भिजिट भिसा र अग्नि सापकोटाको मुद्दाबारे वर्षमानको प्रस्टीकरण : लेनदेन गरेको छैन, गलेको पनि छैन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग गरिएको दुई बुँदे सहमतिलाई लिएर नेता अग्नि सापकोटाको मुद्दासँग साटेको भनेर गरिएको टिप्पणीमा कुनै सत्यता नभएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता पुनले भिजिट भिसाका सवालमा नागरिकका समस्या र चासो समाधान गर्न एक महिनाको समयसीमा निर्धारण भएको भन्दै आफूहरू भिजिट भिसाको समस्या समाधान गर्ने पक्षमै रहेको बताए ।
‘निष्पक्ष रूपमा छानबिन हुनुपर्छ हाम्रो माग छ’, पुनले भने, ‘अहिले देखिएको कुरा गम्भीर छ छानबिन हुनुपर्छ तर यो अहिले मात्र होइन विगतमा पनि भएको छ ।’
उनले केहीले भिजिट भिसा प्रकरणमा सहमति गर्नुमा माओवादी आफैले पनि गृह मन्त्रालय चलाएकाले तर्सिएको हो कि भनेर प्रश्न गरे पनि माओवादी नतर्सिएको दाबी गरे ।
‘होइन माओवादी तर्सिएको छैन । आफ्ना नागरिकलाई भिजिट भिसा लगाएर लाने र मानव तस्करी गर्ने, नागरिकले त्यहाँ दुख पाउने र राज्यले केही गर्न नसक्ने अवस्थालाई अन्त्य गर्न हामी तयार छौ’, पुनले भने, ‘सरकार तयार भएको छ ।’
‘दुई बुँदे सहमति गर्दा पूर्व सभामुख अग्निप्रसाद सापकोटाको मुद्दाको प्रसङ्गहरू जोडेर माओवादी तर्सियो वा लेनदेन गर्यो भनेजसरी प्रचार भएको छ । त्यसो होइन कुनै लेनदेन भएको छैन’, उनले भने, ‘अग्नि सापकोटाको मुद्दा अदालतमा रहेका कुरा हुन् । यद्यपि पूर्णपाठ आएपछि त्यसको धारणा बनाउँछौ । त्यसैले भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको मुद्दा कुनै लेनदेनको विषय होइन । सत्तातिर वा सरकारतिर वा माओवादी गलेको कुरामा सत्यता छैन यसमा भ्रम नरहोस् ।’