धुपाल्चोक, मनाङलगायत दुई दर्जन बढी जिल्ला प्रभावित पार्यो । सिन्धुपाल्चोक जिल्ला पछिल्ला केही वर्षमा बढी प्रभावित हुनेमा पर्छ । त्यसबेला दुई पटक परेको भारी वर्षाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा शताब्दीकै ठूलो क्षति भएको भूगर्भविद्को दाबी छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार नेपालमा मनसुन भित्रिएपछि आजसम्म बाढी पहिराले ९४ जनाको मृत्यु भएको र ४४ जना बेपत्ता भएका छन् । झण्डै ६ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । २५ जलविद्युत् आयोजना, २९ वटा मोटरेबल र २९ वटा झोलुङ्गे पुलमा क्षति भएको छ । झण्डै ८०० घर पूर्ण क्षति भएको छ । नेपालमा जेठ २८ मा मनसुन भित्रिएको थियो भने जेठ ३० गते देशैभर फैलिएको थियो मनसुन असोजको मध्येबाट हट्ने छ । 

मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी नै वर्षा हुने आँकलन गरेको थियो । विगतमा हिमाली र पहाडी क्षेत्रमा परेको भारी वर्षा यसपाली मध्य नेपालको तराई क्षेत्रमा देखियो । यद्यपि मुलुकभर नै भदौरे झरी जारी छ । त्यसकारण हजारौँ घर डुबानमा परेको छ । अहिलेसम्म चार हजार घर डुबानमा परेको प्रहरीको तथ्याङ्क छ । 

प्राप्त विवरणअनुसार विभिन्न जिल्लामा पछिल्लो तीन दिन देखिको वर्षापछिको बाढी, पहिरो र डुबानका कारण नौ जनाको मृत्यु भइसकेको छ । अन्य ६ जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता आर्यालले जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज र सोमबार पनि वर्षा जारी रहने तर मङ्गलबारबाट भने विस्तारै खुल्दै जाने जानकारी दिएको छ । यद्यपि वर्षा केही घट्दो क्रममा नै रहेको मौसमविद्को भनाइ छ । 
मौसमविद् समीर श्रेष्ठले आज पनि वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशमा वर्षा भइरहेको जानकारी दिए । उनले आज राति पनि नेपालको पश्चिम क्षेत्रमा भारी वर्षा हुने जानकारी दिए । गण्डकी लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिममा समेत पानी पर्नेछ । 
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कपिलवस्तुमा १८२ मिलीमिटर पानी परेको छ । चितवनमा १२७, पाल्पामा १२४ र नवलपरासीमा ११५ मिलीमिटर पानी परेको छ । वर्षा जारी रहेकाले प्राधिकरणले क्षति कसरी कम गर्न सकिन्छ र जोखिमबाट मानिसलाई कसरी जोगाउन सकिन्छ भनेर आज दातृ निकायका प्रतिनिधिसहितको समन्वयात्मक बैठक आयोजना गरेको थियो । बैठकमा रुपन्देही र आसपास एक दिनमा ४५० मिलिमिटरसम्म पानी परेको जानकारी गराइएको थियो ।

अझै पनि गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही खोलामा बहाव बढ्ने देखिन्छ । गण्डकी नदी अहिलेकै अवस्थामा रहने देखिन्छ भने कोशीमा बहाव बढेको नभई थेग्य्रान बढेकाले नदीमाथि आएको हुँदा डुबान हुने सम्भावना कायमै छ । साना खोलामा भने बाढी बढ्नसक्ने र ठूला नदीमा घट्टो क्रममा रहेको जनाइएको छ । जमिन गलिसकेकाले थोरै पानी पर्दा पनि जोखिम बढ्नसक्नेतर्फ सचेत हुन अनुरोध गरिएको छ । स्याटलाइट तस्बिरको विश्लेषण गरी पश्चिम क्षेत्रको बाढी अवस्था हेर्दा झण्डै ९५ हजार मानिस बाढीबाट प्रभावित हुने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले स्वास्थ्य संस्था क्षति भएको जानकारी प्राप्त नभएको र आवश्यक स्वास्थ्य सामग्री, जनशक्ति सबै तयारी अवस्थामा राखिएको जानकारी दिए ।

नवलपरासी, रुपन्देही, कपिलवस्तुलगायत जिल्लामा चार हजार ५०० घर डुबानमा परेको जनाइएको छ । डुबेकामध्ये १० प्रतिशत पूर्ण क्षति छ । एक हजार घरका मानिस अहिले विस्थापित भएको र कतिपय ठाउँमा रोगब्याधी निम्तिन सक्नेतर्फ सचेत हुन भनिएको छ ।

मौसमविद् राजु प्रधानाङ्गले पानी पार्ने न्यूनचापीय रेखा तल झर्न थालिसकेको जानकारी दिए । मङ्गलबार भने पूर्वतर्फ प्रभाव पार्ने उनले बताए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यस वर्ष मनसुनको आधा समय पार गरेर आउँदा विगतमा शताब्दीभर नभोगेका घटना बेहोर्नुपरेको बताए । उनले कसरी घटना कम गर्ने, उद्धार र राहतलाई कसरी प्रभावकारी बनाउने र हराइरहेकाको खोजी र थप क्षति हुन नदिन कसरी समन्वयमा काम गर्नेतर्फ ध्यान दिन अनुरोध गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप